कात्तिक पूर्णिमाको रात देवीथान चौपारीमा मेला लाग्ने गर्दछ। नाचगान कार्यक्रम हुँदा प्रायः आधा रात बित्छ। लोक गीत प्रतियोगिताको निर्णायक समूहमा वसन्त थापा पनि परेको थियो।
मेलाको अर्को दिन बिथोलिएको निन्द्राले गर्दा वसन्तको ज्यान निकै गलेको हुन्छ। ज्यानलाई चाँडो विश्राम दिने मनसायले बेलैमाथि खाना खाएर सुत्ने कोठातिर लाग्छ। अरु बेलाभन्दा छिट्टै निदाउँछ। तर निन्द्राको यात्रालाई बाटो छेक्ने त्यहाँ अर्को तत्व सक्रिय हुन आइपुग्छ।
ट्रिङ्ग... ट्रिङ्ग... ट्रिङ्ग...!
'हेल्लो! को बोल्नु भयो होला?'
'वसन्त हो?'
'हजुर, हो नि।'
'म सन्ध्या बोल्दैछु।'
'ओहो! सन्ध्या, सन्चै छ्यौ?'
'ठिकै भनम्। मैले डिस्टर्ब गरेँ ल।'
'यो मध्यरातमा कल गर्यौ! तिमीलाई ठिक त छ नि?'
'के ठिक र के बेठिक छु भनूँ वसन्त। यस्तै छ हाल।'
'यति राति कल गर्नु, केही त पक्कै छ?'
'भयो, केही हैन। आश्चर्य नमान। तिम्रो याद आएर नि।'
'यति भन्न रातै कुर्न पर्थ्यो त? कि दिनमा अप्ठ्यारो लागेर?'
'कुन मान्छेको याद कतिखेर आउँछ, सायद यादमा तड्पिनेलाई मात्रै थाहा हुन्छ वसन्त।'
'धेरै साहित्यिक कुरा नगर न। के भन्न खोज्यौ भन। रात छिपिसक्यो, सुत्नु पर्छ।'
'निदाउनै सकिरहेकी छैन।'
'मैले त वर्षौंदेखि त्यसरी नै बिताइरहेको छु रातहरू। निन्द्रा र रातबीच ट्रम नमिलेपछि ननिदाउने रहेछ।'
'त्यसो भए अब मतिर स्थान्तरण भएको हो त त्यो समस्या?'
'खै! भगवान जानून्। सन्ध्या, सुत अब। कुनै दिन भेटेरै कुरा गरौंला नि त।'
'हुन्छ, बाई!'
मोबाइलको स्क्रीनमा कल डिस्कनेक्टेड देखायो। सँगै उसको त्यो मलिन स्वर त्यही गायब।
उनलाई सुत भन्न त भन्यो तर वसन्त आफैलाई निन्द्रा नलागेर कोल्टे फेर्दै गर्दा घडीको सुईले दुई बजे देखाउँदासम्म जागै रहे। जसको असर बिहान अबेला ब्युँझन्छ।
सन्ध्यालाई उसको भाग्यबाट खोसिएको दशक हुन लागेछ। उनी लाहुरेसँग बिहे भएर गएपछि अङ्गिकृत रुपमा लाहुरेनी बनी। उसको लोग्ने पल्टनको लाहुरे। बिहे भएको केही सालपछि उनीहरू चितवन गएर बस्न थाले। त्यसपछि ऊ झन् टाढिन पुग्छ। गाउँमै बसेको भए वारि र पारिको गाउँ हो। देख्न, भेट्न सकिन्छ। तर त्यो अवसर पनि परको कुरा हुन पुग्छ।
मोबाइल र सीमको जस्तो सम्बन्ध हुन नसके पनि त्यही माध्यमबाट उनीहरू फेरि नजिकिन पुग्छन्। उसको त्यो मध्यरातको फोनपछि कहिलेकाहीँ फोनमा गफिने बनाउँछ। उनी सुख-सुविधायुक्त सहरबाट र वसन्त पुरानै बस्तीको कुनाबाट।
उसको बिहे नहुँदा उनीहरू मनको कुरा साट्दै भन्ने गर्थे- 'हामी मध्ये एकजना मोबाइल, अर्को सीमजस्तै हुनुपर्छ। सधैँ सँगै, साथै रहने।'
सन्ध्या भन्थिन्- म सीम बन्छु र मोबाइल भित्र सीम बसेजस्तै गरी सधैँ तिम्रै दिलभित्र लुकिरहन्छु।' त्यत्तिले नपुगेर अझै भन्थिन्- 'तिमी दियो बन। म तेल बन्छु। तिम्रो साथ पाए बरु म जलिरहन तयार छु।'
वसन्तलाई त्यो वाक्य असह्य लाग्यो। अनि उसले भनेको थियो- 'कहाँ हुन्छ त्यसरी? जल्ने कुरा गर्ने हो र लाटी! म तिमीलाई जल्न दिन सक्छु? बरु यसो भन न- तिमी खोला बनेर लम्पसार सुतिरहनू। म पानी बनेर सलल बगिरहेको हुनेछु। म बगैँचामा उन्मत्त फक्रिरहनेछु। तिमी माली बनेर मलजल गर्दै स्पर्श गर्न आइरहनु।'
