'काला गए गोरा आउँछन्। टेन्सन नगर विवेक। त्यही केटी अभागी रहिछे। भाग्यमा नै नभएपछि चिना मिलेर के गर्नू!'
जो आफन्त साथीभाई आए पनि यही भनेर सम्झाउनु हुन्छ।
बरू शरीर चलाउन मुटु मिर्गौला फेर्न सकिन्छ होला तर मेरो जिन्दगी चलाउन...
म निस्सासिएर उठेँ।
रातको १ बजेको रैछ। हाम्रो इन्गेजमेन्टमा उनले नलगाइदिएको औंठी मेरो हातमै थियो।
तर उषाले मैले लगाइदिएको औंठी मिल्काए हिँडेपछि मलाई न त रातको निन्द्रा न त दिनको भोक भएको छ। एकपल्ट मेरो कुरामात्र सुनेर गएको भए पनि मलाई यस्तो औडाहा भएर त बाँच्नु त पर्थेन!
फोन नउठेर के भो त मनको कुरा चिठीबाट भए पनि भन्छु। उठेर बत्ती बालेँ अनि रातको १ बजे नै चिठी लेखेँ।
...उषा
तिमीलाई के भनेर सम्बोधन गरूँ। नामको अगाडिको खाली ठाउँ आफैं भर है।
तिमीले त्यो दिन मैले लगाइदिएको औंठी फिर्ता गरेर गएपछि मैले तिमीलाई पछ्याउँदै बोलाउँदै अलिपरसम्म गएको थिएँ। तिमीले सुनेर पनि फर्केर नहेरेपछि म घर फर्कनुको विकल्प नै भएन।
उषा, म त्यस दिनदेखि आजसम्म न त दिनमा घरबाट बाहिर निस्केको छु न त रातमा निदाउन नै।
मोबाइलमा फोन गरें उठेन। मेसेन्जरमा त म कति छिटो ब्लक भैसकेछु। उषा, तिमीले जे निर्णय गरे पनि मलाई स्वीकार छ तर मलाई कुरा राख्ने मौका दिएको खै ?
त्यसैले आजकालको जमानामा पनि २० औं शताब्दीमा जस्तो चिठीको सहारा लिन बाध्य भएँ आफ्नो कुरा राख्नलाई।
उषा, यद्यपि तिमीलाई थाहा छैन तर म तिम्रो र मेरो घर परिवारको सहमतिमा नै हो विराटनगरबाट काठमाडौं तिमीलाई भेट्न गएको।
मैले तिमीलाई पहिलो पटक देख्दा नै मन पराएको थिएँ। रूप त दोस्रो कारण, आफ्नो काम गर्दा अत्यन्त ध्यानपूर्वक गर्ने तिम्रो बानी नै मलाई तिमी साह्रै मन पर्नुको पहिलो कारण हो।
म तिम्रो नजिकै आधा घण्टा बस्दा पनि तिमीले थाहा नै पाइनौ। आफ्नो काममा त्यति दत्तचित्त भएर गर्ने तिम्रो बानीले मेरो तिमीप्रतिको आकर्षण र सम्मान दुवै बढ्यो।
वैशाखदेखि कात्तिकसम्ममा म आठ पटक काठमाडौं गएँ तिमीलाई हेर्नकै निम्तिमात्र पनि।
तिमीसँग बोल्नको लागि त तिम्रो परीक्षा सकिने मितिकै प्रतीक्षामा थिएँ।
यो आठ महिना मेरो लागि आठ वर्ष जतिकै लामो भयो।
तिमीसँग इन्गेजमेन्ट भएको दिन मजति खुसी सायदै यो संसारमा कोही थियो होला। त्यसैले इन्गेजमेन्टमा बोलाउन नपाएका साथीहरूसँग खुसी मनाउन त्यो दिन उनीहरूलाई रेष्टुरेन्टमा बोलाएको थिएँ।
