बाल्यकालका धूमिल सम्झना धुलोको पत्रमा लुकेको पूरानो फोटो जस्तो हुन्छ। जब धुलो पुछिन्छ तब फोटो नयाँ बन्छ। मेरो पनि धूमिल फोटाहरू छन्। ऊ ती फोटाहरुको अग्रपंक्तिमा थियो। उसलाई कामको व्यस्ततामा पनि आक्कल-झुक्कल सम्झने गर्थें। सम्झनाले मन कुतकुताउने गर्थ्यो। तर ती सम्झनाहरू धूमिल भइसकेका थिए।
धेरै वर्षपछि मनको कुनै विस्मृत कुनाबाट फोटो निकालेर पुछ्दै थिएँ। सायद सम्झना दोहोरो हुन्छ। उसले पनि यो प्रहरमा मलाई कतै सम्झँदै होला। खै, किन हो! विवाह भएको तेस्रो दिनमा मलाई उसको सम्झना आएको थियो। ऊसँग भेट नभएको १९ वर्ष भइसकेको रहेछ।
म खुसी थिएँ। मेरो सम्झनाको राजकुमार मैले श्रीमानको रुपमा पाएको थिएँ। श्रीमानमा कुनै कमी थिएन, न उहाँको परिवारमा। ससुरा बा मिजासिलो हुनुहुन्थ्यो। सासूआमा कोमल। केही समयको उठबसमा उहाँहरूको मनको नाडी छाम्नसक्ने उमेर र परिपक्वता भइसकेको थियो मेरो।
समय मेरो निमित्त बलवान् थियो तर किन-किन मलाई मेरो धूमिल स्मृतिले आफ्नो श्रीमानको बलिस्ट पाखुरामा शीर अडाउन पाएको समयमा पनि नरमाइलो गराइरहेको थियो। एकछिन अगाडि मन प्रफुल्ल थियो। अर्को समय उसको सम्झनाको झिल्कोले पोलिहाल्यो। पोखराको मनमोहक सुन्दरता नमिठो लाग्न थाल्यो। सायद स्याङ्जा नजिकै भएर होला।
निकैचोटि मौकाको अवसर गुमाउन दिएकी थिएँ मैले। सायद फोटोमा निकै धुलो जम्न दिएछु। तर आज अपर्झट!
अपर्झट आश्चर्यको समय बन्यो अर्को बबुरो प्रहर। दोस्रो दिन थियो हाम्रो हनिमुनको। मेरो श्रीमान् मलाई स्याङ्जा घुम्न जाने प्रस्ताव राख्दै हुनुहुन्थ्यो। सायद कानले अमृत श्रवण गर्न लेखेको रहेछ।
स्याङ्जा बजार मेरो स्मृतिमा निकै धूमिल भइसकेको थियो। म राम्रो फोटो बनाउन सक्ने उमेरमा गएको थिइनँ स्याङ्जा। त्यसकारण अकिञ्चन फोटोग्राफरका पूर्ण भएका पाइलाहरू सम्झना खोज्दै जाँदैथियो। समयले कुरा बुझ्दै थियो मेरो। लाग्थ्यो प्रस्ताव मेरो श्रीमानको नभएर मैले आफै गरेकी थिएँ। मन हर्षित थियो।
प्रसन्नतामा मैले मेरो श्रीमानको कम्मर च्याप्प कसिने गरेर समातेकी थिएँ। म उहाँको पछि मोटरसाइकलमा थिएँ। हामी पोखराबाट मन्द-मन्द उकालो चढ्दै थियौँ तर मनमा ऊ थियो। ऊ आज कहाँ होला? के गरिरहेको होला? उसको गाउँ थियो त्यो। सायद आज गाउँ सहर बन्यो होला। ऊ सहरमा के गर्दै छ? त्यस घटनापछि उसलाई देखेको थिइनँ। ऊ केही गर्न यो संसारमा छ या छैन केही थाहा थिएन।
५२ सालको चुनावको दिनहरू थिए। बिहीबार रमाइलो लाग्ने दिनहरू थिए। हरेक बिहीबार बेलुका टिभीमा महाभारत आउथ्यो। महाभारत हेर्न म बाबा-आमासँग झगडा गरेर घरबेटीकोमा जाने गर्थेँ। बाबाको व्यापारको सिलसिलामा हामी सहर चहार्दै हिँड्थ्यौँ। सहर बसाइमा भाग्यले उसको छत दिएको थियो हामीलाई।
