बारम्बार बोलाएँ -
सुने ती रातहरूले
सुने ती पारिजातका पातहरूले
सुनिनौं तिमीले
हावाको बहावसँगै निम्तो पठाएँ
निम्तो तिमीसम्म पुग्यो या पुगेन?
तिमीले छोडेर गएदेखि
मैले मेरो आलाप
गुँड छोडी जाने चराहरूलाई सुनाएंँ
डाली बिर्सी जाने पखेँटाहरूलाई सुनाएंँ
उनीहरुले नसुने झैँ गरि गए
उनीहरू हत्तारिएझैं गरि गए
उनीहरूको ब्यस्तता भित्र अटाउन
मलाई सजिलो छैन
गुँड छोडी जाने चराहरूले भाषा नबुझ्न्नु पनि त
मन दुख्नु रहेछ
डाली बिर्सी जाने पखेँटाहरूले बिर्सनु पनि त
एक्लो हुनु रहेछ
सोच्छु,
तिमी खुसी हुन्थ्यौ होला
मेरो आवाज तिमीसम्म पुग्न सकेको भए...
तिमीसम्म पुग्न नसक्दा बेस्सरी दुखेछु
दुखेको बखत
मनको झरी झर्नु पहिले
पातबाट तप्प झर्ने शीतलाई
अञ्जुलीमा थापेर
आफ्नो अनुहार आफैंले हेरेँ
त्यो शीतको थोपा भित्र
मुस्कुराईरहेकी तिमीलाई देखेँ
ओ प्रिया-
त्यतिबेला तिमी
मेरो निम्ती फुर्सदिली बनिदिन्थ्यौ
मेरा झिँजो लाग्ने शब्दहरू सुनेर पनि
मुस्कुराईदिन्थ्यौ
अनेक अनेक ब्यस्ततामा पनि
तिम्रा पाइलाहरू टक्क रोकिन्थे
खै कुन समय आफैं छुट्टीएर गयो र
छुट्ट्यायो तिमीलाई
प~~र पुर्यायो तिमीलाई म देखि धेरै प~~र
किनार छोएर बग्ने नदी
आकाश ओढेर बस्ने धर्ती
किरणका पाउहरू हुँदै ओर्लने घाम
सबै सबैसँग तिम्रै बारेमा सोधीरहेछु
र भनिरहेछु -
एकपटक त उभिएर हेर मलाई
तिमी बिनाको एक्लो म
कहाँ-कहाँ हराइरहेछु
पद चिन्ह जसरी मेटिन नसकेका
तिम्रा सम्झनाहरु बटुली रहेछु
फगत यादहरूको यो शुन्यता भित्र शुन्य बनेर
हराई रहेछु ।।
आफ्नी जीवनसंगीको सम्झनामा बुबाका मनमा सल्बलाउने भावनालाई उन्की छोरी सुमन थापा ‘संगम’ ले कवितामा उतारेकी हुन्।