गाउँको सरकारी स्कुलमा पढेको ममा सरकारी जागिर खाइ जनताको सेवा गर्ने ठूलो रहर सानैदेखि थियो।
बाबा आमाले सारै दु:ख गरी जसोतसो १२ सम्म पढाउनुभयो।
१२ पास गरिसकेपछि अब त आफैं केही गर्नुपर्छ भन्ने सोच मेरो मनमा आयो।
छिमेकी काका सेतो सर्ट अनि निलो पाइटमा सजिएर टक्क अफिस गएको देख्दा, हैन अब म पनि सरकारी जागिर खाई यसरी नै सजिएर अफिस जानुपर्छ भन्ने सपना देख्न थालें।
दुर्गम गाउँमा जन्मिएको म सहर बजार कहिलेकाहीँ मेला महोत्सव हेर्नका लागि बाबाममीसँग मात्र जाने गर्दथें।
एक्लै सहर जाने त के सोच्न पनि म डराउँथें। जे होला होला म सहर गएर लोक सेवा पढेर नाम निकाली गाउँ आउँछु भन्ने सोच आयो। अनि बाबालाई भन्छु भनेको त बाबा खेतमा जानुभएको रहेछ।
घरको ढोकामा भोटे ताल्चा ठोकी गुन्द्रीमुनि चाबी लुकाइ दौडिँदै खेतमा पुगें।
खेतमा बाबाले खन्दै हुनुहुँदो रहेछ, मलाई देखेर ‘होइन यो कान्छो घरमा गाई बाच्छालाई घासपानी नदिएर कहाँ हस्याँङ र फस्याँङ गर्दै यहाँ आएको छ, के भयो र कान्छा ?’
मैले भनें ‘बा अब म लोक सेवा पढ्न सहर जान्छु। पल्लो घरका काकाले जस्तै सरकारी जागिर खाएपछि त अनि तपाईंहरूले पनि यस्तो दु:ख गर्नुपर्दैन।’
बाबाले हातमा भएको कोदालो त्यही फालेर हातले अनुहारमा भएको पसिना पुछ्दै मेरो छेउमा आउनुभयो र भन्न लाग्नुभयो ‘लोक सेवा पढ्न त धेरै खर्छ लाउँछ होला नि कान्छा, के हामी गरिबले पनि पढ्न सकिन्छ र! झन् तँ त सहर एक्लै कहिल्यै गएको छैनस क्यारी जान्छस तनि, सहरमा हाम्रा आफन्त पनि कोही छैनन् कहाँ बस्छस ?’
मैले भने, ‘हैन बा लोक सेवा पढ्न तपाईंले सोचेजस्तो धेरै खर्छ लाउन्न ५,६ महिना राम्रोसँग पढे त नाम निस्किहाल्छ रे , मैले नाम निकालेर जागिर खाएँ भने त अनि हाम्रा दु:खका दिन पनि सकिन्छन्। तपाईंहरूले पनि यति सारै दु:ख गर्नु पर्दैन। उपल्ला घर काइला काकाको छोरा नि सहरमा कोठा लिएर लोक सेवा पढ्दै छन रे बरू म पनि उनीसँगै बस्छु। हिजो घर आएका रहेछन् भोलि जाने हुन रे, म पनि उनीसँगै पढ्न सहर जान्छु। तपाईंले काकालाई भन्दिनु न।’
‘हुन्छ त्यसो भए बेलुका म काइलोलाई भन्छु, अनि तिमीहरू २ जनासँगै बसेर पढौंला। अहिले तँ घर जा अनि गाई बाच्छालाई घाँसपानी दिएर घर कुरेर बस्’ बाबाले भन्नुभयो।
‘हुन्छ बा भन्दै खुसी हुँदै सपनाका पोका खोल्दै अब त म पनि छिट्टै सरकारी जागिर खाइ छिमेकी काकाजस्तै चिट्ट परेर अफिस जाने हो’ भनेर सोच्दै एक्लै हाँस्दै हाँस्दै घरतिर लागें।