उसको बालापन याद छैन मलाई तर ऊसँग हिँडेको पदचाप याद छ। खोला याद छ। उकालोको सिँडी याद छ। पुतलीबजारको राजमार्गबाट पश्चिम तिर लाग्ने बाटो याद छ। बाटोको केही पर उसको घर थियो। राजमार्गको पूर्वतिर सरकारी कार्यालयहरू थिए। मलाई कार्यालय अघिको होटलमा खाएको चनाको स्वाद याद छ। चनाको मिठास अहिलेसम्म मैले अरु कतै पाएकी छैन। बिहानको तुवाँलोमा हामी हिँड्दै थियौँ। मलाई रेडियोमा गीत बजेको याद छ।
'हातमा रुमाल हल्लाउने नानीले...' लगायतका गीतहरूमा ऊ मेरो साथ थियो। मलाई उसको साथ याद छ। लाग्छ ऊ अझै सम्झनामा छ। सहर, बजारको फिरन्ते घुमाइ, होटलको नियमित यात्रामा उसको बढी उत्सुकता मेरो प्रश्न अनि उसको उत्तर याद छ।
सानो भट्टीजस्तो होटलको साहुनी राम्री थिइन्। साहुजी एक आँखाले ठगिएका थिए। साहुजीको पसलको चना उनको मायासँग मिसिएर होला हामीलाई निकै मन पर्थ्यो। चना खान जान मलाई आमाको गाली खानुपर्थ्यो। होटल सडकपारि थियो। बच्चाहरूले एक्लै सडक पार गर्न हुन्न भन्नुहुन्थ्यो आमा। हामी मान्दैनथ्यौँ। बालखा हट हामीमा प्रशस्त थियो। म बढी डराउने भएकाले उसले मलाई सँगै लैजान निकै प्रयास गर्ने गर्थ्यो। घरबाट उसले पैसा चोरेको हुन्थ्यो सायद। मलाई होटलमा आफैले पैसा तिरेको याद छैन।
५२ सालको चुनावको रौनक थियो। हामीलाई चुनाव हेर्ने रहर जागेको थियो। खेतका कान्लाकान्ला उफ्रँदै हामी अरौदी खोला पुगेका थियौँ। खोला बालखा वयका लागि ठूलो थियो। हाम्रा साना पाइलाका लागि ठूलो, गहिरो वेगवान्। ऊसँग ओरालो लाग्दा मन गद्गद् थियो। अगाडि खोला आउँदा खोलाको भयले मन अशान्त पार्दै थियो तर उसको पाउमा डरको छनक थिएन।
सधैंझै आज पनि ऊ अघि थियो। उसको पाइन्ट खुम्चाएर माथि सारिएको पाइलालाई पनि खोलाको पानीले चिसाइसकेका थियो। ऊ मलाई पनि खोलामा प्रवेश गर्न हौसाइरहेको थियो। खोलाको बीचको ढुङ्गामा खुट्टा राखेर खोला तर्न ऊ आग्रह गर्दै थियो। मलाई उसको आग्रह याद छ। म खोलाको डरले पानीमा पस्न मानिरहेकी थिइनँ। ऊ सायद भन्दै थियो पानी गहिरो छैन।
उसको सङ्केत ठूला ढुङ्गाप्रति थियो। मलाई ढुङ्गा टेकेको याद छ। ऊ सायद बालशुभा हिरोपन्ती देखाउँदै थियो। सायद मलाई प्रभाव पार्न ऊ पानीमा मात्र हिँडिरहेको थियो। मलाई ऊ पानीमा लडेको याद छ। लडेको उसलाई पानीले बगाउँदै थियो। खोलाले बगाएर उसलाई नजिकैको ढुङ्गामा ठोकाएको थियो। म रुन थालेकी थिएँ।
मोटरसाइकल भालुपहाड पुग्दा मेरो अङ्गालो खुकुलो भइसकेको रहेछ। मेरो श्रीमान् प्रतिको आदरलाई बालापनको प्रेमले उछिन्न खोज्दै थियो।
ऊ बगेको देख्दा वरिपरिका केही मानिसहरू आएर झुम्मिएका थिए। मानिसहरूले हामीलाई खोलाको किनारमा ल्याएर बाटो लागे। किनारामा उसले मलाई फकाएको याद छ। सायद ऊ त्यसबेला टाउको ठोकिएको बेहोसीमा थियो।
हामी चुनावको बुथ पुगेका थियौँ। बुथको माहोल मलाई अस्पष्ट याद छ। उसको बाबाले उसलाई गाली गर्दै हुनुहुन्थ्यो। मेरो फोटोहरू धूमिल-धूमिल छन्। अस्पष्ट छन्। ऊ गालीमा पनि हिरो देखिन खोज्दै थियो तर मलाई उसको अनुहार याद छैन।
अन्ततः स्मृति घटनाभन्दा घटनाको निचोड हुने रहेछ।
