सबै नेता चोर हुँदैन
सबै चोर नेता हुँदैन
तर जुन नेताको मनमा कालो हुन्छ
चोरको खुट्टा काट् भन्नेबित्तिकै
उसको मन झसंग हुन्छ र
स्वाट्ट खुट्टा झिक्छ
यो त केटाकेटीले खेल्ने
एउटा खेल हो
उहिले-उहिले आँगनमा खेलिने
सबै नेता माग्ने पनि हुँदैन
सबै माग्ने नेता पनि हुँदैन
जति माग्दिनँ भन्दा पनि
नेता भएपछि माग्नै पर्छ
एउटा-एउटा व्यक्तिसँग
एउटा-एउटा भोट
चुनाव जित्नलाई
सबै नेता जनता हुँदैन
सबै जनता नेता हुँदैन
त्यसैले होला जहिले पनि
मह काट्न जनता गुहार्ने
हात चाहिँ खालि नेताले चाट्ने
जबसम्म नेता जनता हुँदैन
महल र झुप्रोमा फरक देख्दैन
पजेरोले खाली खुट्टा देख्दैन
भोजभतेर रिसोर्टले भोको पेट देख्दैन
सुखसयलले गरिब-दु:खीको आँसु पुछ्दैन
तबसम्म जनताको निम्ति
सबै नेता त चोर हुँदैन
तर
चोरको खुट्टा काट् भन्नेबित्तिकै
स्वाट्ट खुट्टा झिक्नेलाई के भन्ने?