उसका गाडी आँगनभरि, मेरो आँगन रित्तै
पोल्छ मन लिफ्ट दिँदा जान्न भन्छु सित्तै
सक्दिनँ म राम्रो देख्न, छैन भन्छु डाहा
लौन समाज मलाई मात्रै भन्ने गर आहा!
हिजो मात्रै मिल्ने साथी राम्रो पोस्टमा गा’को
मन थामेर हेरेँ मैलै उसले सपथ खा’को
सक्दिनँ म राम्रो देख्न, छैन भन्छु डाहा
लौन समाज मलाई मात्रै भन्ने गर आहा!
ओहो! तिम्रो कति धेरै चल्ने व्यापार भा’को
सबको देख्छु राम्रो मात्रै, मेरै चौपट भा’को
सक्दिनँ म राम्रो देख्न, छैन भन्छु डाहा
लौन समाज मलाई मात्रै भन्ने गर आहा!
ठूलो घरको छोरीसँग उसको लगन जुर्यो
मेरो भागमा ससुराली, उही झुपडी पर्यो
सक्दिनँ म राम्रो देख्न, छैन भन्छु डाहा
लौन समाज मलाई मात्रै, भन्ने गर आहा!
डिस्टिंसनमा पास भयो पल्लाघरको छोरो
तीन वर्ष भो दश कक्षामै अल्झ्यो मेरो छोरो
सक्दिनँ म राम्रो देख्न, छैन भन्छु डाहा
लौन समाज मलाई मात्रै भन्ने गर आहा!
छिमेकीको ठूलो घर, मनमा गड्यो ताजै
सयकडा तीन तिर्छु, तला थप्छु आजै
सक्दिनँ म राम्रो देख्न, छैन भन्छु डाहा
लौन समाज मलाई मात्रै भन्ने गर आहा!
म राम्रो छु भन्ने पार्न, के-के गरेँ सारा
म रैछु कि गलत भन्थेँ, सबको उही पारा
तुस पालेर अरुमाथि बन्नै पर्ने आहा!
सिको गर राम्रो कामको, भो नगर डाहा।
एउटै छाना, एउटै छाता ओत राम्रै थियो
दुष्ट मनको अहङ्कारले, दूरी बढाइदियो
तुस पालेर अरुमाथि, बन्नै पर्ने आहा!
सिको गर राम्रो कामको, भो नगर डाहा।
सँगै मिली टेकेका ती माटो फरक भयो
घुम्तीहरु नमिलेर बाटो फरक भयो
तुस पालेर अरुमाथि, बन्नै पर्ने आहा!
सिको गर राम्रो कामको, भो नगर डाहा।
निशान पनि फेल हुन्छ, आफ्नै ताक्न खोज्दा
फल पनि तितो हुन्छ, बेमौसमी रोज्दा
तुस पालेर अरुमाथि, बन्नै पर्ने आहा!
सिको गर राम्रो कामको, भो नगर डाहा।
आत्मा शरीर बेग्लै हुन्छ, नपत्याए जाँच
रिसराग त्यागी अब, सादा जीवन बाँच।