म उसको स्याक रेसको द्रस्टा थिएँ। धेरै मध्येको एक। ज्योति माध्यमिक विद्यालय मेरो दुई वर्षे स्याङ्जा बसाइको विद्यालय। मलाई विद्यालयको प्राङ्गण याद छ। बजारबाट आएको राजमार्ग छोड्दै उकालो लागेको याद छ। उकालोको बीचको चौर याद छ। आज पक्कै समयले स्थान परिवर्तन गराइदिएको होला। हरेक प्राङ्गणजस्तै।
ऊ स्याक रेसमा बुरुक्क-बुरुक्क उफ्रँदै थियो। उफ्रँदै बीचमा पुग्दा ऊ लडेको थियो। लडेपछि पुलुक्क उसले मतर्फ हेरेको थियो। धूमिल स्मृतिमा धूमिल कैद भएका दृष्य थिए ती। मलाई त्यस समयको उसको नजर याद छ।
म पनि मुखमा चम्चामाथि गुच्चा च्यापेर दौडँदै थिएँ। गुच्चा बारम्बार खसेको याद छ।
जीवनको अर्को अविस्मरणिय क्षण याद छ मलाई स्याङ्जाको। म बाबा-आमा, भाइ अनि उसको बाबा-आमा मिलेर सिनेमा हल गएका थियौँ। म आफ्नै नारी सुलभ बालापनामा थिएँ। ऊ सायद मसँग नजिक हुने प्रयासमा थियो। मायाको अर्थ बुझ्न सक्ने उमेर थिएन तर त्यसबेलाको मायाको संसार स्वर्ग थियो। त्यसमाथि बालापनाले श्रृंगारिएको थिएँ म।
सिनेमामा नायक-नायिका गीतमा नाच्दै थिए। हिरोइनलाई गुन्डाहरूले घेरेर बलात्कारको प्रयास गर्दै थिए। अर्को दृष्यमा नायक भिलेनहरूसँग झगडा गर्दै थियो। झगडाका कारणले नायक जेल पर्छ। वर्षौं जेल बसेर ऊ घर फर्केको थियो। घर पुग्दा उसको बुढी र छोरीले उसलाई नचिनेको याद छ। नायकको ज्रिंग्रिङ्ग दाह्री र कपाल याद छ। मेरा आँसु टलपल भरिएका थिए।
सिनेमा हेरेर फर्कँदा निशब्द थिएँ म। हामी सबै होटलमा खाजा खान गएका थियौँ। साहुनी पर सरेकीले साहुजीले चना लेराएका थिए। सुकेका आँसुसँग मिठो चना चिया खाएको याद छ। साहुनी म्याक्सीमा आएको याद छ तर साहुनीको अनुहार याद छैन।
ती दुई वर्षमा सायदै कुनै दिन थिए हामी एकअर्कासँग नभेटेको। ऊ मेरो प्रत्येक स्मृतिको साथी थियो।
भालु पहाडको छेउमा पुगेर मोटरसाइकल रोकियो। हामी पहाड चढ्न लाग्यौँ र दृष्य गमन गर्न लाग्यौँ। हामी आएको सडक कहालीलाग्दो सुन्दर भिरसँग बग्दै हामीले रोकेको मोटरसाइकलसँग मोडिएर पहाडको अर्को कुना बग्दै थियो। मेरो श्रीमान् चाउचाउ, चिप्स निकाल्दै हुनुहुन्थ्यो। एक मन वनभोजमा थियो। अर्को मन व्यग्र थियो उसको गाउँघर पुग्न।
श्रीमान् मलाई मायालु नजर लिएर स्प्राइटको बोत्तल दिँदै हुनुहुन्थ्यो। उहाँलाई मेरो व्यग्रताको आभाष थिएन सायद। उहाँ मायामा मदहोस् हुनुहुन्थ्यो। नयाँ प्रेम थियो हाम्रो, नयाँ विवाहको जोश अनि नव विवाहपछिको सुन्दरता हामीसँग अझै थियो। ती विवाहका गाढा श्रृङ्गार, नयाँ कपडा, नयाँ भावना, नयाँ चाहना हरेक पुलकित थिए। समय स्फटिक थियो। मेरा लागि व्यग्र दौडँदै थियो। कतै द्धिविधा थियो अनि कतै दोषी अनुभव पनि। उहाँ मेरो काखमा मेरो सुन्दरता वर्णनमा व्यस्त हुनु हुन्थ्यो। म पनि मुस्कानमा थिएँ।
कुनै रातको प्रहर थियो म मेरो फेसबुक चलाउँदै थिएँ। एक केटाको फ्रेण्ड रिक्वेस्ट आएको रहेछ। सुन्दर ईन्जिनियर केटो। फ्रेन्ड रिक्वेस्ट स्वीकारमात्र के गरेको थिएँ उसको प्रश्न आएको थियो।
'हेलो!'
