फेरि घण्टी बज्यो। यो आज सातौं फोन हो उसको। आज उठाउदिनँ उसको फोन। किन उठाउने? को हो ऊ मेरो? के सम्बन्ध छ ऊसँग मेरो जसको कारण उसको हरेक फोन उठाउनै परोस्? जेसुकै होस् उठाउदिनँ फोन। अनि आफैसँग फेरि सोध्छु 'को हो ऊ मेरो? अथवा म को हो उसको? के यी दुई फरक कुरा हुन्? सायद फरक हुन्।
फरक हुँदैन थिए भने त ऊ मेरो लागि सबैथोक हो, ऊ सर्वश्व हो मेरो, मेरो लागि बाच्नु पनि हो, मर्नु पनि उहीँ हो। ऊ मेरो लागि खुसी हो, सुख हो, दु:ख हो, आँसु हो। तर म को हो उसको? उसले त कहिल्यै भनेन। मैले कैयौं भेटहरू, कैयौँ म्यासेजका अक्षर भित्र, कैयौँ आँखाका भावहरूमा सोधेकी छु, 'भन्नुस न के छ हाम्रो नाता?'
तर उसले भनेन। बहानाले जित्यो। देख्नेहरूले देखेर भने भनी सुन्नेहरूले हाम्रो मायाको बारे सुनेनछन्। उसको व्यवहार पनि त उस्तै छ। ऊ मायाकै व्यवहार देखाउँछ मलाई। ऊ मायाकै शैलीमा कुरा गर्छ मसँग। ऊ मायाले छुन्छ मलाई। ऊ मायामै रुन्छ मसँग। ऊ मायाले धुन्छ मलाई। ऊ मायामा हुन्छ मसँग। अनि देख्नेहरूले हाम्रै मायाका बारे त देख्छन् नि। तर उसले किन देख्दैन?
ऊ वर्तमानमा रमाउँ, भविष्य कसले देखेको छ भन्छ। म वर्तमानमा दुःख गरौं, भविष्यमा रमाउँ भन्छु। ऊ मायामा कल्पनाको कुरा गर्छ, म मायामा व्यवहारिकताको कुरा गर्छु। ऊ सबथोकको लागि माया गर्छ, म मायाको लागि सबथोक गर्छु। तर यो सबमा कहीँ न कहीँ माया त छ।
जसरी होस् तरिका, उद्देश्य जेसुकै होस् माया त गरियो। तर उसले कहिल्यै शब्दमा 'यो माया हो' भनेन। र मलाई यो शब्द उसको मुखबाट सुन्न मन हुनुको कारण के हो? यो मलाई पनि थाहा छैन।
ऊ मान्छे हेर्दा ठिकै छ, मिठो कुरा गर्छ, बुझ्ने छ। अझै बढी बुझाउने छ, ऊ खुलस्त छ, ऊ खुला छ। जे-जे मेरो माया पाउन पुग्ने सबै छ, अझै बढी छ ऊसँग। ऊ मलाई बिहानै म्यासेज पठाउँछ, मेरो हालखबर दिउँसोभरि सोधिराख्छ, बोली सुन्न मन लाग्छ भन्छ, भेटिरहन्छ, ख्याल राख्छ। हसाउँछ, बेलाबेला रुवाउँछ, फकाउँछ। मेरो परिवारलाई मेरोभन्दा बढी ख्याल गर्छ। अब यो माया हैन भने के हो? म यसलाई माया नभनुँ?
म त भन्छु उसलाई माया गर्छु भनेर, तर उसले कहिल्यै भनेन। मैले माया गर्छु भन्ने तर नगर्नेहरू पनि देखेकी छु। माया गर्नेहरूले गरिहाल्छन्, भन्नै पर्दैन पनि भन्छन्। तर मलाई अब सुन्नु छ उसकै ती ओठबाट 'माया गर्छु म तिमीलाई' भनेको। उसका ती ओठले माया गरेको त देखेकी छु, महसुस गरेकी पनि छु, मेरो शरीरको हरेक अङ्गले स्पर्श गरेको छ उसको ओठको माया। तर अब मलाई माया पाउनु छैन।
अब उसको ओठले बोलेको मेरो कानले सुन्नु मात्र छ। यो कस्तो खालको जिद्दीपन हो थाहा छैन तर उसले गर्ने म्यासेजका अक्षरहरूमा 'म तिमीलाई माया गर्छु' भनेको हेर्न मन छ, पढ्न मन छ। मलाई सबैथोक पाएर पनि मायाका शब्द पाउन सकिनँ भन्ने नहोस्। मैले सम्पूर्ण सम्बन्ध निभाए पनि सम्बन्धको नाम पाउन सकिनँ भन्ने नहोस्।
शंखमुलदेखि बुद्धनगरका गल्लीहरूमा उसले गर्ने माया देखेकी छु। सनराइज बेकरीको माथिल्लो तलामा कफी खाँदै गर्दा उसको आँखामा माया पढेकी छु। भक्तपुरका मन्दिरहरूमा उसको मायालाई सम्मान गरेकी छु। नगरकोटका पाखाहरूले हाम्रो मायाको सूर्योदय र सूर्यास्त देखेका छन् तर उसले कुनै पनि समय, जुनसुकै ठाँउ, जस्तोसुकै संयोग कतै पनि कहिल्यै पनि 'म तिमीलाई माया गर्छु' भनेन। किन?
मैले सोधेकी छु, 'केही कमी छ ममा जुन एक प्रेमिकासँग हुनुपर्छ? के दिन सकिनँ मैले जुन तिमीलाई माया गर्नेहरूले दिन सक्छन्?' उसका जवाफ आउँछन् तर जवाफ कम बहाना ज्यादा लाग्छन्। ऊ मायाका बारे घन्टौं कुरा गर्न सक्छ, मायाका सयौं परिभाषा भन्छ। ऊ मायालाई बयान गर्छ, मायामा ऊ खुसी हुन्छ र पनि ऊ बहाना बनाउँछ, र म उसकै बहानामा माया देख्छु। मलाई उसका बहाना पनि मिठा लाग्छन्। म हराउँछु उसैमा। र पनि मलाई उसको मुखबाट सुन्नु छ अब।
उसले मलाई माया गर्दैन भनेर कसरी भनुँ? उसका फेसबुकका स्टाटसदेखि उसका कथाका पात्रहरूमा मलाई मात्र देख्छु। उसले गर्ने मेरा फोटोको कमेन्टमा समेत माया देख्छु, उसका आँखाले मलाई हेर्दा पनि मायाले हेरे झैँ लाग्छ। म घर ढिला पुग्दा उसले गर्ने सोधपुछमा माया देख्छु। तर मैले देख्ने माया, उसले किन माया भन्दैन? के म मायाको गलत अर्थ लगाइरहेकी छु?
बयान गर्नेहरूले अनेकौं तरिकाले बयान गर्लान् के हो माया भनेर तर मैले उसका मप्रतिका हरेक आशक्तिलाई माया भनेर बयान गरेकी छु। थाहा छैन पछि के हुने हो, उसले यो सम्बन्धलाई के नाम दिनेछ पनि थाहा छैन। तर म चाहन्नँ कि यो कतै गएर टुंगियोस, कतै गएर फिक्का होस् यो सम्बन्ध। बस् अब एउटा नाम दिओस् उसले यो सम्बन्धलाई जसमा म खुसी भैराखुँ। यहीँ सम्बन्धको गहिराइमा गैराखुँ।