आऊ केही गफ गरौँ
तिम्रा र मेरा भोगाइका
आऊ केही गफ गरौं
तिम्रा र मेरा पर्खाइका
तिमी सुनाउनू मलाई
आफ्ना दुःखका कहानी
म कान बनेर एक तमासले तिम्रा कुरा सुन्नेछु
अहँ! म प्रश्न गर्ने छैन तिम्रा रोजाइलाई
म प्रश्न गर्ने छैन तिम्रा पर्खाइलाई
म मात्र तिम्रा कुरा सुन्नेछु
तिमी मसँग त्यति बेला आऊ
जतिबेला तिमीलाई आफू भएर पनि
आफू भएको जस्तो लाग्दैन
तिमी र म आफू भएको बिर्सिएर
गफ गरौँला
तिमी हारेको बेला आउनू
आफ्नो दुःख बाँड्न
किनकि खुसी त जसलाई पनि बाँड्न सक्छौँ
तर म
म तिम्रो दुःख बाँड्ने साथी बन्न चाहन्छु
तिमी त्यति बेला मसँग गफ गर्न आऊ
जति बेला सबै वरपर भएर पनि
कोही नजिक नभएको जस्तो लाग्छ
तिमी सबै हुँदा मलाई सम्झिएर आऊ
तिमी कोही नहुँदा पनि म छु
जस्तो लागेको बेला आऊ
तिमी आऊ
केही गफ गरौँला
तिम्रा र मेरा भोगाइका
तिम्रा र मेरा पर्खाइका
म कान बनेर एक तमासले तिम्रा कुरा सुन्नेछु।
तिमी त्यति बेला आऊ
जति बेला तिमीलाई लाग्छ कि मैले मात्रै तिम्रा कुरा बिना प्रश्न सुन्नेछु
तिमी त्यति बेला आऊ मसँग
जति बेला दुःखले तिम्रा ढोका ढकढकाउन थाल्छ
जतिबेला सबैले तिम्रा रोजाइलाई प्रश्न गर्न थाल्छन्
तिमी त्यति बेला आऊ मसँग गफ गर्न
जति बेला तिमीलाई कुरा सुनिदिने कान मात्र चाहिन्छ
अनि कुरा बुझिदिने मन
आऊ केही गफ गरौँला
दुःखका गफ।