ती दिन म वयस्कको मौजले लिप्त भए पनि एक्लै थिएँ। तर म केटाहरूलाई त्यसै बेवास्ता गर्ने गर्थेँ। अर्को प्रहर अर्को प्रश्न आयो।
'व्यस्त?'
मलाई कुरा गर्न मन भयो। मेसेज लेखेँ, 'हजुर।'
सिरक ओडेर सुतेँ।
अर्को रात पनि उसको म्यासेज आयो।
'आज कुरा गर्छौ भन्ने आशा छ।'
'गर्छौ?' म प्रश्न गर्दो भएँ।
'साथीलाई किन तपाईं भन्ने?' ऊ सायद हौसियो।
'म कहिले साथी भएँ?' पुन प्रश्न गरेँ मैले।
'हिजो।'
'फेसबुकमा मात्र हो,' मेरो उत्तरको सिलसिला भइरह्यो।
'जहाँको भए पनि साथी साथी नै हो,' ऊ भन्दै थियो।
मलाई रमाइलो लागे पनि उत्तर दिने सुरसार गरिनँ। फेरि व्यस्त भन्ने प्रश्न आयो।
'हजुर।'
'प्रगतिशील मान्छे सधैँ व्यस्त हुन्छन्,' ऊ हार मान्ने पक्षमा थिएन।
'तिमी प्रगतिशील छैनौ त्यसो भए?' मैले सोधेँ।
'मेरो प्राथमिकता फरक छ। मान्छे कहिल्यै व्यस्त हुँदैन।'
'होस गरेर प्राथमिकता बनाऊ,' मैले फेरि भनेँ।
'म प्रस्ट छु मेरो प्राथमिकता के हो।'
'के?' प्रश्न सोधेँ मैले।
'तिमी।'
मेरा आँखा ठूला-ठूला भए।
'एकै कुराकानीमा धेरै कुरा भन्यौ।'
'मसँग समय छैन,' ऊ भन्दै थियो।
'किन?'
'घरमा बा-आमाले बिहेको कुरा गरेर हर भेट समस्यामा पारिदिनु हुन्छ।'
'समस्यामा नपरन त। बिहे गरिदेऊ,' मैले सुझाब दिएँ।
'चाहेको मान्छेले माने त गर्थेँ।'
'मनाउन त चाहेको मान्छेलाई,' भनेँ मैले।
'त्यही त गरिराछु।'
हल्का गरम भएँ म। फेरि मेरा पनि समस्या सम्झेँ। उस्तै थिए उसका जस्तै। मलाई पनि आफ्नै घर-परिवारबाट बिहेको चाप थियो। २८/३० वर्षमा सबका दिन आउँछन्। तर हरेक दिनजसो आउने प्रस्तावमा म लायकको पाइरहेको थिइनँ। सायद म उसलाई खोजिरहेको थिएँ। त्यो सानो बच्चा आओस् मलाई लिन। ऊ ठूलो भइसक्यो होला। तर म सानो बच्चा खोजिरहेको थिएँ। अर्को दिन फेरि मेसेज आयो।
'व्यस्त?'