अल्लारे साथीहरूसँग गफमा गफ मिलाउँदा मेरो पनि अल्लारेपनका बाछिटाहरूले तिमीलाई छोएको भए माफ चाहन्छु। मलाई थाहा थियो हाम्रा गफ तिमीलाई चित्त बुझेको थिएन त्यसैले तिमीलाई एक गिलास जुस पनि धेरै भएको थियो।
तिमीलाई त्यहाँ बस्नै मन नलागेर मिनेट मिनेटमा घडी हेरेको पनि मैले बुझेको थिएँ, त्यसैले त हाम्रो बसाइलाई छिटो टुंगाए नत्र त ती केटाहरूले रातै पार्ने थिए।
मैले बाइकमा पुराइदिन्छु भन्दा पनि तिमीले म आफैं हिँडेर जान्छु भनेर हिँडेरै गयौ।
बसमा यत्रा गर्दा चिन्नु त जान्नुको केटाको कुममा टाउको राखेर निदाउने केटी देखेको यो समाजमा तिमीजस्ती संस्कारी केटीलाई आफ्नो जीवन साथी बनाउन पाएकोमा मेरो छाती गर्वले फुलेको थियो। यद्यपि तिमी हिँडेर जाँदा तिमीलाई गाह्रो भयो होला भनेर माया नलागेको होइन।
मंसिर ७ गतेको दिन बजारमा तिमी र तिम्रो ममीसँग मेरा सानिमाका छोरीहरूको परिचय गराउँदा मैले 'तिम्रो हुनेवाला भाउजु खासै राम्री छैन'भने जसले गर्दा तिम्रो चित्त दुख्यो।
तिमी आफैं विचार गर त यदि तिमी मलाई साँच्चिकै नराम्री लागेको भए महिनैपिच्छै तिमीलाई हेर्नकै लागि विराटनगरबाट धाएर काठमाडौं जान्थें होला त!
न त एक कप चियासँगै बसेर खान पाउनु न त एक वचन बोल्न नै। सिर्फ एक झलक देख्नको लागिमात्र।
माफ गर उषा! कहिलेकाहीँ मन सफा हुँदाहुँदै पनि बोली छुच्चो भइदिन्छ।
फिल्म हेर्न जाम भनें। मानिनौ। पार्कका घुम्न जाम भनें। त्यो पनि मानिनौ। ‘म त जान्नँ है कसैलाई भेट्न सेट्न,’यही भन्दै फोन काट्थ्यौ।
तिम्रो झर्काइसँगको थर्काइ यति मन पर्थ्यो कि तिमी जति भेट्दिनँ भन्थ्यौ मलाई त्यतिनै भेट्न मन लाग्थ्यो। त्यसैले काकी र फुपूहरू लिएर तिमीलाई भेट्न तिम्रो घरमा गएँ।
तिमीले हामीहरूलाई नमस्कार गर्न नपाउँदै काकी फुपूहरूले आहा कस्तो राम्रो औंठी भन्नुभयो।
मैले पनि खुसी हुँदै उहाँहरूको स्वरस्वरैमा तीन लाखको हिराको औंठी भनेछु। त्यो कुराले तिम्रो चित्त दुखेछ।
मैले फूर्ति लगाको भन्ठानिछौ। त्यसैले त तिम्रो अनुहार मलिन भएको थियो।
माफ गर उषा! मेरो उद्देश्य फूर्ति लगाउनु थिएन। नत्र त मैले उषालाई हिराको औंठी लगाइदिएको छु भनेर काकी फुपूहरूलाई पहिले नै भन्थें होला तिम्रो घरमा आएकै बेला भन्नुपर्थ्यो र!
मलाई थाहा छ, त्यो दिन मेरा काकी र फुपूका कुराले तिमीलाई चित्त दुखेको थियो तर उहाँहरूको गल्तीको सजाय मलाई किन?