वसन्तको कुराले सन्ध्या मोती झैं दन्त लहर देखाएर हाँस्थिन्। उनी हाँस्दा उसको मुहार बिहानीमा घामले टल्केको हिमालजस्तै देखिन्थी। वसन्त मोबाइल र सन्ध्या सीम बन्ने रहर। सीम मोबाइलमा बसेजस्तै वसन्तको दिलमा बस्ने सन्ध्याको सपना। तेल र दियोको जस्तो सम्बन्ध बनाउने उनीहरूको इच्छा सबै फगत सपनामात्र बन्न पुग्यो। ती सबै जिन्दगीभरि खड्किरहने अधुरो सपना मात्र बन्यो।
चकमन्न अँध्यारो रात। गाउँलेहरू लगभग ओछ्यानमा सुस्ताएका हुन्छन्। त्यही अँध्यारी रातमा सन्ध्यालाई बा-आमाको स्वीकृतिमा छिमेकी गाउँको लाहुरेले जबर्जस्ती तानेर लगेको हुन्छ। उसको अस्वीकृतिको रुवाई र चित्कारले गाउँ र समाज सारालाई निन्द्राबाट जगाउँछ। सबैले सुन्छन्। तर उसको हारगुहारलाई कसैले वास्ता गर्दैनन्। कारण, उनीहरूलाई थाहा छ- सन्ध्यालाई लाहुरेले लिन आएको थियो।
मगर समाजमा यस्तो हर्कतलाई चलिआएको संस्कार र परम्पराको रुपमा स्वीकार गरिन्छ। यस्तो चलनले गर्दा कति छोरीचेलीको भविष्य अन्धकारमय बन्न पुगेको उदाहरणहरू छन्। यसबाट कति नकारात्मक नतिजाहरू पनि व्यहोरेका छन्। तर अझै यसलाई परम्परा नै मान्ने चलन छ।
लाहुरे भनेपछि छोरी-चेली दिन मरिहत्ते गर्ने समाज। र त्यसैको शिकार बनेकी हुन् सन्ध्या। कुनै जागिर नगर्दासम्म बिहे नगर्ने सल्लाह गरेका थिए वसन्त र सन्ध्याले। तर छोरीमान्छे फूलजस्तै त रहेछ। अरुले मन पराएपछि हुने। टपक्क टिप्यो, लग्यो। नभए जबर्जस्ती चुँडालेर लैजाने। मगर समाजमा हुर्केकी छोरीमान्छे राम्री हुनु पनि पिर। नराम्री भएमा झनै पिरै हुने रहेछ सायद। सन्ध्या राम्री भएकीले लाहुरेको रोजाइमा परिन् र इच्छा विपरीत जबर्जस्ती लाहुरेको लाहुरेनी हुन बाध्य बनिन्।
मावि तहको नेपाली विषयको शिक्षक हुन् वसन्त। उसको घर नजिकै छ स्कुल। स्कुल पढाउने र साँझ-बिहान घरमा सघाएर बित्ने गर्छ उसको दैनिकी। सरल व्यवहार र मृदुभाषी स्वभावले ऊ सबैको प्रिय पात्र बनेको छ।
सन्ध्याको बिहे भएपछि एक्लोपनमा हराउने वसन्त धन्नै डिप्रेसनको शिकार बनेन। संसार शून्य लाग्छ। जिन्दगी अँध्यारो लाग्छ। जिन्दगी उजाडियो भन्थे। तर विस्तारै आफ्नो मनलाई नियन्त्रण गर्न सके। डिप्रेसन हुनबाट जोगिए।
'सन्ध्यालाई गुमाएपछि केटी साथी बनाउने। बिहे गर्ने भन्ने सोच नै हरायो। बा-आमा बिहे गर भन्दा पनि अब यत्तिकै ठिक छु भन्थेँ। मैले बिहे गर्न हतार गरिनँ। बाआमाको नजरमा म अटेरी कहलिएको छु,' बाआमाको गुनासो छ भनेर सुनाउँछ।
स्कुल छुट्टी भएपछि वसन्त घरतिर जाँदै थियो। चिसो मौसम छ। उसलाई चिया पिउने मन हुन्छ। स्कुल मुनिको नास्ता पसलमा पस्छ। चिया अर्डर गर्छ। एकैछिनमा बाफ उड्दै गरेको तातो चियाको कप टेबलमा आउँछ। चियाको बाफजस्तै उसको मन पनि कता हो कता टाढा उड्न पुग्छ। त्यही बेला मोबाइलको घण्टी बज्छ। स्क्रीनमा देखाइरहेको हुन्छ- 'भूपू मायालु' र उसले कल रिसिभ गर्छ।
'वसन्त, सन्चै छौ?'
