काठमाडौँ सहर
कतै घर त कतै डरले
भरिएको सहर
कसैको रहर त कसैको
बाध्यताले भरिएको सहर
हरेक रातपछि सुरू हुने उही दिनहरू
उही गल्ली, उही भिड र भिडमा देखिने
फेरि उही मानिसहरू
यहाँ हरेक दिन जलिरहेछन् हजारौँ
मानिसका रहरहरू
जसरी जलिरहेछन् सयौँ लासहरू
पशुपति आर्यघाटमा
यहाँ भेटिने गर्छन् हरेक रात
भाग्यले ठगिएका मानिसहरू
अनि बेच्ने गर्छन् आफैले आफ्नै शरीर
भन्छन् मन्दिर नै मन्दिरले भरिएको
सहर हो रे काठमाडौँ
तर पापीहरूको कुनै कमि छैन यहाँ
तिमी भन्छ्यौ कति रमाइलो होला तिमीलाई
तर के थाहा तिमीलाई
मान्छेले मान्छेलाई नै बेच्ने सहर हो काठमाडौँ
बसिरहेछु बाध्यताले म जहाँ।