‘हाम्रो कान्छाले नि लोक सेवा पढ्ने सारै रहर गर्यो। तेरो छोराले पनि सहरमा लोक सेवा पढ्दै छ रे अब २ जनालाई एकै ठाउँमा राखेर पढाउनु परो। यसो गर्दा खर्च पनि थोरै हुन्छ अनि २ जना भए भने पढ्न पनि सजिलो होला’ बेलुका माथिल्लो घरका काइला काकाकोमा गई बाबाले भन्नुभएछ।
काकाले नि बाबाको कुरामा सहमति जनाउनु भएछ।
‘माथिल्लो घर काइलाले हुन्छ भन्यो भोलि बिहानै बेसीबाट सहरका लागि बस छुट्छ रे। बिहानै उम्किएर जानुपर्छ। म यसो गाउँमा गएर कतै ऋण पाइन्छ कि खोजेर आउँछु’बाबाले घर आएर भन्नुभयो।
मैले हुन्छ भनी मुन्टो हल्लाएँ।
बाबाले गाउँमा गएर ५० हजार ऋण खोजेर ल्याउनु भएछ। अनि त्यो पैसा मलाइ दिँदै भन्नु भयो, ‘ल कान्छा अब सहर गएर राम्रोसँग पढेस्, यताउता नराम्रो संगतमा लाएर नबिग्रेस्, तैंले घरको दु:ख देखेकै छस्। के नै भन्नुपर्छ र तँ आफैं बुझ्ने भएको छस्। आफैं बुझ्छस्। अब तैंले जागिर नखाइ यो ऋण तिर्ने हाम्रो उपाय पनि छैन जसरी भए पनि छिट्टै जागिर खाएर आएस् अनि ऋण तिरम्ला। त्यस पछि त हाम्रा नि सुखका दिन कसो नआउलान र। आफ्नो शरीरको नि अलि ख्याल गर्नु समयमा नै खाना खानु ल अब राम्रोसँग सुत भोलि बिहानै जानु छ फेरि उठ्न सकिन्न।’
मैले मुन्टो हल्लाउँदै हुन्छ भनें।
बाबाले दिएको पैसा सम्झँदै अब म छिट्टै सराकारी जागिर खाइ यो ऋण तिरी बाबाआमालाई पनि सुख दिनुछ भन्ने सोच्दै निदाएँ।
भोलिपल्ट बिहानै उठि कपडा प्याक गरी हिँड्नको लागि तयारी भएँ अनि ममीले धरोबाट केही पैसा निकाली बाबाले नदेख्ने गरी सुटुक्क मलाई दिँदै भन्नुभयो, ‘बाबु राम्रोसँग जानु तिमी खाना पकाउन अलि अल्छी गर्छौं खाना समयमा नै खाने गरे आफ्नो स्वास्थ्यको ख्याल गरे’ममीको त्यो प्रेम र स्नेह देख्दै गर्दा मेरो आँखामा आँसु रोकिन सकेनन्।
मैले आँखाको आँसु पुछ्दै हुन्छ ममी भनी झोलाभरी कपडाका साथै सरकारी जागिर खाने सपनाको गह्रौ भारी बोकी माथिल्लो घरका काइला काकाको छोरा र म सहर हिँड्यौं।
प्राकृतिक सुन्दरताको गाउँ छाडी भौतिक सम्पन्नताको सहरमा जानको लागि बेसीबाट बस चढ्यौं। जता हेर्यो ठूलाठूला घर, रंगीविरङ्गी पसल अनि कमिलाका ताँतीजस्ता गाडी भएको सहरमा सरकारी जागिर खाने सपनाको गह्रौं भारी बोकी हामी आइपुग्यौं।
लोक सेवाका ठूलाठूला किताब किनी दिनरात नभनी टुप्पी कसेर पढ्न सुरू गर्यौं।
