आज मेरो देशको माटो खोज्दैछु
जन्मेको मातृभूमि खोज्दैछु
सम्मान र संस्कार खोज्दै छु
अनि आत्मानुभूतिको महसुस खोज्दैछु
अलिकति बुझ्दै अलिकति झुक्दै
अनि अलिकति मलिनताको भाव प्रकट गर्दै
जब अलिकति बोल्न जानियो
पढ्न जानियो अनि बुझ्न जानियो
तब विदेशको संस्कार बुझियो
उतैको विकास बुझियो
उतैको रमझम बुझियो
अनि उतैको आकर्षण पनि बुझियो
यति मात्र कहाँ हो र
सबैभन्दा ठूलो कुरा
विस्तारै-विस्तारै समयको क्रमले रुपैयाँ
र डलरको अन्तर पनि बुझियो
पाखो बारी बुझिएन बरु विदेशको
चौडा सडक बुझियो
मरुभूमिको रातो राप बिझियो
अनि अग्ला गगनचुम्बी भवनको
आकर्षकपन पनि बुझियो
मेरो सान सगरमाथा बुझिएन
तर माउण्ट केटु बुझियो
कलकल शीतल पानीको बहाब
चिसो हावाको सुन्दर झोक
चम्किला प्रकृतिका अनुपम आभास केही
बुझिएन तर उतैको
बोतलको पानी बुझियो
बनावटी हावाको महत्व बुझियो
अनि छङ-छङ खोलीको होइन
जमेको नुनिलो समुन्द्री छालको रौनक बुझियो
हेर्नुस् त मेरो बिरक्तिएको मनले
जन्मे, हुर्केको, खेलेको अनि बढेको पाखो बारी बुझेन
साथी-संगी, आफन्त केही बुझेन
तर अर्को मुलुकलाई नजिक ठान्यो
रुम भित्रको कैदी जीवनलाई महत्व ठान्यो
अनि खुला आकाश होइन एकान्तको
दूर यात्रा नै मुख्य ठान्यो
हो, म पैसाको भोको थिएँ
अवसरको भोको थिएँ
अनि आत्मसम्मानको पनि भोको थिएँ
मुख्य कुरा दुई छाकको अभावमा
आफ्नै पेटको भोको थिएँ
अनि म
अरु गर्न के नै सक्थेँ र?
एउटा पुरानो झोलाको सहारामा
परिवार, आफन्त, साथी, संगी
समाज र देशको माटो भुल्नु बाहेक
हो, बुझ्न त विदेशको सबै कुराहरु बुझेँ
सम्पत्ति कमाएँ हुँला
खुसी पनि प्राप्त गरेँ
सम्मान पनि पाएँ हुँला
जीवनको बदलाव पनि महसुस गरेँ होला
तर खै त
मेरो अनुहार बदलिएन, शरीर बदलिएन
मेरो विचार बदलिएन, आत्मबोध बदलिएन,
आत्मसम्मान बदलिएन अनि म पछिका
मेरा सन्तानको मातृ वात्सल्य पनि बदलिएन
मेरो निन्द्राको सपना बदलिएन
बिपनाको झन्कार बदलिएन
आमाबुबा, दाजुभाइ, दिदीबहिनी,आफन्त
साथीभाइको साथ गरिने कुरा बदलिएन
अनि बाल्यकालको त्यो याद बदलिएन
सँगै सानै देखिको मेरो रहर बदलिएन
साथमा वास्तविक खुसीको
बहार पनि बदलिएन
त्यसैले आज म यो बिरक्त मन लिगेर
फेरि देशको माटो खोज्दैछु
मेरो मातृभूमि खोज्दैछु
सम्मान र संस्कार खोज्दैछु
अनि आत्मानुभूतिको महसुस खोज्दै छु।