कुरा २०६३ सालको मंसिर/पुस महिना तिरको हो। देशमा २०६२/६३ को जनान्दोलन सफल भएर बेग्लै माहोल थियो। गिरिजाप्रसाद कोइराला सामान्य नागरिक भएर राष्ट्र प्रमुख बन्ने पहिलो व्यक्ति बनेका थिए।
देशमा संविधान सभाको चुनाव भयो भने राजाले देश छाडेर जानुपर्छ अरे, राजा परिवारले आफूहरू बस्नका लागि बेलायतको लन्डनमा घर पनि किनिसके अरेजस्ता अड्कलहरू गाउँघरको चोक-चोकमा चल्ने गर्थ्यो। तराईको मंसिर-पुसमा यस्तो गफ बिहान-बेलुका आगो बालेर ताप्न बसेकाहरूबीच चल्ने गर्थ्यो।
तराईमा विशेषगरी पुस/माघ महिनामा कयौं दिनसम्म सूर्य नदेखिने गरी शीतलहर चल्ने गर्छ। त्यस्तो बेला आगो बालेर वरिपरि बसी आगो ताप्ने (स्थानीय भाषामा घूर ताप्ने) चलन अझै पनि छ। र त्यही घूर ताप्ने बेलामा चर्चा चल्ने गर्छ गाउँघर देश-विदेश सम्मको। मैले आकलझुक्कल सुनेको भरमा र साथीभाइले भनेअनुसार कहिलेकाहीँ त्यस्तो जमघटमा त्यतिबेला मेरो नि कुरा चल्ने गर्थ्यो अरे।
म त्यति बेला गाउँकै स्कुलमा कक्षा ९ पढ्ने विद्यार्थी थिएँ। कक्षा १ देखि ७ सम्म जहिले स्कुल प्रथम भएको म, कक्षा ८ को जिल्ला स्तरीय परीक्षामा म पढ्ने विद्यालयसहित १५ विद्यालयहरू रहेको स्रोत केन्द्रअन्तर्गत ८२% अंक ल्याएर प्रथम भएको थिएँ।
साथीभाइ, टोलछिमेकमा अब त पक्का यो केटो पढ्नलाई सहर जान्छ होलाजस्ता चलेको चर्चालाई चिर्दै मैले गाउँकै स्कुलमै पढ्ने निधो गरेर स्कुलको हिरो भएको थिएँ। हाम्रो स्कुलबाट त्यतिबेलासम्म दुई वटा ब्याचले एसएलसी दिएका थिए। त्यसमध्ये पहिलो ब्याचमा ३७ जना मध्ये ८ जना र दोस्रो ब्याचमा ४२ जना मध्ये जम्मा ६ जना उत्तीर्ण भएका थिए। एकजनाले पनि प्रथम श्रेणी ल्याउन सकेका थिएनन्। यस्तो अवस्थामा गाउँको स्कुलमा पढ्ने निर्णय गरेर मैले सरहरूलाई प्रथम श्रेणीको सपना देखाएको थिएँ भने आफ्नो लागि पूरै स्कुलमा मनपरी गर्ने मौका बनाएको थिएँ।
नेपालको सरकारी स्कुलबाट एसएलसी दिएर अनुत्तीर्ण हुने विद्यार्थीहरूको तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी विद्यार्थीहरू अनुत्तीर्ण विषयहरू अंग्रेजी, गणित र विज्ञान हुने गर्छन्। हाम्रो स्कुल पनि यसको अपवाद थिएन। यही अवस्थालाई मध्यनजर गरेर हाम्रै स्कुलमा अंग्रेजी, गणित र विज्ञान पढाउने सरहरू मिलेर स्कुलको प्राङगणबाट केही पर एउटा कोचिङ सेन्टर खोल्नु भएको थियो जसको नाम थियो भाग्यउदय कोचिङ सेन्टर।
