साँझ-बिहान मजदुर गरेर बालबच्चा पाल्नेहरु
बचेराको लागि आहारा खोज्दै डुल्नेहरु
ती बासी खाना चिसो चुल्होमा तताउँदै खाने
बचेराका बा-आमालाई भोक भएर पनि कहिल्यै भोक जाग्दैन
त्यसैले मलाई
गरिबको लागि अहिलेसम्म सरकार भएजस्तो लाग्दैन।
खाना नपाई कति बाल-बच्चाहरु कुपोषणग्रस्त भए
कतिले मृत्यु वरण गरे
भोकमरीको कारणले कतिले सामूहिक आत्महत्या गरे
पाएको खाद्यान्न सरकार गोदामा सडाउँछ
दिनहुँ खाद्यन्नको भाउ बढाउँछ
गरिबी शून्य गराउने नीति लिएको सरकार
खै किन हो गरिबी तल झर्दैन
र सरकार भन्न छाड्दैन, भोकले कोही मर्नु पर्दैन।
यहाँ जनताको टाउको ओत्ने बास नहुँदा
तिमीहरु महंगा महल र आलिशान भवनमा बस्नु पर्ने
नीति र कानुनमा सुरक्षा आवासको कुरा गर्नुपर्ने
जनता गर्मीको चर्को घाम अनि कठेङ्ग्रिँदो जाडोमा
तातो घाम र शीतमुनि बास बस्न बाध्य हुँदा पनि
जनताको यस्तो अवस्था देखेर सत्ता र शक्तिमा बस्नेहरु हो
तिमीहरुलाई अलिकति जनताको लागि दया जाग्दैन?
यो अवस्था देख्दा मलाई
गरिबको लागि अहिलेसम्म सरकार भएजस्तो लाग्दैन।
नाङ्गो शरीर ढाक्न नसक्ने जनताका प्रतिनिधीले
दिनहुँ फेरी-फेरी विदेशी महंगा कपडामा अत्तर लगाउँदै हिँड्छौ
यहाँ तिम्रा जनताले
तातोमा पनि उही चिसोमा पनि उही
मेलामा पनि उही, पर्वमा पनि उही
लगाउँदा लगाउँदै नयाँ र न्याना कपडा लगाउने
रहरै हुँदाहुँदै उसको रहर पुरानो हुन्छ
पुरानो रहरले फेरि नयाँ लगाउने रहर हुँदा पनि
उसको रहर कहिल्यै भाग्दैन
जनताको अहिले सम्मको यो अवस्था देखेर
मलाई गरिबको लागि सरकार भएजस्तो लाग्दैन।।
समानताको हक संविधानमा दिने सरकार
किन गरिब र धनीको
गाँस फरक छ?
बास फरक छ?
कपास फरक छ?
शिक्षा फरक छ?
स्वास्थ्य फरक छ?
अवस्था फरक छ?
यस्तै र असमानता र विभेदको कारणले
के कहिल्यै धैर्यताको बाँध नाघ्दैन?
त्यसैले मलाई
गरिबको लागि अहिलेसम्म सरकार भएजस्तो लाग्दैन
सरकार भए जस्तो लाग्दैन।