'ठिकै छु, तिमीलाई?'
'सन्चै भनम्। के छ नयाँ हालखबर?'
'ठिकै छ सन्ध्या। तिम्रो के छ खबर?'
'म हिजो माइत आएँ नि।'
'ए हो र? छोरी मान्छेलाई माइतीघर प्यारो है?'
'अनि! जन्मघर आँगन कसलाई प्यारो लाग्दैन होला र?'
'अरु भन सन्ध्या।'
'अँ सुन न वसन्त, आउने शनिबार कतै के गर्ने प्लान बनाएका छौ?'
'खासै केही छैन। किन र?'
'के हामी भेट्न सक्छौं?'
'हुन्छ! भन म कहाँ आउँ भेट्न?'
'तिमी रामपुर आऊ न ल। बाह्र बजे श्रीनगर कफी सपमा भेटौं। म त त्यहीमाथि त हो। बीस मिनेटमा झर्छु।'
'डन, हुन्छ सन्ध्या ढुक्क हौ म आउँछु।'
'राख्छु ल, बाई!'
उनी सम्पर्कबाट विच्छेद भएर गइन्। वसन्तको कानमा उनले बोलेका शब्दका मधुर बोली गुञ्जिरह्यो। उसको मन सन्ध्या भएकै तिर फुरुरु उडेर जान्छ।
अरु शनिबारको दिन अबेलासम्म ओछ्यान नछोड्ने वसन्त सबेरै उठ्छ। आमासँग दिउँसो रामपुर जाने कुरा राख्छ। अलि टाढाको यात्रामा निस्किँदाको सहयात्री होण्डा साइन बाइक धुलाम्मे भएर बसेको छ। घरको आँगनसम्म घाम झुल्केपछि त्यसलाई धुन र श्रृंगार्न थाल्छ।
पुरानै भए पनि टक्क मिलाएर लगाउने उसको बानी छ। त्यसरी नै बाइकलाई धोएर रेडी बनाउँछ। दस बजेतिर रामपुर सम्मको गन्तव्य तय गरेर निस्कन्छ।
बिहानको एघार बजेतिर रामपुरमाथि डाँडाबाट फाँट नियाल्दा कुहिरो ढुँडीको सेतो सिरकले रामपुरलाई ढाकिरहेको हुन्छ। वसन्तको जिन्दगीमा यस्तै कुहिरोले एकफेर ढाकिसकेको छ। जुन कुहिरोले उसको जिन्दगी धन्नै सडकमा पर्याएन। धन्न पागल बनाएन। जुन अवस्था उनै सन्ध्यासँगको बिछोडपछि जीवनमा सामना गर्नु परेको थियो। आज उनै भूपू मायालुलाई भेट्न वसन्त रामपुर फाँटमा झरेको छ। उसको मनमा एक खालको उत्साह छ।
साढे एघार बजे रामपुरमा पाइला टेक्छ। उसको मनमा दुई खालको कुरा खेल्छ। 'गुमाइसकेको मान्छेको पछि लागेर के मैले राम्रो गर्दैछु? सन्ध्याले मलाई छोडेर गएकी होइनन्। उसको परिवारले जबर्जस्ती छोड्न बाध्य बनाएका हुन्। एकपटक भेट्ने उसको आग्रहलाई स्वीकार्नु पर्छ।'
रामपुर फाँटलाई विस्तारै ढुँडीले छोड्दै आकाशतिर लागे। अब रामपुर फाँट खुल्न थाल्यो। मंसिरको पारिलो घाम। राम्चे वनतिर कोकोले र कोइलीको आवाजहरू बेला बखत कानसम्म गुञ्जिन आइपुग्थ्यो। वसन्तले रामतुलसी स्कुलभन्दा माथि चौतारीमा बाइक रोक्छ। बाइकमै बसेर पारि स्याङ्जापट्टि हेर्छ। कहिले राम्चे वनतिर नजर डुलाउँछ।
