छोटा स्कर्ट लगाएर कलेज हिँड्दै गरेका युवतीहरू, पारिपट्टिको पसलमा तरकारी छान्दै गरेका गृहिणी र पसलसँगैको ब्युटिपार्लरमा रङ्गीचङ्गी कपाल हल्लाउँदै आउने युवती। यी र यस्तै क्रियाकलाप हेरेर लठ्ठिन्थे कर्नेल।
अल्लारे उमेरमा उनले बिहे गरेका थिए। तर बाह्य युवतीसँगको संगतले उनकी श्रीमतीले पारपाचुके दिइन्।
श्रीमतीले छाडेपछि उनी नितान्त एक्लो जीवन व्यतित गरिरहेका छन्। उनलाई भेट्न आउने कोही थिएनन्। उनी कतिखेर उठ्छन्। कतिखेर खाना खान्छन्, के गर्छन्, कहाँ जान्छन्, कसैलाई थाहा हुन्थेन।
कसैले पनि उनलाई त्यो पुरानो घरबाट बाहिर निक्लिएको देखेको थिएन। उनको घर पछाडि सानो गल्ली छ। प्रायः दिनहुँ जसो एक जोडी त्यहाँ गफिँदै बस्छन्। जब उनीहरू अधैर्य हुन्छन्, अंकमाल गर्छन् अनि धित मरुन्जेल चुम्बन गर्छन्, झ्यालको पर्दा अलिकति सारेर कर्नेल बडो आनन्दका साथ दृश्यको मजा लिन्छन्।
त्यो पुरानो घरको तल्लो फ्ल्याटमा एक जना महिला बस्छिन्। झण्डै तीस वर्षकी। उनको श्रीमान रोजगारको शिलशिलामा देश बाहिर छन्।
अक्सर कर्नेल कुनै न कुनै बहानामा ती महिलाको कोठासम्म पुग्छन्। शारीरिक बनावटका हिसाबले यी महिला सुन्दर छिन्।
आकर्षक उचाइ, हावाको वेगसँगै उड्ने कालो केपाल, छिनेको कम्मर, सुन्दर मुहार, ठूला ठूला गाँजलु आँखा, यी यावत गुणहरूले कर्नेल उनीप्रति आशक्त छन्। ती महिलाको मनमा उनको लागि ठाउँ छ कि छैन भन्ने भेउ कर्नेलले पाउन सकिरहेका छैनन्।
कर्नेल उनको मीठो बोली र मन्द मुस्कानबाट पुरापुर प्रभावित भएका छन्।
कर्नेल आफ्नो मनका कुरा उनलाई भन्न चाहन्छन्। तर सामाजिक मूल्य र मान्यताले उनलाई अघि बढ्न रोकिरहेको छ। त्यसबीच एकदिन ती महिलाले डेरा छाडेर गाउँ फर्किइन्। त्यसपछि त कर्नेल झनै एक्लो हुन पुगे। आफ्नो मनका चाहनाहरू दबाउन उनी बाध्य भए। धेरै रात ती महिलासँग आलिङ्गन भएको कल्पना गर्न थाले। कल्पनाभित्र पनि कर्नेलले एउटा अव्यक्त आनन्द महसुस गरे।
एकदिन कर्नेलको कोठामा कसैले ढक्ढकायो। हत्तपत्त ढोका खोले। झोला बोकेकी एक युवतीले नमस्कार गरिन्। सरसफाइको सामान बेच्ने एक संस्थाको कार्ड देखाउँदै ती युवतीलाई सामिप्यमा पाउँदा उनी मन्त्रमुग्ध भए। सेतो सर्ट र कालो स्कर्ट लगाएकी ती युवती बुढो कर्नेलको होस उडाउन पर्याप्त थिइन्। खाइलाग्दो शरीर र चम्किलो मुहार भएकी ती युवती कुनै विज्ञापनमा देखिने मोडलभन्दा कम थिइनन्।
लामो समययता ढोकासम्मै आएर कर्नेललाई आवाज दिने कोही थिएनन्। उनले युवतीलाई भित्र डाके। निसंकोच उनी कोठाभित्र छिरिन्। कुनै होटलमा वेटरले खानाको जानकारी दिएझैं युवतीले संस्था र सामानको बारेमा जानकारी दिइन्। कर्नेलले चाहिने नचाहिने धेरै सामान किने। सकेसम्म उनी ती युवतीलाई केहीबेर अड्याउन चाहन्थे। अझ बढी गफ गर्न चाहन्थे।
