हजुरबुवाको स्वर्गबासपछि हजुरमुवा एक्ली हुनुभयो। त्यत्रो खेतबारी, त्यत्तिका गोठाला-खेताला, गाईवस्तु, खसीबाख्रा, हाँसकुखरा आदि गाउँले जीवनको सम्पूर्ण व्यवस्थापन अब बुढी भएकी हजुरमुवाको एक्लो काँधमा आइपर्यो।
हजुरबुवा हुँदा सधैँको चहलपहल हुने ठूलो घर ढ्वाङ-ढ्वाङ्ती खालीजस्तै लाग्दथ्यो। हजुरमुवाको जेठो छोरोलाई म जेठा बा भन्दछु। उहाँ परिवारसहित काठमाडौँमा बस्नुहुन्छ। जेठा बा अस्पतालमा डाक्टर हुनुहुन्छ। हजुरमुवाको कान्छो छोरोलाई म कान्छा बा भन्दछु। उहाँ विराटनगरमा परिवारसहित बस्नुहुन्छ। कान्छा बा नापी अधिकृत हुनुहुन्छ।
हजुरमुवाकै छेउमा मेरो घर भएकोले र आफ्नो हजुरमुवा नभएकोले मलाई उहाँ आफ्नै हजुरमुवाजस्तो लाग्थ्यो। जेठा बाको जेठो छोरो मभन्दा एक वर्षमात्र कान्छो भएकोले हामी दौँतरीभन्दा पनि दाजुभाइजस्तै थियौँ। खेल्ने, खाने, पढ्ने क्रियाकलाप सँग-सँगै हुने हुनाले हाम्रो एउटै परिवारजस्तो व्यवहार हुन्थ्यो। हजुरमुवाले पनि मलाई 'नाति बाबु' भन्नुहुन्थ्यो।
'बुझिस् नाति बाबु, तेरो कान्छा बा मलाई लिन आउँदैछ। यो घर अनि खेतबारी बेचेर जेठा र कान्छालाई भाग लगाइदिएपछि म एक्ली बुढीलाई त उनीहरूको घरको एउटो कुनोमा बस्न दिए र एक छाक खान दिए त पुगिहाल्छ नि। उनीहरूसँगै आनन्दले बसूँला,' एकदिन हजुरमुवाले भन्नुभयो।
आफ्नैजस्तो गरेको छेउकै घर नै बेचेर हजुरमुवाले पनि जान्छु भनेपछि त मलाई साह्रै नरमाइलो लाग्यो। हजुरमुवा पनि जानेभन्दा मेरो मनलाई एक किसिमको कस्तो-कस्तो पीडा भइरहेको थियो। मलाई एउटा भनाइ थाहा थियो। त्यसैले हजुरमुवालाई अनुरोध गरेँ, 'छन् गेडी सबै आफ्ना, छैनन् गेडी सबै बिराना' भन्छन् हजुरमुवा, बाँचुन्जेल त आफ्नो भाग त आफैसँग राख्नुपर्छ होला। आफूलाई पनि त चाहिन्छ।'
हजुरमुवा खिसिक्क हाँस्नुभयो। म नातिको कुरा पत्याउनु भएन कि! अथवा मेरो माया देखेर मलाई पनि छोडेर जान उहाँको मन रोएर हो।
हामी चढेको गाडी लहान बजार पुगेर अडियो। 'ल यहाँ खाना खाने' कान्छा बा नापी अधिकृत भएर होला उहाँको आवाजमा रवाफिलोपन थियो।
कसैलाई पिसाबले च्यापेको, कसैको कुकरूक्क परेर चेप्टिएर बसेर गोडा फतक्क गलेको, कसैलाई गाडीले घुमाएर धङ्धङ्ति चक्कर लागेको। एकछिन भए पनि यसो आराम मिल्ने भयो। तर बुढी हजुरमुवा भने टठिलो देखिनुहुन्थ्यो। हजुरमुवाको अनुहार हेरेँ। अनुहार र आँखामा थुप्रै मिठा-मिठा सपनाहरू झल्किएझैँ मलाई भान हुन्थ्यो। मलाई पनि हजुरमुवाले बिराटनगर देखाउन सँगै लिएर जानुभएको थियो। आफन्तसँग सररर गाडीको यात्रा रमाइलो लागेको थियो।