केही समयपछि लोक सेवा आयोगले विज्ञापन खुलायो। हामीले फर्म भर्यौं र पहिलो चरणको परीक्षा दियौं।
पहिलो चरणमा नाम पनि निस्कियो नाम निस्किएपछि घरमा बाबालाई फोन गरें ‘बा मेरो त पहिलो चरणमा नाम निस्कियो।’ बाबा यो कुरा सुन्दा निकै खुसी हुँदै भन्नुभयो, ‘ल कान्छा बधाई छ, अब राम्ररी पढेर दोस्रो तेस्रो चरणको परीक्षामा पनि नाम निकाल्नुपर्छ। अब त हाम्रो कान्छो पनि छिट्टै सरकारी जागिरे हुने भयो' भन्दै बाबा ममी धेरै खुसी हुनुभयो।
‘हुन्छ बा’ भन्दै मैले फोन राखी पढ्न सुरू गरें।
दोस्रो चरणको परीक्षा नजिकिँदै थियो। हाम्रो पढाइ पनि द्रुतगतिमा दौडिँदै थियो।
यसै क्रममा हामीमाथि बज्रपात आयो। २०७६ मा संघमा नियुक्ति भएका अधिकृत, सुब्बा र खरिदारलाई सरकारले प्रदेश र स्थानीय तहमा पठाएको रहेछ।
उनीहरूले हामी संघमा नाम निकालेकालाई संघमा नै जागिर खान पाउनु पर्दछ भनी सर्वोच्च अदालतमा रिट हालेका रहेछन्।
सर्वोच्च अदालतले उत्प्रेषण जारी गर्दै यिनिहरूको मुद्दाको टुंगो नलाग्ने बेलासम्म लोक सेवा आयोगले लिने शाखा अधिकृत, नायब सुब्बा र खरिदारका सम्पूर्ण परीक्षा यथास्थितिमा राख्नु भनी आदेश दियो।
उक्त सर्वोच्चको आदेशसँगै मेरो र मजस्ता हजारौं युवाको छिट्टै सरकारी जागिर खाई घरको ऋण तिरी बाबाआमालाई सुख दिने सपनामाथि भूकम्प गयो।
मेरा बाबाले जस्तै हजारौं बाहरूले छोराछोरीलाई लोक सेवा पढाउनका लागि गाउँमा ऋण खोजी पठाएको ऋण तिर्ने भाका आउन थाल्यो।
यता सहरमा मजस्ता हजारौं युवाको ऋण खोजी ल्याएको पैसा पनि सकिन लाग्यो तर अदालतमा पेसी तोकिन्छ अनि फेरि सारिन्छ। यसरी पेसी सर्दै थियो फेरि जनतालाई न्याय दिने अदालत आफैं विवादमा तानियो।
अब मेरा देशका जनता न्याय माग्न कहाँ जाने जहाँ न्याय दिन भनी बस्नुभएका न्यायाधीशहरू बेन्च बहिस्कार गर्नुहुन्छ अनि वकिल सापहरू बहस गर्न छाडेर सडकमा निस्कनुहुन्छ।
यसरी महिनौं बित्न लागिसक्यो तर अदालतमा पेसी सरिराखेको छ। आज मजस्ता हजारौं युवाको सपना अदालतको विवादमा नै हराइरहेको छ।
हजारौं गरिब युवाको ऋण काढेर ल्याएको पैसा सकिएर ऋण तिर्नका लागि भए पनि खाडी जानका लागि पासपोर्ट बनाउन लाइन बस्ने अवस्था आउन लागेको छ।
हे अदालत यी हजारौं ऊर्जावान युवालाई देशमा नै रोक्न चाहन्छौं भने छिटो मुद्दाको छिनोफानो गर्दैऊ। मेरा बाजस्तै हजारौं गरिब बाको मुहारमा खुसी देख्न चाहान्छौं भने हामी गरिबलाई न्याय देऊ अदालत छिटो न्याय देऊ।