उनी २५ वर्षकी मात्र थिइन्। भर्खरै गाउँकै एक कलेजबाट राम्रै प्राप्तांक ओगटेर स्नातक छिचोलेकी थिइन्। काठमाडौं आएर स्नातकोतरसम्मको पढाइ पूरा गर्ने उनको सपना अझै केही दूरीमै थियो तर उनका अभिभावकले उनको बारेमा यति मात्र व्याख्या गरे- 'छोरी हुर्की बढी, अब उसलाई माइतीमा राख्नुभएन।'
एक सोजी गाउँले नारी न हुन्, परिवेशलाई नियाल्दै, सारा सपनाहरू कुल्चेर बाबुआमाको कुरामा स्वीकृति जनाइन्। बिहे हुँदा उसको अविवाहित ३२ वर्षको दाजुले साउदीबाट मेसेन्जरमा शुभकामना पठाएको थियो- बुनु, मभन्दा छ वर्ष कान्छी भए पनि तिमीले विवाहको निर्णय गरेकोमा तिमीलाई लाख-लाख शुभकामना।
उनलाई लाग्यो, उनको बिहेमा दाजुले थोरै चित्त दुखाएको छ तर बाबुआमाले घरमा बिहेको लागि दिएको दबाबको अनुमान परदेशी दाजुले अड्कल लगाउन सकेनन्। उसको बिहेपछि भरियाले चौतारीमा भारी बिसाएपछि लिने चैनको एक लामै सास उनको आमाबाबुले लिए। फरक यति थियो कि, बाबुआमाको आँखा भारी बिसाएपछि भारीको मायाले थोरै रसाए।
त्यसपछि गाउँकै एक मन्दिरमा उनले एक अनजान व्यक्तिको हातबाट एक धर्को सिन्दुर लगाइन्। सिन्दुर हाल्ने कपडाको टालो हटेपछि, कृतज्ञतास्वरुप उनले त्यो पुरुषको खुट्टामा घोप्टिइन्। पुरुषको खुट्टा र उनको टाउको एकाकार भएर सुरु भएको दाम्पत्य जीवनको सहयात्रा यति छोटो होला उनले सोचेको पनि थिइनन्।
विवाह भएको एक साल नबित्दै बिहान मुस्कुराउँदै मोटरसाइकल चलाएर अफिस गएका श्रीमानको सडक दुर्घटना भएर मृत्यु भएको खबर आयो। उनी निकै कहालिएर रोइन्। एकक्षणको लागि उनको होसहवास नै उड्यो। उनी चेतनाविहीन भइन्। तर पनि अलिअलि बाँकी भएको चेतनाको पुँजीले, यो कुरा स्वीकार्न बाध्य नै भयो कि उनको जीवनको सर्वाधिक महत्वपूर्ण पुरुष अर्थात् उनको पतिको निधन भयो।
त्यो पुरुषको भौतिक अनुपस्थितिमा, कपडाको टालोले छोपेर लगाइदिएको समाजको नासो सिन्दुर समाजले नै फिर्ता लियो। चुराहरू फुटाइए। मंगलसुत्र छिनियो। भोलि लाउँछु भन्दै सजाएका राता-राता सारीहरू दराजभित्रै कुच्चिए। अब उनी सबैको नजरमा विधवा भइन्, शिरदेखि पाउसम्म सेतिइन्।
विधवा भएपछि उनको जीवनमा दुइटा विकल्प आयो, उनले पतिको घरलाई सदाको लागि त्याग्नु वा पतिको घरमा रहेर जीवनभरि सतित्व धर्म निभाउनु। उनले निधो गरिन्, पतिको घरमै रहेर जीवन बिताउने। आफ्नो महिनावारी रोकिएकोले उनलाई लागेको थियो कि पतिले जानेबेला उनलाई एक अमूल्य उपहार दिएर गएको छ।
घरमा थिए त एक वृद्ध ससुराबा र सासूआमा मात्र। ससुरा जागिरे थिए भने सासू गृहिणी। पतिको मृत्युपछि केही समय सासू-ससुराले प्रेम नै देखाए। बाहिरको सम्पूर्ण काम सासूले सम्हाले। सेतो वस्त्र लगाएको दुई महिना ऊ घरबाटै बाहिरै निस्किन। कति दिन यसरी घरभित्रै रहेर गुजारिनु? घर गृहस्थ त चलाउनै पर्यो।
पहिलोपटक घरको आँगन नाघेर बाहिर आएको दिन उनलाई एक ४०/४५ उमेरको पुरुषले क्वारक्वार्ती हेर्दै थियो। आफ्नो पति हुँदा कहिले ठाडो नजरले हेर्न नसकेको पुरुषले पहिलो पटक उनलाई साहसपूर्वक क्वारक्वार्ती हेर्दै थियो। उसलाई पहिलो दिन साह्रै अप्ठ्यारो भयो। एक त शरीर नै सेतै, उसमा फेरि एक पुरुषको एकोहोरो नजर।
भोलिपल्ट पनि त्यही पुरुषले उनलाई त्यसरी नै क्वारक्वार्ती हेर्यो। उनलाई कहिले दयाले हेरेजस्तो लाग्थ्यो, कहिले मायाले, कहिले सहानुभूतिले त कहिले कामुकताले। एकपटक होइन, दुईपटक होइन, चौध पन्ध्र पटक यसरी एउटै पुरुषले क्वारक्वारती हेरेपछि साह्रै रिस उठ्यो र बाटामा कोही नभएको मौका छोपी उनले सोधिन्- 'तपाईं सधैँ मलाई किन यसरी क्वारक्वार्ती हेर्नुहुन्छ?'
