आजभन्दा पन्ध्र वर्ष अघिको कुरा हो। एउटा मानसिक सन्तुलन गुमाएको मान्छे मेरो टोलमा प्रायः आइरहन्थ्यो। उसको परिचय थियो, एउटा मैलो फाटेको झोला र झोलाभित्र कहिले खाली नहुने चुरोटहरू। दाह्री र जुँगाभित्र आफ्नो व्यक्तित्व लुकाएको उसको चुरोट प्रेम हाम्रो लागि केटौले उत्सुकता बनेको थियो।
ऊ चुरोटको नशामा 'मिना, तिमीले मलाई धोका दियौ तर यो चुरोटले मलाई साथ दियो' भन्दै कराउँथ्यो। कहिले ऊ 'तुमसे तो बेहतर ए चुरोट हे, तुम दिलको जलाती हो और ए ओठको चुमता हे' भनी हिन्दीमा शायरी पनि फलाक्थ्यो।
हाम्रो घरनिरको मन्दिरमा उसले छोडेर गएको चुरोटका बट्टाहरूमा प्रेमका यस्तै-यस्तै शायरीहरू कोरिएको हुन्थ्यो। चुरोट प्रतिको उसको प्रेम देख्दा म अचम्मित हुन्थेँ। मैले देवकोटाको चुरोट प्रेम सुनेको छु, हरिभक्त कटुवालको चुरोट प्रेम सुनेको छु।
औँला चुरोटले पोल्दा पनि केवल दिलको यात्रा गर्ने देवकोटाको अस्तित्वलाई आज यो धर्तीको धुलोले चिनेको छैन, तर देवकोटाभन्दा आफ्नो प्रियसीलाई दोब्बर प्रेम गर्ने प्रेमीहरू आज पनि यो धर्तीको धुलोमा बाँचिरहेका छन्। हिजो र आज आएर म पनि चुरोटलाई प्रेम गर्न थालेको छु। यो मेरो अभिन्न मित्र बनेको छ, वा भनौँ यो मेरो नयाँ नयाँ प्रियसी हो।
हिजो राति मैले एक अनौठो सपना देखेँ। म एउटा भत्केको पाटीमा बसेर आफ्नो प्रिय चुरोट तानिरहेको थिएँ। एक्कासी आँधी जस्तो कसैको दुई हात मतिर बढ्यो र मेरो चुरोट खोस्ने प्रयास गरे। उनको लामो केश र हातमा सजिएका चुराले उनी पुरुष होइन, महिला हो भनी अनुमान गर्न मलाई कुनै कष्ट थिएन। आँधी चलिरहेको त्यो पल एउटा चुरोटको लागि चार हातको बीचमा एउटा महाभारत नै भयो।
उनी त्यो चुरोट खोसेर धुलोमा मिल्काउन चाहान्थिन् भने म त्यो चुरोट आफ्नो छातीमा लगाउन चाहान्थेँ। त्यो आगोजस्तो सल्केको चुरोटमा एक्कासी आँधीले उडाएर ल्याएको उनका केशराशी जल्यो, परालजस्तै। उनले 'आत्थु' भन्दै त्यो चुरोटलाई छोडेर त्यहाँबाट पर भागिन्।
त्यो चुरोटमा विजय प्राप्त गरी मैले त्यो पराजित महिलाको अनुहार चियाउन खोजेँ। उनी आँधीको कालो बादलमा विलुप्त भइसकेकी थिइन्, एउटा आवाज 'आत्थु' सिवाय अरु केही बाँकी थिएन। मैले सोचेँ, त्यो महिला त्यही त होला नि, जसले यो दिल जलायो। उनलाई बिपनामा नभई सपनामा थोरै जलाउन पाउँदा पनि मेरो प्रतिसोधको विजयमा म थोरै मुस्कुराएँ।
तर, यो जलाउने खेलमा म नै हारेको छु। किनकि मैले सपनामा उसको केश जलाएँ, उनले बिपनामा मेरो दिल जलाइन्। त्यो जलेको केशराशी त उनले खौरन सक्छिन्, म यो जलेको दिल न ताछ्न सक्छु न खौरन सक्छु, न मार्न सक्छु न साट्न सक्छु।
असफल प्रेमले मलाई जिन्दगीमा दुइटा कुरा सिकाएको छ। पहिलो, जिन्दगीमा नारीलाई विश्वास नगर्नू र अर्को जिन्दगीमा प्रेम हुनुभन्दा प्रेम नहुनु धेरै सुखदायी हो। आज तिमी मबाट धेरै टाढा छ्यौ। आफैलाई पोल्ने चुरोट बरु मेरो नजिक छ, तिमी त्योभन्दा पनि कोसौँ टाढा। तिमी र चुरोटमा यति फरक छ, चुरोट आफू जलेर मलाई निभाउँछ र तिमी आफू निभेर मलाई जलाउँछ्यौ। अब भन, मेरो जिन्दगीमा तिम्रो स्थान कहाँ छ?
