फताङ्गेले
बारीका डल्ला पल्टाउँदा
ढिडोका डल्ला मात्र सम्झ्यो
भोको भुँडीको हल्ला मात्र सुन्यो
कर्तव्यका डल्ला मात्र देख्यो
यदि उसले
डल्लाको कापमा डलर देखेको भए
रियाल देखेको भए
युरो देखेको भए
सायद
ऊ खुसी चाहिँ नदेखी मर्थ्यो होला।
फताङ्गेले स्याउ खाँदा
स्याउ मात्र देख्यो
स्वाद मात्र लियो
रस मात्र पियो
यदि उसले
स्याउमा आइफोन देखेको भए
स्याउमा आइप्याड देखेको भए
स्याउमा म्याकबूक देखेको भए
सायद
ऊ दास भएरै मर्थ्यो होला।
फताङ्गे
गुन्द्रीमा मस्त निदाउथ्यो
फलैँचामा आनन्द झकाउथ्यो
छहारीमा मजाले सुस्ताउथ्यो
यदि उसले
गद्दावाल डस्नामा निद्रा खोजेको भए
मलमलको कुर्सीमा झपकी खोजेको भए
एअर कन्डिसनमा शीतलता खोजेको भए
सायद
ऊ अनिदै मर्थ्यो होला।
फताङ्गे
जून हेर्दै मुस्काउथ्यो
सूर्यजस्तै चम्कन्थ्यो
जुवाका जोताराजस्तै कर्तव्यबोध
खेतका गराजस्तै फराकिलो हृदय
बारीको कान्लाजस्तै अटल विश्वास
हलोको फालीजस्तै तिखो प्रेम बोकेर
ठूलो संसारभित्र
उसको अलग्गै बस्ती बसायो
नैतिकता र कर्तव्यको घर बनायो
परिवार र समाजको साम्राज्य बढायो
स्वाभिमान र आत्मसम्मानको पखेटा ओढेर
मुस्काउँदै-मुस्काउँदै
फताङ्गे बाटो लाग्यो
अनन्त यात्राको।