मनमा दुखाइ थियो। मस्तिष्कमा शून्यता। धड्कन तेज। ऊ कोठामा पुग्यो। सधैं समालेर राख्ने टिफिन बक्स आज मतलबै नगरी एउटा कुनोमा फाल्यो। आफ्नो शरीर पूरै गलेको महसुस गर्यो।
जीवनमा हारेको महसुस भयाे उसलाई। आँखामा टिलपिल टिलपिल आँसु आएको जस्तो महसुस गर्यो।
नजिकै भएको सिसामा आफ्नो अनुहार हेर्यो। अनुहार हेर्दा आफैं दोषी हो कि ? भनेर धेरैबेरसम्म आफ्नै अनुहार हेरिरह्यो। दोषी हुनुको कुनै कारण नपाउँदा विगत मनमा आउन थाल्यो।एक छप्को पानी आँखामा छ्यापेर झर्न खोजेका आँसुलाई पखाल्यो।
आज आफूमात्र होइन आफ्नो कोठा, किचन, बाथरूम सबै उसको पीडासँगै रोएको अनुभव गर्यो। आज उसँग समय नै समय थियो। न खाना पकाउने हतार, न साथीभाइसँग बोल्ने मन।
आउने बित्तिकै घरमा फोन गर्ने उसको बानी पनि आज बिर्सिएकोजस्तो भयो। घरको सम्झना भन्दा पनि दिनमा कम्पनीमा पाएको पीडा उसलाई धेरै सताइरहेको थियो। आफ्नो गल्ती खोज्दै नजिकै रहेको फलामे बेडमा गएर थ्याच्च बस्यो। बोतलको पानी एकैपल्ट श्वास नलिएर पियो।
घरबाट मोबाइलमा घण्टी बज्दै थियो। उसले त्यतातिर ध्यान दिएन। सायद उसको मनमा फोनमा साँचो कसरी बोल्ने भन्ने कुराले सताइरहेको थियो।
एकलाइनको म्यासेज गर्यो। म एकछिन व्यस्त छु है। कारण चाहिँ लेख्न चाहेन। के मूड चल्यो कुन्नि अल्मारीमा भएका तालिमका प्रमाणपात्र हेर्यो उसले।
ती प्रमाणपत्रसँग कुनै रिस नभए पनि रिसाएजस्तो गरी पुनः अल्मारिमा मिल्कायो। मन स्थिर थिएन। जाडो महिना भए पनि नजिकैको एयरकण्डिसनको बटन दबायो।चिसो हावाले पनि उसको अशान्त मन शान्त हुन सकेन।
दिउँसोको घटनासँग विगतलाई तुलना गर्न थाल्यो। कैयन वर्षदेखि कम्पनीलाई दिएको परिश्रम सम्झियो। ती गर्मीमा बग्दै गरेको पसिनाको मूल्यलाई पनि नियालो।फेरि सोच्यो, कम्पनीले दिएको सुविधाभन्दा कैयन गुना पसिना बगेको थियो। जति सोचे पनि अर्को विकल्प थिएन।
सबै श्रमिकको हालतसँग आफैंलाई समाल्ने कोसिस पनि गर्यो। के गर्ने ? भन्ने प्रश्न सामुन्ने आएर उभिएको थियो। त्यो प्रश्नको उत्तर खोज्न पहिला आफू सामान्य रूपमा आउन पर्ने मस्तिष्कले सोच्दै थियो।
साँझ बितेर रातको समय अगाडि बढ्दै थियो। ऊ पनि आफ्नो अगाडि रात नै देखिरहेको थियो। रात गएर भोलि उज्यालो त आउँछ नै। उसको जीवनमा अँध्यारो या उज्यालो त्यो त अहिले नै भन्न सक्ने अवस्था थिएन। रात बित्दै जाँदा पनि चुलो जलेको थिएन। भान्सा सुनसान थियो। जताततै सुनसान।