जिल्ला स्तरीय परीक्षामा समग्रमा राम्रो अंक ल्याए नि अंग्रेजी विषयमा मेरो नम्बर प्रथम श्रेणी हाराहारीकै थियो। तसर्थ अंग्रेजी पढाउने सर र हेडसरको सल्लाहअनुसार कुनै शुल्क नतिर्ने गरी म पनि त्यो कोचिङ सेन्टरमा अंग्रेजी विषय पढ्न जान थालिसकेको थिएँ। शुल्कको साटो कहिलेकाहीँ सरहरू अनुपस्थित भएको खण्डमा मैले कक्षा ८ मा घन्टी लिए दिनुपर्ने सर्त थियो। पढाउन जहिले रहर लाग्ने मैले खुसी-खुसी त्यो गर्न राजी भएको थिएँ।
हाम्रो भाग्यउदय कोचिङ सेन्टरमा बिहान ६ बजेदेखि ९ बजेसम्म कक्षाहरू चल्ने गर्थ्यो। १-१ घण्टाका घन्टीहरू हुने गर्थे। अंग्रेजी, गणित र विज्ञान पढाउने सरहरूले कक्षा १०, ९ र ८ का गरी ३-३ वटा घन्टी लिने गर्थे। बिहान ६ बजेको पहिलो घन्टी तीन वटै सरले कक्षा १० का इक्छुक विद्यार्थीहरूलाई अंग्रेजी, गणित र विज्ञान पढाउनु हुन्थ्यो र क्रमशः कक्षा ९ र ८ का विद्यार्थीलाई क्रमशः ७ बजे देखि र ८ बजेदेखि।
पुस महिना लागिसकेकोले कक्षा १० का विद्यार्थीहरू सेन्ट-अप परीक्षाको तयारीमा लागेकोले कोचिङ आउन छाडेका थिए। त्यसैले अब बिहान ६ बजेको घन्टीहरू कक्षा ९ को विद्यार्थीहरूको भएको थियो भने कक्षा ८ साथीहरू ७ बजेको घन्टीमा पढ्थे। अब खाली भएको ८ बजेको घन्टीको कक्षाहरूमा पढ्न हाम्रै स्कुलमा कक्षा ७ का भाइबहिनीहरू पढ्न आउन थालेका थिए।
त्यस कोचिङ सेन्टरमा पढाउने सरहरूमध्ये सबैभन्दा चर्चित हुनहुन्थ्यो विज्ञान पढाउने हाम्रो देवदुत महतो (डिएम) सर। अलि कडा स्वाभाव, कसैसँग धेरै नबोल्ने, समयमा आउने र घन्टी सक्ने बितिक्कै कक्षाबाट निस्किहाल्ने डिएम सरको स्वभाव थियो। विद्यार्थीहरूबीच खासै घुलमिल नहुने डिएम सरको चर्चा भने विद्यार्थीहरू माझ खुबै चल्ने गर्थ्यो।
अगाडि तालु पुरै खुइलिसकेको डिएम सरको भुडी पुट्ट बाहिर निस्केको थियो, जाडो महिनामा खुट्टामा कुर्कुच्चासम्म छोपिने बुट लगाउने उनी, सर्टमाथि कोट लगाउँथे जुन सायद २० औँ वर्ष पुरानो हुनुपर्छ। ट्युसन जान थालेपछि उनको अर्को एउटा पाटोको पनि खुबै चर्चा चल्ने गर्थ्यो, त्यो हो उनको टर्चको।
'एभररेडी'को तीन वटा ठूलो मोटो ब्याट्री लाग्ने उनको टर्च प्लास्टिक हैन, स्टीलबाट बनेको थियो। तर त्योभन्दा नि गज्जब के थियो भने उनी त्यो टर्चको टुप्पो र प्वालतिर डोरी बाध्थे र त्यसलाई काँधमा भिरेर आउँथे। बिहान ६ बजे आइपुग्नु पर्ने भएकोले टर्च बोकेर धेरै जना आउँथे तर त्यसरी काँधमा भिरेर आउने डिएम सर मात्र थिए।
१० कक्षाका विद्यार्थीहरू कोचिङ आउन छाडेकोले मेरो अंग्रेजीको कक्षा बिहान ६ बजे हुन थालेको थियो पुसको महिना छ बजे अँध्यारो नै हुनेगर्छ, झन् मेरो घरबाट कोचिङ सेन्टर पुग्न लगभग २० मिनेट नै लाग्थ्यो। अब मलाई पनि टर्च नभई नहुने भयो। तर हाम्रो घरमा पनि एउटा मात्रै टर्च थियो। त्यो पनि ठ्याक्कै डिएम सरको जस्तो स्टीलवाला, तीन वटा ठूलो ब्याट्री लाग्ने खाले।