त्यो पुरुषले पनि अधकसाथ बोल्यो, 'हो, तिमी निकै राम्री छौ। यस्तो लाउँलाउँ-खाउँखाउँ उमेरमा दैवले तिमीमाथि गरेको अन्यायलाई हेरेर दैवलाई सराप्दै छु।'
'अबदेखि नहेर्नुस्। मेरो निम्ति दैवलाई सराप्नु पनि पर्दैन,' उनी यति बोलेर सरासर घरतिर लागिन्।
भोलिपल्ट पनि त्यो पुरुषले क्वारक्वार्ती हेर्न छोडेन। अति नै भएपछि उनले त्यो पुरुषको नजिक गएर भनिन्, 'बिन्ती! मलाई यसरी नहेर्नुस्, साह्रै डर लाग्छ। तपाईं के हेर्नुहुन्छ ममा त्यसरी सधैँ? मेरो सेतो लुगा, दुब्लो शरीर, विरही आँखा या मेरो लाचार जिन्दगी?'
त्यो पुरुषले उनको संवेदनशील भागलाई हेर्ने बतायो। उनले सोचेकी पनि थिइन यस्तो जवाफ आउँछ भनेर। कति कामुक! कति लालची! कति पापी! कति स्वार्थी!
उनलाई त्यो दिनदेखि सबै पुरुषको नजरप्रति घृणा जाग्यो। उनलाई लाग्यो आजको समयमा दया, माया, प्रेम हराइसकेको छ। उनले अठोट गरिन् अब यो बाटोमा कहिले नटेक्ने, त्यो पुरुषको सम्मुख कहिले नपर्ने। एक्ली नारीलाई कति हेप्छन् यो समाजले! मेरो जीवनमा आज पति छैन। तर मेरो पेटमा उनको नासो चलमलाइरहेको छ। म एक्लो छैन।
समय बित्दै गयो। विधवा भएको छ महिना हुँदाको कुरा हो। एक साँझ उनको मोबाइल टिनिनी बज्यो। उनले फोन उठाइन्।
हेल्लो भन्नेवित्तिकै उताबाट आवाज आयो, 'म आकाश, चिन्यौ नि? म तिम्रो कलेजको साथी। तिमीलाई त्रि-चन्द्रमा पढ्दा दुई पटक प्रपोज गर्ने। तिम्रो बारेमा नराम्रो कुरा सुनेर साह्रै मजा आएन आशा।'
उसले थप बोल्यो, 'तिमीलाई अझै म त्यति नै मन पराउँछु।'
'धेरै ढिला भइसक्यो अब त। म गर्भवती छु आकाश,' उनले भनिन्।
'कति महिनाको?'
'छ महिनाको,' उनले सुस्केरा हाल्दै बोलिन्
'उसो भए, तुहाउनू। धर्तीमा आएपछि मारे पो अपराध हुन्छ। पेटभित्र त मार्न पाइन्छ नि। आशा, पेट खाली गर तिम्रो सिउँदो म रंगाउँछु।'
यति भन्नेवित्तिकै उनले फोन काटिन्। अरु दुई पटक गरेको कललाई उठाइनन्।
कस्ता-कस्ता पुरुष आउँछन् जीवनमा एउटा पुरुषको अन्त्यपछि। फेरि छ/छ महिनाको शिशु तुहाऊ भन्ने कत्रो साहस? आफ्नो विवाहपछि वर्षौं वर्षसम्म एक कल नगर्ने आकाशले पनि आज खोजी-खोजी फोन गरी ल्याएको छ। अझ साहस नै गरेको छ, एक विवाहित नारीसित प्रेम प्रस्तावको। कति पापी हुन्छन् मान्छेहरू! कति निर्दयी हुन्छन् मान्छेहरू!
