ती काँधमा
अडेस लगाएका बन्दुकहरू कहाँ पुगे होलान्?
त्यही बन्दुकले बनाएको घाउ मेरो खुट्टामा आलै छ।
ती बाटोमा बजार्दै हिँडेका बुटहरू कहाँ पुगे होलान्?
जुन बुटले अचानोमाथि मेरा औँला राखेर च्यापेथ्यो
औँला नभएको मेरो पैतला यतै छन्
धन्न
त्यति बेला मेरा आँखा सकुशल छाडेका थियौ
धन्न
त्यति बेला मेरा कान सकुशल छाडेका थियौँ
र त आज
देख्न परेको छ तिम्रो कुरूप अनुहार
सुन्नु परेको छ तिम्रो कुरूप भाषण
तिमी लाखौँ खर्चेर बनाएको स्टेजमा उभिएर
समृद्धिको भाषण दिइरहेका छौ
म चप्पल बिना बैशाखीको भरमा उभिएर टोलाइरहेको छु
र
सम्झिन सकिरहेको छैन, त्यो बेलाको तिमी
सम्झिन सकिरहेको छैन त्यो बेलाको तिम्रो सिद्धान्त।