'हल्का,' उत्तर लेखि पठाएँ।
'हजुरबाट हल्का पुगेछौ। छिट्टै छैनमा पुग्छौ।'
'ब्लक पनि हुन सक्छ,' म चेतावनी दिदै थिएँ।
'त्यो नहुनेको प्रत्याभूति दिन्छु म।'
'आत्मविश्वास?' म प्रश्न गर्दो भएँ।
'हजुर भन्ने मेरो पालो।'
'मलाई मेसेज नगर।'
म अनायसै रिसाएँ। यसै रहरहरू रिसमा परिणत भएछन्। कामको थकानले पनि होला सायद। तर कामपछि त म रोमाञ्चतामा रमाउनुपर्ने! कुनै केटाले फ्लर्ट गर्दा म खुसी हुन पर्ने? तर म? म फरक रहेछु हरेक युवतीजस्तै।
उसको सन्देश आउन छोड्यो। ऊ अनलाइन हुन्थ्यो तर मलाई सन्देश पठाउन छोड्यो। निकै दिन बित्दा पनि उसको सन्देश मबाट टाढा भइरह्यो। थाहै नपाइ म उसको अनलाइन भए नभएको हेर्ने भइसकेछु। सायद महिना दिन पुगेको थियो सन्देश आयो।
'मैले मेसेज गरिनँ' ऊ भन्दै थियो।
'धन्यवाद!' मैले भने।
'म तिमीलाई भेट्न चाहन्छु,' ऊ भन्दै थियो।
'किन?' मैले प्रश्न सोधेँ।
'बिहे गर्न।'
'जेपिटी!'
'ल ल, बिहे नगर्ने,' ऊ भन्दै थियो, 'तर भेट्ने।'
म चुप लागेँ। केही दिन ऊ पनि चुप लाग्यो। अर्को दिन ऊ लेख्दै थियो।
'बिजी केटीलाई भोलि म तिम्रै अफिसमा भेट्न आउछु।'
'नआऊ,' म डराएँ।
'ल ल, भोलि आउदिनँ' उसले डर बुझ्यो सायद फेरि लेख्यो, 'पर्सी आउँछु।'
म डर र खुसी मिसाउँदै सुतेँ। पर्सी आयो। ऊ आउने दिनसम्म मेरो अपेक्षा आकासिएको थियो। सायद म उसको आगमन कुरिरहेकी थिएँ। बारम्बार म अफिसको ढोकातिर हेर्दै थिएँ। दिन ढल्दै थियो। ऊ आएन। दिनभर प्रतिक्षाको आवेगले मन द्विविधामा थियो। आवेग निराशाको चिसो मिसाउँदै थियो। ऊ आएन। म घर फर्कने तरखर गर्दै थिएँ। ऊ आएन।
स्कुटरमा बस्नलाग्दा एक पुरुष मेरो आगमन कुरिरहेको रहेछ गेटमा। सायद दिनभर थियो ऊ त्यहाँ। ऊ कुरेर बसेको रहेछ। त्यो दिन कफी हाउसमा हाम्रो पहिलो भेट भयो। क्रमशः अरु भेट भए। छोटो समयमा ऊ मेरो घर आयो। उत्तिकै समयमा हाम्रा परिवारहरू भेटिए। साँच्चै हतार भएको रहेछ उसलाई। मेरो परिवारलाई पनि। हाम्रो प्रेम विवाह हो कि मागी विवाह म छुट्याउन सकिरहेकी थिइनँ। छैन आजसम्म। परिवार र समाजले स्विकार्यो हामीलाई। ऊ तपाईं भयो। मेरो श्रीमान भयो। ऊ खुसी थियो मजस्तै।
पहिलो दिनको सुस्कान म आज उहाँको अनुहारमा देखिरहेकी थिएँ। उहाँ मेरो काखमा मस्त सुतेर मेरो स्पर्शमा पुलकित हुनुहुन्थ्यो। भालु पहाड सुन्दर थियो। मलाई थाहा छ किनकि मेरो मन पनि उस्तै थियो।
अर्को दिन हामी कुटीमा थियौँ। कञ्चन अविरल जल प्रवाहले विक्षिप्त मन्दिर शीतल थियो। चिसानको रुझानयुक्त स्थान थियो। एकान्तमा मग्ध कुटीहरू कुनै शिद्धसँग विनोद प्रिय थिए। जोगीका कुटीलाई देब्रे बनाएर सिँडीहरू उक्लिन्थे। सिँडीको उकालो चढ्दै हामी पुतलीबजार जान्थ्यौँ। साँझ सहरको रमझम हेर्ने रहर हुन्थ्यो। सहर घुम्दा उसले मेरो हात समाएको याद छ। मलाई उसको चाल याद छ।