कान्छा बाको घर त गाउँको जस्तो के हुन्थ्यो, निकै भव्य रहेछ। घरको माहोल नै सहरीयापनले छोपेको। एउटा सहरमा हुनुपर्ने सबै सरसुबिधाले व्यवस्थित थियो। एक/दुई दिन त रमाइलैमा बितिरहेको थियो। हजुरमुवालाई पनि सबैले माया नै गरे झैँ, स्याहार नै गरे झैँ लाग्दथ्यो। हजुरमुवा यो नयाँ ठाउँमा, यो नयाँ परिवेशमा खुसी नै माने झैँ देखिनुहुन्थ्यो।
दिन बित्दै गएपछि घरको माहोलमा बदलाव आउन थाले झैँ भयो। कान्छा बा र कान्छी आमा एकअर्कासँग बोल्दा पनि झर्कोफर्को गर्ने। झगडा गरे झैँ गर्ने। यस्तो लाग्थ्यो हजुरमुवा आएपछि घरमा नचाहिने बोझ थपियो।
'सुन्नु भो, हामीले मात्र पाल्नुपर्छ भन्ने के छ र? डाक्टर जेठा दाइ काठमाडौँमा झन् सोखले बस्नुभएको छ त। उहाँको पनि उत्तिकै दायित्व छ। फोन गरेर आमालाई लिएर जान भनेर त्यति पनि भन्न सक्नुहुन्न!' कान्छा बाको सातै खानेगरी कान्छी आमा च्याँठिनुभयो।
भान्सै निरको सानो कोठामा हजुरमुवाले यो सबै कान्छो छोरो-बुहारीको संवाद सुनिरहनुभएको थियो। म बाहिर बगैँचामा पानी हाल्दै थिएँ। श्रद्धेय हजुरमुवालाई त्यस्तरी भनेको मलाई रत्तिभर पनि मन परेको थिएन।
त्यतिकै रिसको भरमा भनेको होला भनेको त कान्छा बाले फोन लगाइहाल्नु भयो।
'हेलो! जेठा दाइ हो? ढोग दाइ। आमालाई सँगै राख्न ल्याएको थिएँ। तर अब मलाई यहाँ आमालाई राख्न सजिलो भएन। दाइसँग त सबै थोक छ। अब दाइले आमालाई चाँडै लानुपर्यो।'
उता जेठा बाले के भन्नुभयो, उताको कुरा फोनमा सुनिएन। त्यसपछि कान्छा बा र कान्छी आमा एकदम खुसी देखिनुभयो। हजुरमुवालाई खुब माया गरझैँ गरी भन्नुभयो, 'जेठा दाइले आमालाई काठमाडौँमा बस्नलाई बोलाउनु भएको छ। भोलि नै नाइट बसको टिकट काटिदिन्छु।'
अनि कान्छी आमा मतिर फर्किनुभयो। मलाई माया जताए झैँ गरी चेपारे पार्दै भन्नुभयो, 'बाबु, तेरो जेठबाले तँसँगै हजुरमुवालाई पठाउनु भन्नुभएको छ। यही मौकाले तैँले पनि काठमाडौँ सहर देख्न पाउछस्।'
भोलिपल्ट हजुरमुवाको कुम्लोकुटुरो तयार भए। बाटामा खान रोटीतरकारी पनि प्याक भए।
'मलाई त जेठो भए पनि कान्छो भए पनि माया उत्तिकै। ठिक छ, जेठोले बोलाए ऊ भा' ठामै जाउँला।'
हजुरमुवाले विकल्प नभएपछि भन्नैपर्यो। हजुरमुवाले कान्छा बा र कान्छी आमालाई छातीमा टाँसेर 'स्वास्थ्यको ख्याल गरेस्, सधैँ खुसी मिलोस्, सुख शान्ति मिलोस्। उन्नतिप्रगति होस्' भनेर आशिष दिनुभयो।
छोरा-बुहारीबाट केही पाउने आशा नभए पनि हजुरमुवालाई आफ्नो वंशलाई आफूसँग भएको सर्वश्व दिएको दियै गर्न मनलाग्ने। केही बाँकी नहुँदा पनि त्यति धेरै आशीर्वाद दिन मन लागेको। यो कस्तो हजुरमुवाको मायालु मन! सफा र पवित्र मन! कत्रो विशाल मन! आफ्नो चिन्ता नगरेर आफ्नो सन्तान दरसन्तानको कति धेरै चिन्ता र माया!