त्यही टर्चलाई लिएर डिएम सरको मजाक उडाइन्थ्यो, त्यस्तै टर्च बोकेर कोचिङ पढ्न जाने अवस्थामा म थिइनँ। तर मसँग अर्को विकल्प थिएन। अर्को महिनासम्म बाबाले अर्को टर्च किनिदिने सर्तमा म तत्कालका लागि त्यही टर्च बोकेर कोचिङ सेन्टर जाने निधो गरेँ।
तर म त्यो टर्च बोकेर साथीभाइसामु उपस्थित हुने कुराले नि अप्ठ्यारो मान्न थालेको थिएँ र तसर्थ एउटा जुक्ति निकालें। बिहान त्यो टर्च बोकेर कोचिङ सेन्टर जाने तर कोचिङ सेन्टर नपुग्दै तो झोलामा राखिहाल्ने, अरु कसैले नदेखोस् भनेर अरुभन्दा पाँच मिनेट अगाडि पुग्नेगरी जाने। अर्को दिनदेखि म त्यसै गर्न थालेँ।
सब ठिकठाक चल्दै थियो। जेहेन्दार र टपर भएकोले मेरो रवाफ छुट्टै थियो। मेरो टर्च पनि अहिलेसम्म कसैले देख्न पाएको थिएन र डिएम सरको टर्चमाथिको मजाक चली नै रहेको थियो। म बिहान छ बज्नुअघि नै पुग्थेँ, ७ बजेसम्म अंग्रेजीको कोचिङ पढ्थेँ र घर फर्किन्थेँ। विज्ञान र गणितमा म अब्बल नै थिएँ तसर्थ मैले ती विषयको कोचिङ कक्षाहरू पढ्ने जाँगर कहिले गरिनँ।
एकदिन म कोचिङ सेन्टरबाट घर फर्किनै लाग्दा विज्ञान पढाउने मोहन सरले एकछिन पर्खिन भन्नुभयो। उहाँको अनुसार आगामी केही दिन बाहिर जानुपर्ने भएकोले उहाँले कक्षा ९ र ८ को विद्यार्थीलाई बिदा दिइसक्नु भयो तर कक्षा ७ को कोचिङ सुरु भएको एक हप्ता मात्रै भएकोले बिदा नै दिन गाह्रो भयो। तसर्थ उहाँले मलाई केही दिन कक्षा ७ मा विज्ञान विषय पढाइदिन अनुरोध गरे जुन मैले सहर्ष स्वीकारेँ।
अब केही दिनका लागि मेरो दैनिकी फेरिएको थियो। बिहान ६ नबज्दै कोचिङ सेन्टर पुग्ने, ६ बजेदेखि ७ बजेसम्म अंग्रेजी पढ्ने, ७ देखि ८ बजेसम्म अफिसमा बसेर स्वःअध्ययन गर्ने र ८ बजेदेखि ९ बजेसम्म सात कक्षाका भाइबहिनीलाई विज्ञान पढाएर घर फर्किने।
पहिलो दिनको कक्षा पढाउँदा नै मलाई कक्षाभरि विद्यार्थी राखेर पढाउन कम्ता गाह्रो हुन्न भन्ने कुराको हेक्का भइसकेको थियो। कसले के बोल्ने, कसले कसको पोल लगाइदिने, अनेक झन्झट हुँदो रहेछ। त्यो कक्षामा सबैभन्दा चकचके दुई जना भाइहरू रहेछन्। पढाइमा ठिकै तर अति बोलक्कड, कक्षामा कसैलाई प्रश्न सोध्यो नि उनीहरूले नै उत्तर दिनुपर्ने, शिक्षक कालोपाटी तिर फर्केको बेला हो-हल्ला गर्नै पर्ने।