उसको मन घरी दायाँ, घरी बायाँ टहलिन थाल्छ। वसन्त सोचमग्न हुन्छ। उसको मनले भन्छ- 'अघिसम्म यो फाँटभरि डम्मै कुहिरो थियो। कतिखेर फाँटबाट उठेर आकाशमा सयर गर्दै कहाँ पुगिसके। मान्छेको जिन्दगी पनि त्यही कुहिरोजस्तै त रहेछ। कहिले खोज्दा पनि भेटाउँदैन। कहिले नआए हुन्थ्यो भन्दा पनि फाँटै ढाकेर अँध्यारै पारेर बस्छ। म यतिबेला यहाँ छु। भोलि कहाँ पुग्ने हो। सन्ध्या अस्ति मात्रै चितवनमा थिइन्। आज यहाँ आइपुगेकी छिन्। सुख-दु:ख र मिलन-विछोड जीवनको चक्र घुम्दा आइपुग्ने चरण रहेछ। त्यही भएर दु:ख पर्दा नआत्तिनु भनेको यही रहेछ। जो कि कुनै दिन जीवनमा घुम्दै सुख पनि आइपुग्न सक्छ।'
बाइकको छेउमा उभिएर एकान्तपनमा हराइरहेका थिए वसन्त। उसको एकालापलाई भङ्ग गर्दै पाइन्टको पाकेट तिर मोबाइलको घण्टी बज्छ। ऊ झस्किन्छ। मोबाइल निकालेर हेर्छ। स्क्रीनमा सन्ध्याले कलिङ गरिरहेको देखाउँछ। र उसले हत्तपत्त कल रिसिभ गर्छ।
'सन्ध्या, तिमी कहाँ छौ?'
'म बेझाड बजार आइपुगेँ नि। तिमी कहाँ छौ?'
'म श्रीनगर होटल नजिकै छु।'
'ए, म पाँच मिनेटमा आइपग्छु ल।'
कल डिस्कनेक्ट हुन्छ। वसन्तको मन चञ्चले बनेको छ। मुटु उफ्रिरहेको छ। ऊबाट टाढा भए पनि धेरै सालपछि मात्र सन्ध्या आफूसँग भेट्दैछिन्। र उसको दिमागमा विगतमा सन्ध्यासँग भेटेका पल, बोलेका बोली वचन, गरेका वाचाहरू सररर रिफ्रेसर भएर आइदिन्छन्।
'वसन्त!' सन्ध्याको बोलाइले ऊ फेरि पनि झस्किन्छ। उसको अगाडि सन्ध्या उभिएकी हुन्छे। निकै पातली भएकी। मुहारबाट चमक हराएकी। पहिलेजस्तो बोल्दा हिस्सी परेकी मुहार र हाँसो लुप्त भएकी। हेर्दा निराशामा गुम्सिएकी जस्ती। उहिलेको वसन्तकी सन्ध्या र अहिलेको लाहुरेकी सन्ध्या पात्र एउटै हुन्। तर आकाश पातालको फरक भेटाउँछ उसले। एकैछिनमा उसले निर्क्यौल गर्छ, सन्ध्या कुनै न कुनै समस्याको भूमरीमा फसिरहेकी छिन्।
उसको मनले जे-जे सोचिरहे पनि औपचारिकतामा कुरा बढ्छ। सन्चो-विसन्चो हालखबर आदनप्रदान गर्छन्। र श्रीनगर कफी सप भित्र जान्छन्।
दुई कप कफी आर्डर हुन्छ। कफी सप भित्रको छेउको एकान्त टेबलमा बसेका छन् तिनै पुराना जोडी। जो चाहेर पनि जिन्दगी काट्ने जोडी बन्न सकेनन्। मुखामुख गर्छन्। कसले के भन्ने? कहाँबाट मनको गाँठो खोल्ने दुवैजना अलमलमा देख्छन्। र वसन्तले खोतल्न थाल्छन् सन्ध्याको पारिवारिक जीवन र जिन्दगीका यात्राहरूको स्वर्णिम पलहरू।
दुई कप कफी आइपुग्छ टेबलमा। कफीको माथिल्लो भागमा पानको बुट्टा प्रेमको प्रतिक बनाइएको छ। कफी बनाउनेलाई के थाहा त्यो जोडी प्रेम गरेर पनि मिलन हुन नसकेका जोडी हुन् भन्ने कुरा। कफीको चुस्कीसँगै मनका कुन्तुरोहरू विस्तारै खोल्दै शेयर गर्न थाल्छन्।
