हिजोभन्दा आज
अलिकति बढी घाँस
दिएको देखेर
गोठमा बाँधिएका
एक हल गोरुले सोच्दै छ
भोलि बिहानै
हाम्रा मालिकले जोत्न लानेछ
बाँझो बारी
साह्रो खेत
शीरदेखि पुछारसम्मै
जोतेर सक्ने मालिकको लक्ष्य
लक्ष्यमा पुग्न
मालिकले
हामीलाई छिटो-छिटो हिँडाउने छ
यदि
मालिकले चाहेअनुसार
हामी हिँड्न सकेनौं भने
हामीमाथि अपशब्द बोलिनेछ
हाम्रा पुच्छर बटारिने छ
हाम्रा शरीरको पछिल्लो भागमा
अनगिन्ती लठ्ठी प्रहार हुनेछ
ती लठ्ठी प्रहारको छाप बस्नेछ
दुखाइ र पीडा
मालिकले बुझ्ने छैन
यस्तै सोच्दा सोच्दै आँसु चुहिए
र
अर्को जन्ममा
हामी मालिक
मालिक, गोरु हुनेछ
हामीले पनि यस्तै गर्ने हो
मनमा बदलाको भावना लिएर
चिसो भुइँमा निदाउने प्रयत्न गर्दैछ।