टिभीमा ऊ मसँग हुन्थ्यो। भीष्मले प्रतिज्ञा गरेको बेला ऊ मसँग थियो। सायद समयले नबुझेरै चिरायू याद थोपारिदिएर प्रतिज्ञा गर्यो मसँग। कहिलेकाहीँ टिभी हेर्दाहेर्दे म डराउथेँ। राक्षस भयंकर थिए ऊ बेला। मलाई डरले उसको छातीमा शीर लुकाएको धूमिल याद छ।
बजार पुग्दा म झसंग भएँ। उसलाई अन्तिम पटक भेटेको स्थान आएको थियो।
हामी प्यारा साहुजी काकाकोमा जाँदै थियौँ। ऊ सडक छेउमा थियो। म उसको छेउमा थिएँ। केही बालसुभा रोमाञ्चकताले उसलाई समातेको हुनपर्छ, ऊ अपर्झट उफ्रियो। उफ्रँदै ऊ सडकछेउ पुगेछ। मलाई च्यायाँ.... गरेर भ्यान रोक्न खोजेको टायरको आवाज याद छ। भ्यानको ड्राइभर भ्यान बाहिर आएर कराउन थालेको याद छ। मानिस जम्मा हुँदै थिए।
ती दिनहरू लगत्तै हाम्रो स्याङ्जा छोड्ने दिनहरू आए। बाबा-आमा मलिन हुनुहुन्थ्यो। मेरो विद्यालयको कक्षा गतिलो हिसाबले चल्न सकेको थिएन। बिहिबार आयो र गयो तर ऊ घरमा आएको थिएन। बाबा मलाई माथि अंकलकोमा नजानू भन्नुहुन्थ्यो। आमा निगरानी गर्न हुन्थ्यो। म हरेक पटक कोठाको ढोकामा आउँदा उकालो जाने भर्याङ हेर्ने गर्थें। एउटै घर थियो हाम्रो तर ऊ मेरो लागि निकै टाढा भएको थियो। सधैँ भयो।
तिनै दिन आमा बढी रुन थाल्नु भएको आभाष पाउँदै थिएँ। एक दिन राति बाबा भन्दै हुनुहुन्थ्यो, 'अब हामी यहाँ नबस्ने। मैले चितवनमा कुरा मिलाएको छु।'
आमाको फेरि प्रश्न थियो- 'अनि हाम्रो यत्रो कारोबार?'
'घरबेटीको छोरालाई केही भयो भने?'
मलाई अनौठो लागेको थियो। म बाबा-आमालाई बारम्बार उसको बारेमा प्रश्न गर्थें। बाबाका उत्तरहरू प्रस्ट थिएनन्। केही प्रश्नपछि स्याङ्जाबाट अन्तिम पटक बस चढ्ने दिन आइहाल्यो। अन्तिम दिनमा पनि म उसलाई भेट्ने चाहना राख्दै थिएँ। आमासँग झगडा गर्दै थिएँ। म ढोकामा थिएँ। दौडदै म उसको कोठासम्म पुगेछु। ऊ थिएन। सायद अस्पतालमा थियो।
सबै कोठामा ताल्चा लागेको थियो। सधैँ घरमा हुनुहुने उसकी आमा पनि हुनुहुन्थेन। उहाँको केही दिन भएको थियो नियमित बाहिर जान थाल्नु भएको। राति उहाँ रोएको, कराएको सुनेका थियौँ हामीले। उहाँको रोइ-कराइसँग डराएर म रुन्थेँ। मलाई बाबा-आमाले अङ्गालो हालेर सम्झाएको याद छ। फर्कने दिन हाम्रो स्याङ्जामा बस्ने अन्तिम दिन बन्न पुग्यो। बाबाले आफ्नो जीवनभरको सम्पूर्ण परिश्रम छोडेर बसाइँ सर्नु भएको थियो। म रुँदै उसको घरको सिँडी ओर्लंदै थिएँ।
आमा भाइलाई बोकेर हिँड्दै हुनुहुन्थ्यो। म सानो झोला बोकेर बाबाको पछि-पछि हिँड्दै थिएँ। बारम्बार उसको कोठा फर्केर हेर्दै थिएँ। आशा थियो ऊ झ्यालमा आओस्। मलाई बिदाइ गरोस्। मलाई झ्याल नखोलिएको याद छ।
बस बगेर जाँदा काकाको होटल अन्तिम पटक हेरेकी थिएँ। सिनेमा पसल हेरेकी थिएँ। बस अघि अरौदी खोलाको पुल थियो। म ऊसँग पुलमा बसेर तलको पानी हेरेको सम्झिरहेकी थिएँ। मलाई आमालाई प्रश्न गरेको याद छ।
'उसलाई ठिक हुन्छ नि है आमा?'