थप चार महिना यसरी नै सेताम्य बित्यो। एक साँझ उनको घरमा ५५/६० उमेर जतिको एक पुरुष कफीको लागि निम्त्याएको थियो। आफ्नो ससुराले निम्तो गरेकोले, उनले सत्कारमा कुनै कमी राखिनन्। एक कफीको समाप्तीपछि अर्को कफीको अध्याय सुरु भयो। राजनीतिकदेखि लिएर नेपालको कलाकारितासम्मको कुरा गर्न कफीको चुस्कीमा भ्याए।
उनी कफीको कप लिन कोठामा प्रवेश मात्र गरेकी थिइन्, त्यति नै बेला ससुराबा मोबाइलमा फोन आएको बहाना गरी कोठा बाहिर निस्किए। ससुरा बाहिर जानेवित्तिकै त्यो पुरुषको संवादले कोल्टो फेर्यो। उनी व्यक्तिगत जीवनको कुरा गर्न थाले।
'तिम्रो ससुराबाट तिम्रो बारेमा सुनेर साह्रै दुःख लाग्यो। तिम्रो र मेरो जीवनको नियति एउटै। दुई महिना त भयो नि मेरो पत्नी पनि बितेको। भाविले निधारभित्र गहिरोमा लेखेको अक्षर हामी निधार नै फोडेर मेट्न सक्दैनौँ।'
उनले त्यो पुरुषलाई शिरदेखि पाउसम्म हेरिन्। कालो कोट, रातो टाई, निलो सर्ट र खैरो पाइन्टमा सजिएको ऊ बोलीमा बाहेक अन्त कतै पनि आफ्नी पत्नी बितेको शोकको आभास थिएन।
'तिम्रो कति महिना भयो?'
उनले शीर झुकाउँदै बोलिन्, 'दस महिना।'
यति भन्दै बैठक कोठाको भित्तामा झुन्डिरहेको ठूलो ऐनामा यसो हेरिन्। आफ्नो सशरीर ऐनामा सेतै झुलिरहेको थियो। त्यो पुरुषको रंगिन प्रतिबिम्ब भने ऐनाले आधा मात्र झुलाउन सक्यो। उनी कता-कता हराइन्। त्यति नै बेला त्यही पुरुषको आवाजले उनी झसंग भइन्।
'तिम्रो इच्छा छ भने मसित बिहे गर्दा नि हुन्छ। म सुखमै राख्छु तिमीलाई।' त्यो पुरुषले यसरी बोल्यो मानौं विधवा भएकोले ठूलो दया गरेको छ उनीमाथि।
उनी केही बोलिनन्। फर्केर कोठा बाहिर, आँखा मोटा-मोटा आँसुले थिच्दै निस्किन्।
पुरुष बोल्दै थियो, 'सोच है सोच, तिम्रै भलोको लागि प्रस्ताव गरेको हुँ। हामीलाई त के छ र, भने भनेका कुमारी केटीहरू नि विवाहको निम्ति तयार छन्। तिमीलाई उद्दार गरुँ भन्ने मात्र मेरो मनसाय हो।'
दुई महिने शोकमा परेको विधुरको, दश महिना शोकमा परेकी यो विधवामाथिको सहानुभूति उसलाई पटक्कै रुचिकर भएन। न सिन्दुर पखाल्नुपर्ने, न चुरा फुटाउनु पर्ने, न बरखी बानुपर्ने, न अरुको कामुक नजरमा डामिनु पर्ने कति छुट छ यहाँ विधुर पुरुषलाई? श्रीमतीको मृत्यु त बहुविवाहको लाइसेन्सजस्तो रहेछ यहाँ पुरुषलाई। उनको मनमा नानाभाँतीका कुरा खेल्न थाल्यो। उनी आफ्नो कोठामा पुगेर चुकुल लगाइन्।
अझै कति दिन लाउनु पर्छ मैले यो सेतो कपडा? उनलाई अत्यास लागेर आयो। आफ्नो पतिको पुण्यतिथि कहिले रहेछ भनी भित्तेपात्रो केलाएर हेरिन्। ५९ दिन बाँकी रहेछ। अनि गन्न थालिन् पात्रोमा औंला टेकेर एक, दुई, तीन चार...। बाइससम्म पुगेर उनी रोकिइन्।
आफ्नो निधार टेकेर आफैलाई प्रश्न गरिन्, यो अभिशप्त जीवनमा, अझै कस्ता-कस्ता पुरुषको सामना गर्नुछ? कति कामुक नजरमा डामिनु छ? कति पोलिनु छ समाजबाट? के विधवा हुनु पाप गर्नु हो? उनी त्यो दिन निकै रोइन्।