नाइट बसबाट बिहानै काठमाडौँको बसपार्क पुग्यौँ। जेठा बा लिन आउँछु भन्नु भएको थियो। आउनु भएन। मैले फोन गरेँ।
'बाबु, म अनकल हस्पिटल जानुपर्यो। ट्याक्सीमा लिएर आइज है।'
जेठा बाको घर पुगियो। जेठा बाको घर त झन् विशाल रहेछ। राजधानीका सबै सरसुबिधा, ऐसआराम र सजावटले भरिपूर्ण। जेठी आमा बाहिर आएर हजुरमुवालाई ढोगी टोपल्नुभयो। कर्तव्य पूरा गरेजस्तो मात्र लाग्यो। मुहार ठुस्किए झैँ, खुसी नलागे झैँ व्यवहार देखिन्थ्यो। जेठा बा त घर भित्रबाट पो निस्कनुभयो।
'हस्पिटलबाट इमेरजेन्सी बोलाएको थियो। तर क्यानसिल भयो' भन्दै तल्लो तलाको कुनाकै कोठामा हजुरमुवालाई बस्ने बन्दोबस्त मिलाउनु भयो। जेठा बाको व्यवहारबाट यस्तो लाग्थ्यो उहाँले हजुरमुवालाई विवश भएर बोलाउनु भएको हो।
हजुरमुवाले यी सबै बुझेर पनि नबुझे झैँ गर्नुभएको थियो। हजुरमुवाको चाउरी परेको अनुहारले मनमा लागेका सबै दु:ख चुपचाप सहिरहनु भएको आभास दिन्थ्यो। भन्नु पनि के भन्नु? आफैले जन्माएर आफ्नो प्राणभन्दा पनि बेसी माया गरेर हुर्काएका सन्तानलाई।
कान्छा बाको घरमा जस्तै केही दिनपछि नै जेठा बा-जेठी आमाले पनि हजुरमुवाको उपस्थितिमा असन्तोष प्रकट गर्नथाल्नु भयो। उहाँहरूको मनले नचाहँदा नचाहँदै पनि बुढी हजुरमुवालाई देखभाल गर्नुपरेको जस्तो मलाई लाग्नथाल्यो। हजुरमुवालाई के थाहा बुढेसकालमा एक्ली भएपछि आफ्नै रगत आफ्नै सन्तानले पनि हेला गर्लान् भनेर।
'वृद्धाश्रममा बरू आमालाई रमाइलो हुन्छ। आफूजस्तै उमेरकासँग दु:खसुखका कुरा साट्न सकिन्छ। यहाँ त केही गर्न नभएर आमालाई बोर भएजस्तो लाग्यो,' हजुरआमाले सुन्नेगरी जेठी आमाले जेठा बालाई उचाल्दै हुनुहुन्थ्यो।
'आमालाई वृद्धाश्रममा राख्दा वरपर, छरछिमेक, नातासम्बन्ध र चिनेजानेकाले हामीलाई धिकार्दैनन्?' जेठा बाले आफ्नो विवशता जाहेर गर्दै उल्टै जेठी आमालाई प्रश्न तेर्साएर कड्किनुभयो। जेठा बाको हाउभाव हेर्दा लाग्थ्यो समाजको डरले हर हालतमा हजुरमुवालाई सँगै राख्नैपर्ने भयो।
'वरिपरिको मान्छेले डाक्टर साहेबले पनि यसो गरे भनेर कुरा काटे भने के गर्ने त?' जेठी आमाले जेठा बाको हिम्मतमा आँच आउनेगरी व्यङ्ग गर्नुभयो।
यो सबै सुनेर हजुरमुवाको मनमा कस्तो बित्यो होला? मैले हजुरमुवाको अनुहार पुलुक्क हेरेँ। हजुरमुवा खुलेर रून पनि सकिरहनु भएको थिएन। मलाई पनि यस्तरी मुटुमा बिझ्यो कि हातमा लिएको चिया कपको कपमै सेलाएछ। खानै बिर्सेछु।
यहाँ ठूला सहर- राजधानीमा त बुढाबुढीलाई मान्छे नै होइन जस्तो पो गर्दारहेछन्। संसार यो वैज्ञानिक आधुनिककरणको कतिसम्म दास भएछ त। सधैँ व्यस्त। गाउँबाट सहर, सहरबाट विदेश हुँदाहुँदै पैसाको पछि लागेर कति स्वार्थी भएछ नयाँ पुस्ता। आफ्नो रीतिरिवाज, संस्कृति, रहनसहन, बडालाई माया गर्नुपर्छ, सम्मान गर्नुपर्छ, स्याहारसुसार गर्नुपर्छ भन्ने सबै बिर्सने।
कसरी बिर्सन्छन् त्यो न्यानो काखमा स्तनपान गरेर हुर्किएको? मलाई लाग्यो जेठा बा-कान्छा बालाई हजुरमुवाले गोडा टेक्ने बनाएपछि उहाँहरूलाई हजुरमुवा चाहिएन। चटक्कै माया मर्यो। हजुरमुवालाई आफ्नो परिवारबाट अन्त कतै पर रद्दी सामान सरह मिल्काइदिन मन लाग्यो। पछि आफ्ना छोरा-नातिले पनि यसै गर्छन् भन्ने चेत मेरा जेठा बा र कान्छा बालाई कहिले आउला?