मोबाइलको घन्टी बजिरहेको थियो। आफैंलाई समाल्ने कोसिस गर्यो। फोन धेरै आएको थियो। कैयन फोनका घन्टी बजेर काटिए भने कति आफैं काट्यो। अहिले बजेको घन्टीलाई मौनता दिँदै कानमा लगायो। आफू समान्य भएको महसुस दिलाउन खुबै कोसिस गर्यो। सफल भने भएन। हुन पनि आफ्नै श्रीमतीलाई श्रीमानको दुःख सुखका कुरा बुझ्न गाह्रो हुने कुरो पनि भएन।
उनले बिस्तारै सोधिन्, 'कुरो के हो? आज हजुर केही कुरा लुकाउन खोज्दै हुनुन्छ।'
ऊ लामो श्वास एकैपल्ट भित्र तान्यो।
'सबै बर्बाद भयो।' छोटो उत्तर उसको।
उनी एकछिन अल्मलिएर बोलिन्, 'होइन के भयाे त्यस्तो।'
अब सोचेर पनि के हुने आज नभने पनि भोलि त भन्नु नै थियो।
मन भारी बनाउँदै उसले सुस्तरी भन्यो।
'बुढी नोकरी त गयो नि।'
उसको आवाज कमजोर र अस्थिर थियो।
'ए! हो र? अनि नोकरी जाँदैमा सबै बर्बाद हुन्छ र? यत्रो समय नोकरी गर्नु त भयो नि।' माया मिश्रित स्वरमा उनले भनिन्।
उनको बोलीले जल्दै गरेको मन, मुटुमा केही शितलता पनि छायो उसको।
'प्यारी त्यो त हो तर पनि घरबाट बिदा सकेर भर्खर फर्किएको थिएँ। यस्तो अवस्थामा नोकरीबाट निकाल्नु दुर्भाग्य ठानेको छु।'
'दुर्भाग्य होइन, सौभाग्य सम्झनु अब घरतिर नै बस्नु पर्छ। अर्को नोकरी नखोज्नु होला। पैसाले कहिले पुग्छ र ? अर्काको नोकरी यस्तै हो', श्रीमतीको साथले उसको शरीरमा शक्ति उत्पन्न भएको महसुस गर्यो। लामो संवादपछि फोन काटियो।
नोकरी त गयो नै अब के गर्ने भन्ने प्रश्न घोचिरहेको थियो। काम नगरी बसी खाने अवस्था पनि त थिएन। बालबच्चाको पढाइ चल्दैथियो। उनीहरूको पढाइलाई निरन्तरता दिनु थियो। अहिलेको महंगाइमा त्यति सहज कहाँ छ र ? तर पनि अब काम पाएँ पनि परदेशमा नबस्ने निर्णय गरिसकेको थियो। कहिलेकाहीँको पीडा यस्तो हुँदोरहेछ, जुन मानिसको मूड परिवर्तन गर्न बाध्य बनाउँदो रहेछ।
धेरै सोच र विचारपछि मनमा एउटा संकल्प गर्यो। श्रीमतीसँग सल्लाह पनि गर्यो। श्रीमती पनि उत्साहित भइन्। दुवै मिली फैसला गरे कम्पनीले मृत्युदण्ड दिएको नोकरीलाई स्वीकार गर्दै आफ्नै सानो, ठूलो, मेहनतको होस् अथवा दुःख आफ्नै व्यवसाय गर्ने निर्णय गरे। जुन सीप र शिक्षा परदेशको बसाइले दिएको थियो।
आजभोलि नोकरीको मृत्युदण्ड पछि उनीहरूको आफ्नै व्यवसाय जन्मिएको छ। जसले विदेशको कमाइभन्दा सयौं गुणा सन्तुष्टि र खुसी दिएको छ। जुन नोकरीको मृत्युदण्डको परिणाम हो।