रित्तिँदै गएका सपनाका रित्ता घरहरू
अब कुर्दै छैनन् कसैलाई
बस् एक्ला-एक्लै बिताई रहेछन् दिनहरू
निस्किँदै छन् स-साना पाप्रा भएर
कुनै दिन कठोर बनेर बसेका
प्लास्टरजस्तै सम्बन्धहरू।
उड्दैछन् खुला आकाशमा रमाएर
सिमलबाट निस्किएका सिमलका भुवाजस्तै
साँच्चै! भुवामा अल्झिएको त्यो मुटु कस्को हो?
जो कसैसँग अल्झिएरै रमाइरहेको छ
जो कसैसँग छुट्टिएर बद्लिरहेको छ।
भुवामा अल्झिरहँदा उडिरहेको त्यही चिज
भुवाबाट छुट्टिएपछि
अब बद्लिनु पर्छ उसलाई
उम्रनु पर्छ
अब हुर्कनु पर्छ।
हर ठूला सपनाहरू
बच्पनमा जस्तै खुसी हुँदै
आजभोलि देख्न नसकिँदो रहेछ।