हजुरमुवाको माया लाग्दालाग्दै पनि मलाई काठमाडौँमा सधैँ बसिरहन मिल्दैनथ्यो। धन्न अहिलेसम्म मलाई कुनै नराम्रो वचन लगाउनु भएको छैन। के थाहा धेरै दिन बसेपछि त बाहरूलाई म पनि मनपर्न छोडने हो कि! हजुरमुवालाई त श्रद्धा माया नगर्ने घरमा म त को हो, को हो?
जेठा बा र कान्छा बाको हजुरमुवालाई पन्छाउने होडबाजी देख्दादेख्दै पनि मेरो आफ्नो घरव्यवहार चलाउन गाउँ त फर्किनु नै थियो। मैले जेठा बा र जेठी आमासँग गाउँ फर्किने कुरा गरेँ। हजुरमुवा मलाई आँखाभरि आँसु लिएर टुलुटुलु हेरिरहनु भएको थियो।
जेठा बा र जेठी आमा माथि कोठामा चर्काचर्की गरेर नमिठो स्वरमा कराउँदै हुनुहुन्थ्यो। मैले जेठा बाले यत्ति भनेको सुनेँ, 'कान्छाले भन्थ्यो दाइसँग सबैथोक छ। मसँग पैसाको भकारी छ र आमालाई हेर्न?'
त्यो सुनेपछि मलाई बाँकी सुन्न मन लागेन। मलाई रातभर निन्द्रा परेन। भोलिपल्ट बिहानै झकाएछु। हजुरमुवालाई म गएँ भन्ने लागेछ कि क्या हो आत्तिएर एकदमै मर्मस्पर्शी स्वरमा 'नाति बाबु!' भनेर चिच्याएर बोलाउँदा पो 'हजुर, हजुरमुवा' भन्दै ब्युँझेछु। म बोलेपछि हजुरमुवालाई ढुक्क लागेछ कि क्या हो 'ए!' भनेर चुप लाग्नुभयो।
भोलिपल्ट म बसको टिकट किन्न जानेबेलामा जेठा बाले भन्नुभयो, 'तेरो हजुरमुवालाई, तराईमै सजिलो हुन्छ। न्यानो तातो हुन्छ। कान्छा बाका लगेर छोडिदे। डाक्टरको पेसा थाहा छँदैछ। न रात न दिन, ड्युटीमा खटिनै पर्छ। म सधैँ बिजी रहन्छु। यहाँ बुढीमान्छेलाई कसले देखभाल गर्ने?'
