समयको संगीत
अलिकति बुझेजस्तो, अलिकति नबुझेजस्तो
अलिकति बुझेर पनि नबुझेजस्तो
अलिकति नबुझेर पनि बुझेजस्तो
कस्तो-कस्तो?
लामो यात्रामा सँगै सिटमा चुपचाप बसेको
अपरिचित सहयात्री जस्तो।
समय उस्तै तर अलि अप्ठ्याराजस्ता
अलिकति टर्राजस्ता, कता-कता कोक्याउनेजस्ता
अलिकति तिता-तिताजस्ता
दिनहरू हुन् कि तन्किएका कालरातहरू हुन्?
छुट्याउनै गाह्रो जुम्ल्याहाजस्ता।
धर्ती उस्तै, आकाश उस्तै तर
समय महंगोजस्तो, बाटाहरू रहस्यमय जस्ता
घाम र जुन अर्कैको जस्ता, अलिकति चिनेजस्ता
अलिकति नाचिनेकाजस्ता
लामो समयपछि आएका पाहुनाजस्ता।
मान्छेहरू उही तर सम्वाद हिमालजस्ता
सम्बन्ध हिउँजस्ता, अलिकति औपचारिकता
अलिकति बाध्यता, धेरै स्वार्थले जोडिएका
हुलमा सन्नाटा ओढेर हिँडिरहेका एक्ले बाँदरजस्ता।
समयको संगीत
अलिकति बुझेजस्तो, अलिकति नबुझेजस्तो
अलिकति बुझेर पनि नबुझेजस्तो
अलिकति नबुझेर पनि बुझेजस्तो
कस्तो-कस्तो?
लामो यात्रामा सँगै सिटमा चुपचाप बसेको
अपरिचित सहयात्रीजस्तो।