तिमीले छोडेर गए पनि
म एक्लो छैन।
तिमीले खिलेर छोडेका
प्रशस्त डोबहरू छन् मुटुभरि
तिनै हरेक डोबमा
तिम्रै यादका बिरुवाहरू रोपेर
आँसुले सिँचित गर्दै
बित्छन् मेरा हरेक पलहरू
तिमीले छोडेर गए पनि
म एक्लो छैन।
प्रत्येक बिरुवाबाट
यादका मुनाहरू पलाएका छन् अहिले
नयाँ पातहरू पलाउँदा
तिमी पलाउँछौ, तिम्रा यादहरू पलाउँछन्
पातहरू पहेँलिन्छन्, झर्छन् र कुहिन्छन्
अनि फेरि नयाँ यादका मुनाहरू पलाउँछन्
फेरि तिमी पलाउँछौ, तिम्रा यादहरू पलाउँछन्।
झाँगिँदै जाँदा यादका हाँगाबिँगाहरू
यादका तिम्रा जराहरूले
जरैसम्म जेलेका छन्
म एक्लो छैन
तिमी छौ, तिम्रा डोबहरू छन्
म फुल्दा तिमी छौ
म झर्दा तिमी छौ
‘म’ हुँदा पनि तिमी छौ
‘म’ नहुँदा पनि तिमी छौ
तिमीले छोडेर गए पनि
म एक्लो छैन!