म बसको टिकट काट्न गएँ। बसपार्कबाट फोन गरेर कान्छा बालाई जेठा बाले भनेको कुरो सुनाएँ।
'फेरि हजुरमुवालाई किन ल्याउँछस्! दाइलाई फकाइफुल्याई त्यहीँ राख्' कान्छा बाले फोनबाटै भनेपछि म झसंग भएँ जेठा बाको मति देखेर। कान्छा बालाई सोध्दै नसोधिकन पो हजुरमुवालाई लानु भन्नुभएको रहेछ।
मैले धेरै सोचेँ। विचार गर्न पाउँदा नपाउँदै दुई वटा टिकट काटेछु डे बसको।
कान्छा बाको अप्रिय जवाफ जेठा बालाई सुनाउनु जरूरत छ जस्तो मलाई लागेन। जेठा बालाई भनेँ, 'मैले घर छोडेको धेरै भयो। पहिले हजुरमुवालाई पनि लिएर गाउँ जान्छु। अनि कान्छा बा कहाँ पुर्याइदिउँला।'
यत्ति भनेपछि जेठा बा-जेठी आमाले निकै ठूलै बोझ पन्छिएर हल्का भए झैँ महसुस गर्नुभयो। हजुरमुवाको त्यही कुम्लो कुटुरो दोश्रो चोटि प्याक भए। हजुरमुवा आफ्नो कुम्लो कुटुरो र हाम्रो संवाद चुपचाप नियालीरहनु भएको थियो। के बोल्नु, के नबोल्नु धेरै पढेलेखेर जान्ने बुझ्ने भएका आफ्नै सन्तानसँग।
आउँदा लिन नआउनुभएको जेठा बा जाने बेलामा सिउसिउ काम्ने जाँडोमा पनि बिहानै प्रफुल्ल मुद्रामा ठूलै मोटरमा पुर्याउन तयार हुनुभयो। हजुरमुवालाई भरसक चाँडो बिदा गर्न जेठी आमाले पनि हँसिलो मुहार लगाएर लागिमेली गर्नुभयो।
हजुरमुवाले जेठा बा र जेठी आमालाई छातीमा टाँसेर 'स्वास्थ्यको ख्याल गरेस्, सधैँ खुसी मिलोस्, सुखशान्ति मिलोस्। उन्नतिप्रगति होस्' भनेर सदा झैँ धेरै-धेरै आशिष दिनुभयो। छोरा बुहारीबाट केही पाउने आशा नभए पनि हजुरमुवालाई आफ्नो वंशलाई आफूसँग भएको सर्वश्व दिएको दियै गर्न मनलाग्ने।
आफूसँग केही बाँकी नहुँदा पनि त्यति धेरै आशीर्वाद दिन मन लागेको। यो कस्तो हजुरमुवाको मायालु मन! सफा र पवित्र मन! कत्रो विशाल मन! आफ्नो चिन्ता नगरेर आफ्नो सन्तान दरसन्तानको कति धेरै चिन्ता र माया!
मैले बाटोमा कान्छा बाले भनेको कुरा हजुरमुवालाई सुनाइदिएँ। हजुरमुवाको चित्त त धेरै रोयो होला तर केही बोल्नु भएन। जस्तो दु:ख र संकटमा पनि नडग्ने हजुरमुवाको मुहारमा अब के गर्ने भन्ने जस्तो ठूलै अथाह चिन्ताले घेरै झैँ लाग्यो।
मैले तुरून्त भने, 'हजुरमुवा, म पनि त हजुरको नाति बाबु नै हुँ। हजुरको म प्रतिको हजुरमुवाको माया म जुनी-जुनीभर भुल्न सक्दिनँ। हजुरमुवा अब मसँगै बस्नुपर्छ। मैले मेरो बुवाआमासँग फोनमा कुरा गरेर हजुरमुवालाई हामीसँगै बस्न लिएर आउँदैँछु भनिसकेँ। बुवाआमा त यत्ति खुसी हुनुभयो कि मलाई पनि अनन्त खुसी पाए झैँ लाग्यो।'
बेलुकीपख गाउँ पुगियो। बुवा-आमाले हजुरमुवालाई ढोगेर विनम्र भई निस्वार्थ स्वागत सत्कार गर्नुभयो। हजुरआमाको असमञ्जस्यता छाएको अनुहारमा आफ्नो गाउँठाउँ पुगेपछि चमक आयो। हजुरमुवा हामीसँगै बस्न राजी हुनुभयो। यसो आफ्नो बेचेको घरतिर हेर्नुभयो। अर्कै मानिसको परिवार खुसी भएर चहलपहल गरिरहेका थिए। यत्तिकैमा फोनको घन्टी बज्यो।
मैले फोन उठाउँदा 'नाति बाबु, तेरो जेठा बाको होकि?' भनि हजुरमुवाले सोध्नुभयो।
मैले सानो स्वरले 'हैन' भनेँ।
'तेरो कान्छा बाको होकि?' भनेर हजुरमुवाले फेरि आश गर्दा त म बोल्न सकिनँ। मुन्टो मात्र हल्लाएर 'हैन' भन्ने भाव दर्शाएँ। किनकि हजुरमुवाको माया लागेर म बोल्नै नसक्ने गरी मेरा आँखाबाट बररर आँसु बगिरहेको थियो।
'नाति बाबु नरोऊ, म अब सधैँ तिमीहरूसँगै बस्छु। यसरी नरोऊ नाति बाबु' भनेर हजुरमुवा मलाई फुल्याउन खोज्दै हुनुहुन्थ्यो। मलाई हजुरमुवाको साह्रै माया लाग्यो।