तँलाई कति झर्को लाग्दो हो है, मैसँग फर्किनु पर्ने
अरु मस्त निदाइरहेको बेला मनमा के कुरा खेलिरहेको छ, सुनिदिनु पर्ने
आज साह्रै चिसो छ, न्यानो कपडा ओढेर आराम गरिहाल्छु भन्न पनि नपाउने
बिहान सिरक छोड्नै मन भएन भनेर पनि नपाउने
तँलाई यति साह्रै कसैले प्रयोग गर्दा झर्को लाग्दो होला है?
तँलाई कति गाह्रो छ, देब्रे कोल्टेलाई भेट्न पनि पाउँदैनस्
आफैंदेखि भागेर पनि सुख छैन
भागेर जाने ठाँउ पनि छैन
तँलाई कति दास बनाएका है,
यी बिलौनाहरु कसैलाई पोखेको छस्?
अरुको आँखा रसाउँदा काँध थाप्छस्
आफ्नो काँध कहिले बिसाउन पाएको छस्?
तँ मलाई यति विवश कसरी बनाउन सक्छस्
म तँलाई नभेटी कुनै रात सोच्न पनि सक्दिनँ
म उनको यादमा हुँदा पनि तँ मसँगै हुन्छस्
म उनलाई भन्छु भनेर सोचेको कुरा उनीभन्दा पहिला थाहा पाउँछस्
तँलाई थाहा छ? तँ सबैभन्दा धेरै झुण्डहरुको बीचमा भएर पनि एक्लो छस् नि
तँ सबैसँग छस्, तर कसैसँग छैनस्
तँलाई कहिले निद लागेको छैन? अनि भोक-प्यास नि?
साथले मात्रै जीउन कसैले तँबाट पाठ सिकोस्
तँलाई कहिलेकाहीँ घमण्ड लाग्दो होला है
मबिना कोही पनि बाँच्न सक्दैन भनेर
यो घमण्ड कसैलाई सुनाएको छस्?
तँ, कसैलाई सुनाउँदैनस् र त तेरो आजसम्म कसैले खुट्टा तान्न सकेको छैन
मजस्तै एक्लै अन्धकार रातलाई पर्खिरहेको कोल्टे
आजकल निकै प्यारा लाग्न थालेका छन्
मैसँग फर्किदिन्छन्, मेरै सास फेर्छन्,
अनि मेरो कसैले नसुनेको मनको कुरा सुनिदिन्छन्
धन्न कोल्टे, म कसैलाई सुनाउन नसकेको याद, भाव, पीडा
सबै तँलाई सुनाउन सक्छु, र त तँ मेरो यति करिब छस्।