आजकाल पाइलाहरू
बाटैपिच्छे ठेस लाग्छन्
पहिले उसले दबाइ लाइदिन्थी
अधर खोलेर औँला नठोक्किए पनि
तर
ठेस बनेकी छे ऊ
आजकाल प्रत्येक पाइला ठोक्किने
जब ठेसमा ठोक्किन्छन् मेरा औँला
र बग्छ रगत।
लाग्छ,
औँलाबाट रगत होइन
उसका आँखाबाट आँसु बग्छ।
तपाईं अँध्यारोमा देख्नु हुन्छ नि
माथि आकाशमा चम्किला ताराहरू
तिनीहरूको प्रकाश उसले छोडेर गएको
अलिकति बन्धकी माया हो मेरो
त्यही भएर अलप हुन्छन् दिवामा तिनीहरू।
नपत्याए हेर्नुहोस् त
उसका लागि आँखै रित्याएर
कति बगाएँछु आँसु मैले
आज त्यो आँसुको जीवाश्म
यहाँका साना खोलामा होइन
ठूल्ठूला नदीमा भेटिन्छ नुनिलो आँसु
आजकाल म ऊ... त्यो रुखजस्तै सिक्रो छु
मैले माया गर्ने चिल्ला र कलिला पातहरू
सप्पै-सप्पै उसैले लुटेर गएकी छे
म नाङ्गिए पनि खुल्ला किताबजस्तै बनेको छु आजकाल
त्यही भएर अचेल पढ्दै बस्छे ऊ
मेरो नाङ्गो पीडाको प्रेमकथा।
कहिलेकाहीँ मन्दिरमा जम्काभेट हुन्छ
कहिले उसको र मेरो
कहिले मेरो र उसको
जब म चोखो प्रेमका नाउँमा
उज्यालो दीप जलाउँछु
ऊ निभाउँदै हिँड्छे
र उसका वर्तमान प्रेमीहरूका नाउँमा
बाल्छे मैलेजस्तै दीप
तर म निभाउँदिनँ
उसले सल्काएका दीप
बरु भरिदिन्छु कहिले ननिभ्ने वर्तन।
तपाईं-
हाम्रो मन्दिर जानु भएको छ भने
त्यहाँ देख्नु हुनेछ
निभेका र बल्दै गरेका दीपहरू
निभेका दीपहरू मेरा हुन् भने
बलिरहेका दीप उसका हुन्
मेरा दीपहरू कहिल्यै बल्न सकेनन्
तर उसले सल्काएका दीपहरू
कहिल्यै ननिभ्ने बनाइदिएको छु मैले।
अनि त्यहीँबाट निस्कन्छ पवित्र सुगन्ध
त्यही अवशेष प्रेमको बासना
विडम्बना!
मेरो नाकमा सुगन्धित भएर आउँछ भने
उसको नाकमा कलबिख दुर्गन्ध भएर आउँछ।
आजकाल चौतारीका बिसौनीहरू
पहिले फूल बिछ्याएजस्तै
मुलायम र सुन्दर थिए हामी बस्दा
आजकाल त्यस्ता छैनन् ती चौतारीहरू
चौतारीका छप्पडहरू
ताता छन् भुङ्ग्रोजस्तै
जहाँ मेरो निर्मल मायाको चिनोमा
विष भरिएर उम्लिन्छ ढुङ्गामा पनि उसलाई।
त्यसैले चराहरूले पनि
दुई खालका गीत गाउन थालेका छन् चौतारीमा
ऊ गएका बेला प्रेम विजयोत्सवको
गीत गाउँछन् भने
म गएको बेला अतीत अप्रेमको
शोक गीत गाउँछन्।