तिनीहरूको कक्षा ८ बजेदेखि हुने भए पनि ७ बजेदेखि नै कोचिङ सेन्टरमै हुन्थे। यसो पत्ता लगाउँदा ती दुई जना केटाहरूको घर त्यही कोचिङ सेन्टर नजिक रहेको थाहा पाइयो। मलाई वास्तवमा भन्नु पर्दा सुरुको दुई दिनपछि नि ती केटाहरू मन पर्न छाडेको थियो र यिनीहरू पढ्न नै नआइदियोस् जस्तो भइसकेको थियो। मैले कक्षामा जाने बितिक्कै तिनीहरूलाई अलि गाह्रो प्रश्न नै सोध्ने र उत्तर दिन नसकेको निहुँमा कक्षा बाहिर निकालिहाल्ने गरिरहेको थिएँ।
यसो गर्दा कक्षा अलि शान्त त थियो नै तर मेरो अहमलाई ठूलो मलजल मिलेको थियो। एकदिन बिहानै घरबाट कोचिङ सेन्टर आउँदै गर्दा ती केटाहरूलाई उनीहरू घर बाहिर आफ्नो हजुरबुवासँग आगो तापिरहेको देखेँ। तर मैले नदेखेजस्तो गरेको अगाडि बढिरहँदा तिनले नि मलाई देखें र मैले बोकेको टर्च तिर हेर्दै एउटाले अर्कोलाई भनेँ, 'ओई, हेर् त हाम्रो सरको टर्च, ठ्याक्कै हाम्रो बाजेको जस्तो।'
यति भनेर दुवै केटाहरू गलल हाँसे। म लाजले भुतुक्क भएँ र केही नबोली सरासर कोचिङ सेन्टर पुगेँ। त्यस दिन केटाहरूले कक्षामा हो-हल्ला गरे पनि मैले अरु दिनको जस्तो कक्षाबाट निकालिनँ। दिनहरू यसरी नै चल्दै थियो, ती केटाहरूलाई धेरैजसो कक्षाबाट बाहिर पठाउँथे, कहिलेकाहीँ गाली गरेर चुप लगाउथेँ।
एकदिन म आफ्नो अंग्रेजीको कोचिङ पढिसकेर एकछिन घाममा बसेँ र पढाउनलाई कक्षामा छिरेकै थिएँ कि पछि-पछि ती दुईटा केटाहरू डिएम सरलाई अघि लगाउँदै कक्षा कोठामा आइपुगे। मैले के हुँदै छ मेसो नपाउँदै, डिएम सर म तिर हेर्दै बोल्न थाले, 'भाइ, तिमीसँग एकछिन कुरा गर्नुछ, यही गर्ने कि बाहिर जाने?'
मैले 'हुन्छ सर, भन्नुस् न के कुरा हो' भन्न नपाउँदै सरले ठूला आँखा पार्दै झोक्किँदै बोले, 'तैंले मेरो टर्च किन चोरेको?'
उनले त्यति भन्न नपाउँदै मेरा हातखुट्टा गले, ओठ सुक्न थाले, एकछिनलाई म अवाक भएँ। मलाई के भएको रहेछ बुझ्न धेरै बेर लागेन। मेरो व्यवहार देखेर दिक्क भएका ती दुई जना केटाहरूले मलाई पाठ सिकाउन भनेर ठूलै पोल लगाएका रहेछन्। यो एक घटनाले मेरो सब रवाफ चकनाचुर हुने भो भनेर म भित्रभित्रै आत्तिएँ।
म सरकोजस्तो टर्च बोक्छु भनेर मैले कसैलाई भनेको थिइनँ र कसैले त्यो टर्च मसँग भएको देखेको पनि थिएन। त्यसैले आज मसँग त्यस्तो टर्च फेला परेको खण्डमा मलाई आदर्श ठान्ने स-साना भाइ-बहिनीको आँखामा चोर साबित हुन्छु सोचेरै म आकुलव्याकुल भएँ।
म सोचमग्न रहेको देखेर सरले आफ्नो दाहिने हातले मेरो बाया बाहुला हल्लाउँदै भने, 'भाइ, के भयो? चोर हुने भइयो भनेर हातमुख सुक्यो त तिम्रो?'
सरले यति भनिसक्दा म झसंग भएँ। आफूलाई सम्हाल्दै सरलाई सोधें, 'सर, हजुरलाई किन लाग्छ मैले हजुरको टर्च चोरेको होला भनेर?'