त्यो कोट लाउने पुरुषको प्रस्तावलाई अस्वीकार गरेको पाँचौँ दिन उनले यो धर्तीमा आफ्नो पेटलाई हस्पितलको बेडमा हलुको बनाइन्, शिशुलाई जन्म दिएर। शिशुको दर्शन पाउनेवित्तिकै आँखा हर्षाश्रुले रसाउँदै, आफ्नो काखमा लिइन्। मातृत्व उर्लियो। गालामा चुम्मा गरिन्। शिशु कलिलो स्वरमा 'च्याँ -च्याँ' रोइरहेको थियो।
'पुरुष नै पुरुष दुखिरहेको यो बेलामा तिमी पनि पुरुष नै भएर आयौ। तिमी पनि यस्तै दुखाउँछौ कि? म त विधवा पो हुँ' उनले मनमनै आफ्नो कलेजको टुक्रोलाई प्रश्न गरिन्।
त्यति नै बेला उनको बेडनिर नर्स आइन् र उनलाई इशारा गर्दै बोलिन्, 'आधा घण्टा भयो, अब शिशुलाई आमाको दूध चुसाउनु।'
उनले शिशुलाई पुलुक्क हेरिन् र आफ्नो छातीमा घुसारिन्। हस्पितल नै थर्किने गरी च्याँ च्याँ रोइरहेको शिशु उनको स्तनको स्पर्श पाएर चुप लाग्यो।
त्यति नै बेला, उनले चालै नपाउने गरी ड्युटीमा आएको एक डाक्टरले उनको स्तनपानलाई टुलुटुलु हेरिरहेको रहेछ। त्यो देखेर आतंकित बन्दै उनले त्यो शिशुलाई बेस्सरी अँगालोमा कसिन्।
उनले आँखा बन्द गरिन्। खोल्दा मुकदर्शक डाक्टर गइसकेको थियो। त्यति नै बेला सासूआमा कोठामा प्रवेश गरिन् र उनलाई एउटा सेतो पछयौरी दिँदै बोलिन्, 'त्यो पछयौरी धेरै मैलो भयो, लाऊ यो नयाँ पछयौरी।'
उनले सासूआमाको मुख टोलाएर हेरिन्, हेर्दै रहिन्। शिशु फेरि रुन थाले- च्याँ, च्याँ। किन रोयो भनेर यसो घोप्टे नजरले छातीमा हेर्दा, आफ्नो मातृत्वको धारा शिशुको मुखतिर नभएर अन्तै बगिरहेको रहेछ जसरी उनको आँसु उनलाई नै छल्दै त्यतिखेर बगिरहेको थियो आँखाको गहबाट, टप-टप।
अँजुलीमा थापेको सेतो पछयौरी, सेतो दूध, सेतै आँसु हेर्दा हेर्दै, उनको संसार नै पलक्षणको लागि सेताम्य हुँदै गइरहेको थियो। अनि त्यही सेतो संसारबाट आफूलाई विवाहको प्रस्ताव गर्ने विधुर पुरुषको रंगिन पुरुषलाई सम्झिइन्। उनले सुस्केरा हाल्दै प्रश्न गरिन्, 'के फरक विधवा र विधुरमा? अनि फेरि यो विभेद, कहिलेसम्म, कहिलेसम्म?'
त्यो पल, त्यो सेतो पछयौरीलाई हातले थापिरहेको भए पनि मनले भने उनले धर्रर च्यातिरहेकी थिइन्। मनले त्यो सेतो पछयौरी माकुराको जालोजस्तो च्यातिरहेको बेलामा, होस अन्तै भएर अचानक उनको हातको पछयौरी बेडमुनि खस्यो। उनले त्यो पछयौरी खसालेको जस्तो पनि देखिन्थ्यो।
सासुआमाले उनलाई इंगित गर्दै बोलिन्, 'ल अलच्छिना, पछयौरी किन खसालेको? जिन्दगीमा ढंग नभएर त यस्तो भइसक्यो।'
उनले पहिलो पटक सासुको आँखामा आँखा जुधाउँदै बोलिन्, 'सेतो भएर। अब म सेतो लाउदिनँ आमा। विधवाले मात्र किन बरखी बार्नुपर्ने?'
उनको अप्रत्याशित जवाफ सुनेर सासुआमा अवाक भइन्।
पहिलोपटक सासूको नजरलाई आफ्नो नजरले लर्याकलुरुक पार्दै, छोरातिर सुकुमार नजरले पुलुक्क हेरिन्। छोराको गालामा गुलाफमा शीतजस्तो प्रतिबिम्बित आफ्नै आँसुको एक सेतो बुँदलाई आफ्नो हातले पुछिदिइन्। आँसु पुछिदिएपछिको गाला रातो गुलाफको थुङ्गाजस्तो खुल्यो, खुल्दै गयो।