सायद, मान्छेलाई दास बनाउन
सामन्तहरूले घडी बनाए
अखण्डित समयको गतिलाई
एउटा सानो वृत्तभित्र कुण्ठित गरेर
घण्टा, मिनेट र सेकेन्डहरूमा विभाजन गरे।
घडीका काँटाहरूको घुमाइसँगै
पियरेका प्रयोगशालाका कीराजस्तै
मान्छेहरू फनफनी घुम्न थाले
प्रकृतिको अविभाजित समय बाँच्ने
स्वतन्त्र जीवन कहाँ छ र
अचेल मान्छेसँग
मेरै घरको भित्तामा टाँसिएर
मैमाथि अघोषित शासन गरिरहेछ, घडी
घर, कार्यालय, बाटो र बजार
हेरक ठाउँमा म उसको निगरानीभित्र छु।
ऊ मलाई राति सुताउँछ
बिहान जुरूक्क उठाउँछ
र दिनभर यताउता कुदाउँछ।
ऊ मलाई
लाओत्सुको जस्तो शान्त र हतारोरहित
जीवन बाँच्न दिँदैन
अचेल म अन्योलमा छु
घडी मेरो हो
वा म घडीको हुँ
लाग्छ, मैले बाँधेको होइन रहेछ घडी
बरु उसैले बाँधिरहेछ मलाई
र कुण्ठित गरिरहेछ मेरो स्वतन्त्रता।
ऊ मेरो नाडीमाथि टाँस्सिएर
निरन्तर सुनिरहेछ
मेरो हृदयको भित्री आवाज
र नापिरहेछ मेरो जीवनको लम्बाइ।
राति म निदाएको बेला पनि
डुहुरे मुसाले कपडा काटेजस्तै
कुटुकुटु काटेर टुक्राइरहेछ
मेरो सिंगो आयु
घण्टा, मिनेट र सेकेन्डहरूमा।