सन्ध्याको लोग्ने लाहुरे दिलबहादुर राना देहरादुनको पल्टनमा ड्युटीमा छ। छोरी दिप्ती पाँच वर्षकी भई। भरतपुरमा उनीहरूले एक ताले घर बनाएका छन्। ससुरा पनि सुबेदार पेन्सनवाला हुन्। सासु-ससुरा उतै बस्नुहुन्छ। सन्ध्याको परिवारमा आर्मी शासन चल्छ। बाउ-छोरा लाहुरे भएर होला बढीजसो आदेशात्मक व्यवहार छ घरमा।
'लाहुरे लोग्ने पाएँ। बस्ने घर छ। व्यवहार चलाउने पैसा दिन्छन्। तर त्यो नै सुखी जीवन होइन रहेछ। मलाई लाग्छ जिन्दगी चलाउन त लोग्ने-स्वास्नीबीच मन मिल्नु पर्ने रहेछ। एकले अर्कोको मन बुझ्ने र दु:ख सुख बुझ्ने चाहिँदो रहेछ,' सन्ध्याको दुखेसो थियो।
छोरी दिप्ती दुई वर्षको भएदेखि नै छोरा जन्माउनु पर्छ भनेर योजना बनाएका। उसको लोग्ने कसो वर्षमा एक महिना छुट्टीमा आउँछन्। गर्भ रहेपछि जाँच गराउँछन्। गर्भमा छोरी रहेको थाहा पाएर गर्भपतन गराएको दुई पटक भइसकेछ।
'उनीहरूलाई बाउको बिँडो थाम्ने लाहुरे बनाउने छोरो चाहियो रे। गर्भमा हुर्किरहेको बच्चाको आमा त म हुँ नि। मलाई गर्भमा रहेको बच्चाको माया लागिसकेको हुन्छ। तर उनीहरूले छोरी रहेछ नराख्ने भनेपछि मैले नाई भन्ने मौकै पाएकी छैन,' आँखाभरि आँसु बनाएर सन्ध्याले दुखेसो पोखेकी थिइन्। वसन्तको मनमा कालो बादल मडारियो। बिहान रामपुर फाँटलाई ढाकेको कुहिरो ढुँडी सम्झियो। सन्ध्याको जीवन पनि उहीँ कुहिरोमा हराएको कागजस्तै भइरहेको रहेछ भनेर मन अमिलो बनाए।
कफी पिएर सकियो। तर मनको कुरा सकिएन। उनीहरू राम्चे वनतिर जाने योजना बनाए। कफी सपबाट निस्किए। सन्ध्यालाई बाइकमा राखेर राम्चे सालघारी वनको पिकनिक स्पर्टतिर लागे। पिकनिक स्पर्टको बेन्चमा सँगै बसे। आकाश खुला थियो। रामपुर फाँटको खेतहरूमा भर्खर-भर्खर गहुँले माटो ढाकेको छ। कतै तोरीले केस्रा हाल्दै पहेँलिन खोज्दैछ।
उत्तरतिर फाँट पारी स्याङ्गजाको पाखाहरूमा कतै पहेँलै तिल फुलिरहेको देखिन्छ। अझै त्यसको पछाडिपट्टि क्षितिज नजिक हिमालका लहरहरू टल्किरहेको देखिन्छन्। राम्चे वनको त्यो ठाउँबाट सुन्दर दृश्य अवलोकन गरेर रमाउने बेलामा समेत सन्ध्याको मुहारमा एक छेस्को खुसीको किरण देख्न पाउँदैन। वसन्तले सन्ध्या आफूबाट खोसिएपछि भोगेको समस्याहरूमा लगेर मन बिसाउँछ। आफ्नो त्यो बेलाको अवस्था र सन्ध्याको हालको अवस्था उस्तै पाउँछ। उसले सन्ध्यालाई भरमग्दुर सम्झाउने प्रयास गर्छ।