सरको रिस रति कम बहेको थिएन, उनले झोक्किँदै भने, 'होला नि आफ्ना साथीहरूलाई हिरो छु भनेर देखाउन, तिमीहरूले मलाई कक्षामा त्यही टर्चलाई विषय बनाएर गिज्याएको थाहा नपाएको हो र? म सरको टर्च लुकाइदिन्छु भनेर चोरेको होलाऊ तिमीले। आजकाल तिम्रो बास पनि अफिस कोठामा हुन्छ, त्यसैले मेरो टर्च तिमीले चोरेको हुनुपर्छ। झन् यी भाइहरूले तिमीले टर्च चोरेर आफ्नो झोलामा राखेको बयान दिएका छन्।'
म लाजले भुतुक्क तर रिसले पोतिएका मेरा आँखा उठाएर ती केटाहरूलाई हेरेँ। मसँग आँखा मिलाउन नसकेका तिनीहरू जमिन तिर हेर्दै मुस्कुराइरहेका थिएँ। सर फेरि बोल्न थाले, 'ल, ल तिम्रो झोला लेऊ म चेक गर्छु, चोरेको छ/छैन थाहा भइहाल्छ।'
मलाई एकफेर आफूसँग नि त्यस्तै टर्च रहेको आदि-इत्यादी कुराहरू भन्न मन त लागेको थियो तर त्यहाँको माहोल हेर्दा बेलीविस्तारको कुनै महत्व होला जस्तो लागेन र मन नलागी-नलागी कालोपाटीसँगै जमिनमा उभिरहेको मेरो झोला उठाएर सरलाई दिएँ र आधा परेली उठाएर कक्षा भरीका विद्यार्थीहरूलाई हेरेँ। र आज मेरो तिमीहरूसँग अन्तिम कक्षा हुनपुग्यो भनेर मनमनै भनें।
'ओई केटा हो, खै त टर्च?' सरको कड्किएको अवाजमा यो वाक्यांश सुनेपछि मैले लामो सास लिएँ, र लाजले गलेका मेरा हात-खुट्टामा फेरि बल आइपुग्यो।
केटाहरूले 'सर, हामीले त यो सरले तपाईंकको टर्चबाट त्यो अघि फेला परेको डोरी फ्यालेर आफ्नो ब्यागमा राख्दै गरेको त हेरेको हो तर पछि खै कता लुकाउनु भयो' भनेर मुसुमुसु मुस्कुराउन थाले।
सरले मोटामोटी कुरा थाहा पाए।
'भाइ, पक्कै यी केटाहरूकै बदमासी हुनुपर्छ, म केरकार गर्छु, तिमी कक्षा पढाऊ' भन्दै सरले दुई हातले दुवै केटाहरूको एउटा-एउटा कान समात्दै अफिस तिर लागे।
पढाउन मन लाग्ने कुरा नै भएन। तत्कालै कक्षा बिदा गरेर घर तिर लागेँ। पहिलो कुरा मेरो टर्च कहाँ गयो? प्रत्येक दिन टर्च बोकेर म बिहान कोचिङ जान्थेँ। कोचिङ सेन्टर नपुग्दै झोलामा लुकाउथेँ। घरमै एउटा मात्र टर्च भएकोले साँझ ममी-बुवाले झोलाबाट झिकेर प्रयोग गर्नुहुन्थ्यो र राति सुत्नुपूर्व ममीले आएर टर्च मेरो झोलामा राख्दिनु हुन्थ्यो।
कहिलेकाहीँ बिर्सेको दिन बिहान आफै खोजेर लिन्थेँ। हिजो मेरो जेठो मामा बास बस्न हाम्रोमा आउनु भएको थियो। आज उहाँ बिहानै फर्किन लाग्दा म उहाँसँगै उहाँकै मोटरसाइकलमा कोचिङ सेन्टरसम्म आएँ। त्यसैले मलाई आज टर्चको आवश्यकता नै परेन र मैले बिहानै सोधखोज नि गरिनँ। यति सोच्दा-सोच्दै घर आइपुगेँ। नभन्दै टर्च मेरो कोठाको टेबुलमाथि थियो।
अर्को दिनदेखि मैले त्यो टर्च बोक्न छाडेँ र छाडेँ बोक्न मेरो अहम, आफू के-के न हुँ भन्ने भाव। बिहानै कोचिङ सेन्टर पुगें तर अरु दिन जस्तो केही थिएन। डिएम सर पनि आफ्नो स्वभाव विपरीत देखिनुभयो। सायद मलाई चोरको आरोप लगाएकोले अलि गाह्रो मानेर हुनसक्छ। म कक्षा ७ मा पढाउन जाँदा ती दुई केटाहरू कक्षामा थिए तर आफ्नो स्वभाव विपरीत घन्टाभरिको कक्षामा चुइ शब्द समेत बोलेनन्।
हिजो उनीहरूले नै टर्च लुकाएको कुरा डिएम सरले थाहा पाएपछि पिट्नु भएको रहेछ। यता म नि आत्मग्लानी महसुस गरिरहेको थिएँ। आफ्नो छुद्र व्यवहारले बाल मस्तिष्कमा बदलाको भाव पैदा गराएकोमा र आफू जेहेन्दार र मेहनती हुदाँहुँदै अरुले कुरा लगाएको भरमा मेरा गुरुले मलाई चोर ठान्नसक्नु आफ्नो त्यतिबेलाको छवी बनाएकोमा मलाई आज पनि पछुतो लाग्छ।
घर जाँदा डिएम सरसँग अझै देखभेट हुन्छ, नमस्कार गरिन्छ तर सर त्यो दिन साना भाइहरूले भनेको भरमा तपाईंले मलाई चोर किन ठान्नु भयो भनी सोध्न आँट अझै आएको छैन।