युवतीको कपालबाट आएको सुगन्ध र शरीरको माधुर्यतामा उनी पूर्णत: लहसिएका थिए। युवती त्यहाँबाट निक्लँदै लाग्दा कर्नेलको हातले ती युवतीको हातसँग स्पर्श पायो।
युवती निक्लनासाथ उनले ढोका बन्द गरे। हात सुम्सुम्याए, लामो श्वास फेरे अनि आफैंलाई भने–‘पापी हात’।
केहीबेर आनन्द महसुस गर्न कर्नेललाई त्यो स्पर्श पर्याप्त थियो। अन्जानवस ती युवतीको हाँतसगै उनले पाएको स्पर्श यति मिठो थियो कि लामो समय त्यो दिनको वार्तालाप स्मरण गर्दै कर्नेल रोमान्चित भए।
जवान हुँदा कर्नेल एक युवतीप्रति आशक्त थिए। ती युवती दुई चुल्ठा बाँधेर कर्नेललाई ब्यारेक अगाडि भेट्न आउथिन्। ती युवतीलाई लिएर कर्नेल घुम्न निस्कन्थे। केही समयको अन्तरालपछि ती युवती परिवारसहित बसाइ सरेर गइन्। कर्नेलको हरेक कल्पना र स्मृतिमा ती सुन्दर युवती निरन्तर आइरहिन्।
उनीसँगको सामिप्यता कर्नेलको मनमस्तिस्कमा यसरी गाडियो कि त्यहाँबाट उनी चाहेर पनि उम्कन सक्दैनथे। कर्नेलसँग सम्झना मात्र बाँकी थियो।
झ्याल र भित्ताको चेपबाट चोर आँखाले झल्याकझुलुक सडकमा हेरिरहने कर्नेल केही दिनयता देखा पर्न छाडे। उनी त्यही छन् भन्ने आभाषसम्म भएन। उनको खोजीनीति गर्ने पनि त कोही थिएनन्। कतै कर्नेल बसाइ त सरेनन् ? कतै बिरामी पो परे कि ? उतिसारो गफगाफ नभए पनि यदाकदा आँखाबाट सांकेतिक अभिवादन गर्ने कर्नेल मसँग नजिक थिए।
कर्नेल बिरामी हुन् भन्ने सम्भावना अधिक थियो। अनेकन प्रश्न र सम्भावित नतिजाप्रति म सशंकित भएँ। एकपटक उनलाई भेट्ने निश्चयताका साथ म उनको डेरातिर लागें। ढोका भित्रबाट बन्द थियो। आवाज दिएँ। मन्द गतिमा ढोका खुल्यो। कर्नेल बोलेनन्। शायद उनले कल्पना गरेका थिएनन् कि म यहाँ आउँछु भनेर।
उनको आँखामा अजिव भाव थियो। लामो समयको निन्द्राबाट ब्युँझिएजस्ता देखिन्थे। मलाई बस्ने इशारा गरे।
बस्नको लागि त्यहाँ केवल ओछयान मात्र थियो। मैले उनको गालामा हात लगें। उनले लामो श्वास फेरे।
‘तपाईंलाई ज्वरो आएको छ’ मैले भनें।
उनी बोलेनन्, मात्र ‘अ’ को सङ्केत गरे।
यस्तो लाग्यो, त्यो स्पर्शले उनलाई आनन्द दिएको छ। उनले मेरो हात समाते, बिस्तारै मुसारे ‘मलाई ज्वरो आएको छ, हेर्नुहोस् त.......कस्तो ज्वरो। रातभर निदाउनै सकिनँ।’
उनलाई ज्वरो थियो। साञ्चै उनको शरीर पूरै तातेको थियो। तर उनको ज्वरो स्वभाविक थिएन। हत्तपत्त मैले हात छुटाएँ। ढोका ढ्याप्प बन्द गरें। त्यहाँबाट निक्लें।