एक्कै साथ आउँछन्
रून्चे बिरालो
बिरही गीत
अँधेरी रात
र तिम्रा यादहरू
म
तर्साएर बिरालो खेदाउँछु
ब्याट्री झिकेर रेडियो निभाउँछु
आँखा चिम्लेर रात निभाउँछु
तर यादहरूलाई के गरूँ?
लाग्छ अब केही आरपार गरूँ
यादहरूको व्यापार गरूँ
बटुलौं तिम्रा मधुर वाणी
मदहोशी नजर
कोमल स्पर्श
र मिठा वाचा
र मिसाऔं तिनमा
मेरा दिक्दारी
लठ्ठ घडी
मृत मांशपेशी
र रूखो बर्बराहट
र राखौं लिलामीमा
सबैभन्दा सस्तो
तिम्रै बोल भए नि
तिम्रै जिम्मा लगाउन मन छ
लिलामीको पुरस्कार
के तिमी आउनेछौ
यादहरूको खातको लिलामीमा?