जिन्दगीमा दुइटा चिजलाई मैले प्रेम गरेँ- एउटा तिमी र अर्को चुरोट। चुरोटप्रति किन-किन मलाई साह्रै माया लाग्दछ। तिमी चुरोटलाई साह्रै घृणा गर्दथ्यौ। मलाई थाहा छ, चुरोटको धुवाँले फोक्सोमा क्यान्सर बनाउँछ र यो शरीरको लागि विषाक्त छ। तिमी त्यसलाई यो फोक्सोको सुन्दर भविष्यका लागि घृणा गर्दथ्यो कि या तिम्रो स्थान यो चुरोटले ओगटेको हुनाले आफ्नो सौता ठान्यौ यो चुरोटलाई। जे होस्, तिमी मबाट टाढा बन्ने एउटा बहाना बन्यो, चुरोटप्रतिको मेरो प्रेम।
चुरोटप्रतिको मेरो प्रेम साँचो हो। के घाम, के पानी, के सुख, के दुःख जीवनको हरेक मोडमा यसले मेरो साथ निभाएको छ। तिमी यसको ठिक उल्टो। तिमी भने छायाजस्तो दिन हुँदा आउँथ्यो र रात हुँदा विलुप्त हुन्थ्यो।
चुरोट र तिमीप्रतिको प्रेममा एउटा कुरा के समान छ भने तिमीहरू दुवैजनालाई मैले ओठले चुमेको छु। ओठले चुम्दा दाग ओठैमा छापिनु पर्ने हो। तब त्यो चुम्बनको औचित्य हुन्छ। तिमीलाई मैले दिएको चुम्बनको दाग न तिम्रो अधरमा छापियो न कि मेरो अधरमा। तर, यो चुरोटले मेरो ओठमा एउटा यसको दाग छोड्यो, जुन दागलाई हेरेर मानिसहरू चुरोटप्रतिको मेरो प्रेम भन्छन्। म बदनाम बनूँ यो संसारमा, तर प्रेमनिसानीको गौरव जुन मसँग छ त्यो मेरो मृत्युमा पनि पखालिएर जाने छैन।
चुरोटलाई प्रेम गर्दा म जहिले नै सम्पन्न हुन्छु। तिमीलाई प्रेम गर्दा म त्यति नै गरिब। चुरोटले मलाई कहिल्यै गुनासो गर्दैन कि मलाई उचाल्ने तिम्रो हैसियत खोई? तर मैले तिम्रो पाउजुलाई स्पर्श पनि गर्न सक्दिनँ, किनकि मलाई त्यसको हिराले बिझाउँछ। तिम्रो सुनको औँठीले दुख्छ र नाकमा शीतको थोपाजस्तो चम्किएको मोतीको बुलाकीले मेरो कलेजोलाई छिया-छिया पार्दछ।
चुरोटले मलाई कहिल्यै धोका दिएन र मैले पनि चुरोटलाई कहिल्यै धोका दिइनँ। मलाई विश्वास छ, यसको प्रेममा। मेरो कलेजीको छिया र मुटुको खियामा पनि यो मेरो साथ हुनेछ, किनकि यसको उद्देश्य एष्ट्रेसम्म पुग्नु र मेरो उद्देश्य चितासम्म।
मानिसहरू भन्छन्, चुरोटमा निकोटिन र आगोसिवाय अर्थोक के छ? यो सत्य हो, जसलाई मानिसहरू जहर भनी घृणा गर्दछन्। त्यही जहरले यहाँ जहरलाई मारिदिन्छ। सर्पले टोकेको विष सर्पले नै टोकाएर निको पारेको ग्रामीण उपचार विधि मैले सुनेको छु। त्यसरी नै चुरोट सेवन गर्दा मैले यहाँ, आगोले आगोलाई निभाएको छ।
चुरोटको धेरै सेवनले अब यो कलेजी बिरामी परेको छ। ओठमा पनि लाली परेको छ। मानिसहरू यो लालीलाई रगत भनून्, म यो लालीलाई मेरो जीवनको अन्तिम श्रृंगार भन्छु। मानिसहरू भन्छन्, अझैँ मैले चुरोटसँग प्रित लाएँ, यो जीवन मेरो दुई दिनको हो। हजार दिन एक्लै बाँचेर एक्लै मर्नुभन्दा, दुई दिन बाँचेर आफ्नो प्रियसीसँगै मर्ने मेरो अभिष्ट र चाहना दुवै हो। कृपया मेरो अभिष्ट यो कसैले नखोसे म कृतज्ञ हुन्छु। यसकै आगो पिएर मलाई अन्तिम आगोसम्म पुग्नु छ।
म तिमीलाई यो पत्र लेख्दै गर्दा बौलाहा पनि साबित हुन सक्छु र यो बौलाहाको अन्तिम पत्र तिमीलाई घिन लाग्यो भने चुरोटले नै डढाएर यसलाई मारिदिनु। जे पनि स्वीकार्दै आएको छु र यो पनि स्वीकार्य छ।