कुन सूर्यको किरण फरक?
कुन चन्द्रमाको ज्योति फरक?
केवल मानिसको रुपरंग अनि
भेषभुषा मात्र त हुन्छ फरक।
सास फेर्ने कुन बतास फरक?
कर्णालीमा बग्ने कुन रगत फरक?
नगरौँ भेद र भाव है
मरेपछि पुगिन्छ नि नरक
मानिसको जात मानिस नै हुन्छ
उसले टेक्ने धर्ती एउटै नै हुन्छ
किन मानिसले मानिसको मन बुझ्दैन?
परन्तु सबैले भोग्ने पीडा उस्तै नै हुन्छ।
न मूलको पिउने पानी फरक
कुन आँखाको हेर्ने नानी फरक?
आखिर मरेपछि जानु नै पर्छ
धर्ती छोडी परलोक।
मानिस कुन लिङ्गले ठूलो?
मानिस कुन धर्मले ठूलो?
आखिर मरणपछि त
कुन लोक, कुन थातथलो?
सफा दिलले हुन्छ मानिस ठूलो
सफा विचारले हुन्छ मानिस ठूलो
धन सम्पत्तिले कोही पनि हुँदैन
यस युगमा अब सानो र ठूलो।
मानिस कुन जातले ठूलो?
मानिस कुन पेसाले ठूलो?
बरु हुन्छ केवल कर्म अनि
पसिना र विवेकले ठूलो।
कुन मानिसको आँसु फरक?
कुन मानिसको पसिना फरक?
मानिसको जात मानिस नै हुन्छ
हुँदैन चाहने सुख फरक।
के हो जातीय विभेद?
के हो छुवाछुत विभेद?
सबै मिलीजुली अब हाम्रो समाजबाट
उन्मुलन गरौँ यस्तो विभेद।