मंसिर १९ गते तिमी र तिम्रो ममी हाम्रो घरमा आउँदा घरभरि आफन्त र पाहुना हुनुहुन्थ्यो। तिम्रो ममीले हाम्रो ममीसँग हजुरहरूको आफन्तहरूलाई के के उपहार चाहिन्छ भनेर लिष्ट माग्दै गर्दा हाम्रा घरमा आउनु भएका आफन्तहरूले यस्लाई यो, त्यसलाई त्यो चाहिन्छ भनेर हामीलाई लिष्ट लेख्न लगाउनुभयो। उहाँहरूको चित्त दुख्ला भनेर हामीले केही भन्न सकेनौं। जे जे भन्नुहुन्छ त्यही त्यही लेखेर तिमीहरूलाई लिष्ट बुझायौं।
आफू असल हुँदाहुँदै पनि मानिस सामाजिक खोक्रो आडम्बरको चेपुवामा कसरी पर्दो रैछ भन्ने कुरा मैले तिमीहरूलाई उपहारको लिष्ट बुझाउँदै गर्दा महसुस गरेको थिएँ।
यदि हामी तिमीले भने जस्तो उपहारको वा दाइजोको लोभी भएको भएँ हामीले पहिले नै यो यो चाहिन्छ भनेर भन्थ्यौं होला नभए मंसिर १८ गते तिम्रो घर आएको बेला त कुरा निकाल्थ्यौं होला।
तिम्रो परिवारलाई आर्थिक भार पार्ने मेरो परिवारको उद्धेश्य हुँदै होइन बरू मैले त सहयोग गर्ने सोच बनाएको थिएँ।
हाम्रा सामाजिक व्यवहार यति भद्दा भएका छन् कि तिमी भन्छ्यौ भने म कोही पनि आफन्तहरू नबोलाइकन साधारण तरिकाले मन्दिरमै बिहे गर्न तयार छु। न आउँछन् मान्छे न काटिन्छन् कुरा, नरहे बाँस नबाजे बाँसुरी!
मंसिर १९ गतेको दिन तिमीहरू चिया खाई वरी हाम्रो घरबाट फर्किने बेलामा ममी रोएको सुनेपछि मैले बिहे नगर्ने निर्णय गरें भनेर मैले लगाई दिएको औंठी फुकालेर ट्रेमा राख्दै गर्दा मैले तिमीमा महाकालीको रूप देखें।
आफ्नो चित्त दुख्दा दुख्दै पनि आमा बाबुको खुसीको लागि मौन बस्ने छोरीहरू आमा बाबुको खुसीकै लागि उग्र चण्डीको रूप धारण गर्न सक्दा रहेछन्। तिमीजस्तै छोरीहरू हरेक घरमा जन्मिऊन्।
हाम्रो घरमा आएर हाम्रो अपमान गरेर जाँदा पनि तिमी मेरो नजरमा थप सम्मानित भयौ। बस् एक पटक फर्केर हेरेर मलाई यति कुरा राख्ने मौका दिएको भए....
अँ साँच्चै..... तिमी हाम्रो घरबाट बाहिरिँदै गर्दा एउटा डाइलग भनेकी थियौ नि याद छ कि नाइँ 'सुनलाई कसैले पित्तल भन्दैमा सुनको महत्व घट्दैन।'
तिमी सुनमात्र होइनौ सुगन्ध सहितको सुन हौ। मेरो भाग्यमा त्यही सुगन्धले जिन्दगी मगमगाउन लेखेको छ भने तिमी मेरी हुने नै छौ। यदि भाग्यमा लेखेको छैन भने माफ गर उषा तिमीले लगाइदिएको औंठी आजीवन खोल्नै छैन।
चिठीको अन्त्यमा एउटा कुरा औंठी तिम्रै हो फिर्ता चाहान्छौ भने मलाई मेरो हातमा चार वटा औंलामात्र स्वीकार्य छ।
तिम्रो जवाफको प्रतिक्षामा
होइन
तिम्रो प्रतिक्षामा
विवेक
यो पनि:
चिना मिलेर के गर्नु विचार नै नमिलेपछि!