'खुसी मनले आफै सजिन पाउनु र कसैको दबाबमा सजिनुमा धेरै फरक हुँदोरहेछ वसन्त। मेरो जिन्दगी कहाँ के हुन्छ भन्ने कुरा अब एक/दुई पटक मेरो गर्भमा बस्ने बच्चाले निर्धारण गर्नेछ। कथमकदाचित छोरो बस्यो भने भाग्य मान्नुपर्छ। म त्यही घरकी हकवाली बुहारी भएर बस्न पाउँछु। यदि छोरी नै बस्यो भने कि मैले सौता सहनु पर्छ। कि देवघाटमा गएर बस्नु बाहेक अरु विकल्प छैन। बरु उतिबेलै एसएलसी पास हुने बित्तिकै तिमीले जाम् भन्दा गइहाल्नु पर्ने रहेछ वसन्त। मलाई पछुतो लाग्दैछ अहिले।'
सन्ध्याले भक्कानो छोडेर रुँदै अङ्गालो मारिन्। वसन्तले पनि मन थाम्न सकेन। आँसु रोक्न सकेन। वसन्तलाई आफ्नो मनलाई सम्हाल्ने कि सन्ध्यालाई सम्हाल्ने धौ हुन्छ।
'पछुताएर हुने केही छैन। चुप लागेर नबस सन्ध्या। भोलि के हुन्छ कसैलाई थाहा छैन। जे हुनेछ, राम्रोको लागि हुनेछ। तिमी कमजोर नबन। नारीको शक्ति आवाज हो। यदि तिम्रो परिवारले नारी हिंसाको व्यवहार गर्छ भने जीवनभरि चुप लागेर बस्ने कि विद्रोह गर्ने भन्ने कुरा तिमीमा भर पर्छ। सधैँ चुप लागेर बस्नु पनि कायरता हो। भोलिको दिनमा जे पर्छ समयले बताउने कुरा हुन्। वनको बाघले भन्दा मनको बाघले खायो भने अगाडि बढ्न सक्दैन। मनको बाघबाट डराउने बानी हटाउनु पर्छ। तिम्रो जमिसकेको घरबार बिग्रिन हुन्न।
एक असल नारीले सिङ्गो घर उज्यालो बनाउछिन्। तिमी त्यो घरकी असल नारी हुन्। बुहारी हुन्। तिम्रो धर्म नछोड। आफू खुसी रहेर परिवारका सदस्यहरूलाई खुसी राख्न सक्ने क्षमता तिमीमा छ। तिमी सफल हुने छ्यौ। परि आएको खण्डमा साथ सहयोग दिने म छु। तिमी हार्न हुन्न। तिमीले जित्नु पर्छ। तिमीले जित्छ्यौ सन्ध्या।'
वसन्तले आदर्शको ढाडस दिँदै गर्दा व्यवहारमा समस्या भोगिरहेकी सन्ध्याको मनसम्म कतिको पुग्न सक्यो त्यो सन्ध्यालाई थाहा हुने कुरा हुन्। सन्ध्याले धेरै समयदेखि वसन्त सँगसँगै बसेर मनको कुराहरू सटासाट गर्ने समय खोजिरहेकी रहिछ। कहिले समयले साथ नदिएर। कहिले वसन्तले मेरो कुरा कहाँ सुन्छ होला र भन्ने डरले ती चाहनाहरूलाई दबाएर राखेकी थिइन्।
यसपालिको भेटमा दिल खोलेर मनको कुरा शेयर गरिन्। मन हलुङ्गो पारिन्। वसन्तले पनि जिन्दगीमा आइपर्ने समस्याहरूको हल कसरी गर्न सकिन्छ भन्ने कुराहरू सिक्ने मौका पायो। र उनीहरू चखेवाको जोडीजस्तै दिनभरि सँगै बसेर मनका कुराहरू खोले। दु:ख-सुखका बात मारेर साँझ पर्ने बेलामा दोबाटोबाट छुट्टिएर आ-आफ्नो बाटो समाएर गन्तब्यतिर लाग्छन्।