सूर्य रातो मझेत्रोले आफूलाई छोप्ने प्रयास गर्दै थियो। जाडो याम झमक्कै साँझ नपरे पनि घाम मधुरो भैसकेको थियो। चराका बथानहरु आ-आफ्नो बास तिर फर्किंदै थिए। र घाँसका भारी बोकेका गाउँलेहरु नि छिटो-छिटो पाइला चाल्दै गाउँतर्फ फर्कंदै थिए!
आफ्नो तौलभन्दा दुई गुणा ठूलो घाँसको भारी बोकेर सानी आफूभन्दा दोब्बर ठूलो उमेरका दिदीहरुको पाइला पछ्याउँदै थिई। तर सानीका साना पैतालाले जतिसुके छिटो हिँडे पनि ऊ तिनीहरुभन्दा धेरै नै पछि परिसकेकी थिई।
'ए... सानी, चाँडो हिँड् रात पर्यो!' ठुली-काइली दिदीले बोलाइन्।
सानी स्वाँ-स्वाँ श्वास फेर्दै थाकेकै स्वरमा भन्छे, 'जाऊ दिदी, म एकछिन भारी बिसाएर आउँछु।'
ठुली-काइली दिदी खरो स्वरमा भन्छिन्, 'बाघले खाला अहिले! यति फिस्टी छे, भारी भने हामीभन्दा धेरै बोक्नु पर्छ!'
'चुप्, नहेप्। तँलाई थाहा छैन यसकी त्यो चढेकी कान्छी आमा कस्ती छे? यति मरी-मरी काम गर्दा नि जस दिँदिन!' पल्ला घरे काकी ठुली-काइलीलाई कराउँदै भनिन्।
'आफू दिनभरि गाउँ डुलेर हिँडछे, सौताको छोरीलाई चाहिँ यत्रो काम अह्राउँछे!' यस्तै कुरा गर्दै घाँसका भारी बोकेका गाउँलेहरु ओझेल हुँदै गए।
दिनभरिको भोको शरीर र थाकेको ज्यानले सानीमा न तागत बचेको थियो न त जाँगर नै।
डाँडाको काखमा जंगलको छेउबाट सिउँदो काट्या झैँ सानो बाटो गाउँ तिर लामो गरी तेर्सिएको थियो। घाम मधुरिएसँगै सानीको मनमा डर पसेर आयो। सानी हतार-हतार बाटोको धुलो उडाउँदै गाउँ तिर लागी।
उता सँगै घाँसी गएका साथीहरु फर्कँदा नि सानी नफर्केको चिन्ता लिँदै बेलबहादुर बाटो कुर्दै बस्छन्। उसको पहिलो मायाको एक्लो चिनो थिई सानी। कान्छी आमा भने बेलबहादुरलाई दिउँसोको रिसमा झपार्दै टर्रो स्वरमा भन्छे, 'गै होलि मावल, कहाँ जन्छे र नखरमाउली! अलिकति केही भन्न हुन्न माहारानीलाई!'
'भो धेरै नकरा, तेरो नि बोली ठिक छैन। देखिसक्दिन विचरीलाई!' सानीका बाले भने।
रिस उठेपछि पल्ला गाउँको मामाको घर जाने सानीको बानी थियो। यसरी नै आमा बितेपछि सौतेनी आमाको काम र गालीबाट बिसाउन कसैलाई नभनि ऊ मामाघर जाने गर्थी।
सानीका बा छोरी उतै गई होलि ठानेर ढुक्कसँग बसे। तर बिहानीपख विद्यालय जाने समयमा नि सानी नआएपछि उसको बा बेलुका सदरमुकामबाट फर्किंदा आफै छोरीलाई लिन जाने निधो गरे।
'ए सुन् त, आज आउँदा म उता पसेर आउँछु अलि ढिलो हुन्छु।'
नाक खुम्च्याउँदै कान्छीआमाले भनिन्, 'लु लु, जेसुकै गर।'
सानीका बालाई दैलोमा देख्नासाथ सानीका मामाले 'भिनाजु दर्शन, बस्नुस् न' भन्दै सुकुल बिछ्याए।
'ए सुन त, यहाँ हेर त भिनाजु आउनु भएको छ खाजा लेराऊ त।'
भान्साबाट भुटेका मकै-भट्टसँ र भर्खरै पारेको मोइ लिएर सानीकी माइजू आइन्। मझेत्रोले शीर छोपेर भिनाजुलाई ढोगिन्।
मकैका दाना टोक्दै सानीका बाले सोधे, 'अनि सानी खैत?'
मामा- भान्जी त आएकै छैन त!
'हो र?' चकित भावमा सोधे।
सानी मामाको घरमा नि नभएपछि उसको बा त्यहाँबाट एकैछिनमा निस्के र गाउँमा खोजे। गाउँलेबाट पनि 'छैन त सानीलाई देख्या' भन्ने शब्द दोहोरिन थाल्यो।
सँगै जंगल गएकी ठुली-काइली दिदीले भनिन्, 'हिजो सँगै आउँदा जंगलको बाटोमा दिदी तिमीहरु जाऊ, म एकछन थकाइ मारेर आउँछु भनेर त्यही बरको बोटतिर बसेकी थिई त? अझै आइन र?'
थाकेको स्वरमा सानीका बाले 'छैन' भने।
दोस्रो दिनको रात...
गाउँका रामे, भिमे, हर्के सबैले 'अब गाउँमा हैन, जंगलमा खोज्नु पर्छ' भनेर सल्लाह गरे। एक टोली माथ्लो गाउँ र एक टोली जंगल तिर लागे। सानीका बा पनि मनमा कुरा खेलाउँदै भने 'मैले नि त्यसलाई समय दिन्थिनँ, सौतेनी आमाले नि पिरलेको पिरलै गर्थी। न डाँडाबाट हाम्फालेर मरी कि?'
जंगलमा पनि भेटिइन सानी। रात निकै नै छिप्पिसकेको थियो। 'काका, ए काका! चारैतिर हेरेँ है, काहीँ भेटिएन' ठुली-काइलीले भनेकै बरको बोटमा सानीका बा थकित भएर टाउकोमा हात राखेर बसेकालाई झकझक्याउँदै भिमे दाजुले भने।
दोस्रो दिन नि सानी नभेटिँदा 'बाघले खायो होला, पोइल गैहोला, कान्छी आमाले देखि सहन्थिन मारी कि त्यसैले!' यस्तै गाइगुई हल्ला चल्न थाल्यो।
'यति दिन भयो, भोलि सदर सदरमुकाम गएर सानी हराएको जानकारी दिनपर्छ प्रहरीलाई,' हर्केको स्वरमा हो थप्दै रामेले नि भन्यो, 'हो काका, त्यहीँ गर्नुपर्छ।'
एक, दुई, तीन, चार गर्दै साता बित्यो तर सानी भेटिइन। सानीका बा छोरीकै पिरले न त भोक भन्थे न त प्यास। धामी-झाक्री, प्रहरी कसैले भेटाउन सकेनन् सानीलाई।
बिहानपख गोठालो गएको रामे दौडँदै आइपुग्छ। 'काका, ए काका! सानी... सानी...' हापेको स्वरमा भन्छ 'सानी भेटिई!'
'कहाँ छे सानी?'
'त्यो जङ्गलको बीचको माउरी दोगोमा।'
सानीका बा 'हिँड् जाम्' भन्दै गोठालोलाई भन्छन्। सानीकी आमा र दुई/चार जना गाउँले उनीहरुकै पछि लागे।
सानी भेटिन त भेटी, तर कहिल्यै नफर्किने अवस्थामा।