'हुन्छ,' आमा सम्झाउँदै हुनुहुन्थ्यो।
'उसो भए किन अन्टीले मलाई मेरो छोरो खाने भन्नु भएको?'
आमाको उत्तर नपाएको याद छ।
मोटरसाइकल बजार पुगिसकेको रहेछ। म अलमलमा परिरहेको थिएँ। बजारमा त घरहरू बढेछन्। पुल सानो भएछ। साहुजी काकाको होटल खोज्दै थिएँ म। थाहा नपाउँदै हामी उहाँको पसलमा पुगिसकेका रहेछौँ। काका बूढा भएछन् तर उनको आँखा उस्तै थियो। काकी थिइनन्।
'मिठो चना र सेल खाउँ त साहुजी' भन्दै श्रीमान कुर्सीमा बस्नुभयो। म पनि बसिसकेर साहुजीलाई प्रश्न गर्न लागेँ।
'काकी खै त काका?'
साहुजी एकछिन अलमलमा परे। हामीलाई एक टकले निहाले।
'को अन्टी?' उनको मुखबाट प्रश्न निक्लयो। मलाई गलत प्रश्न गलत मान्छेलाई गरेको आभाष भयो। आफ्नो प्रश्नलाई प्रस्ट्याउन लागेकी थिएँ। उनैले फेरि बोलिहाले।
'ए त्यो, त्यो त उहिल्यै पोइला गएर मोरी।'
मेरा शब्द बोल्न सकेनन्।
काकाले चना दिए तर चनामा स्वाद थिएन। सायद मिठा स्वादहरू काकीसँग पोइला गए। सायद अपेक्षा धेरै गरियो। बालापनको स्वाद म आज १९ वर्षपछि खोज्दै थिएँ। अपेक्षाको आशाले जब थिच्दै जान्छ तब परिणाम फिका लाग्दै जानेगर्दो रहेछ।
काकालाई छोडेर हामी घरहरूको सुनसान छिचोल्दै गयौँ। उसको घर त तिनै घरहरूको सहरमा बिलाएछ। मन्दिर सानो भएछ। हामी जीर्ण सिनेमा हलको वरिपरि घुम्यौँ। खोला गयौँ। खोला सानो भएछ। सायद हामी बढ्यौँ तर ऊ जस्ताको तस्तै रह्यो या सायद सहरले उसलाई घटाइदियो।
खोलाको किनारामा बसेर हामी खोला निहार्दै थियौँ। म आफ्नै सुरमा मनको द्विविधामा थिएँ। उसको घर नभेटाएकोमा दुखी थिएँ। विचार शून्यता थियो।
म आफ्नो बालापनको मिठो दुई वर्ष पुनः स्मरण गर्न उसको सहरमा आएकी थिएँ। उसलाई भेटाउने आशा कम थियो तर उसको घर हेर्ने चाहना थियो। त्यो झिनो आशा पूरा नभएर म दुःखी थिएँ। श्रीमान् मलाई पानीको बोतल दिँदै हुनुहुन्थ्यो। मलाई दोषी अनुभव गराइदिने उहाँको चाहना थियो सायद। म उहाँकी, उहाँसँगै भएर पनि परपुरुषलाई सम्झिरहेकी थिएँ।
उहाँलाई सबै कुरा भनिदिएर दोषबाट मुक्त हुने उपाय लागाउन सोच्दै थिएँ म। उहाँ त मैतर्फ फर्केर बढेमाको मुस्कानमा हुनुहुन्थ्यो। उहाँको मुस्कान जत्तिकै दोषी थिएँ म। उहाँ झन्-झन् ठूलो मुस्कान दिँदै हुनुहुन्थ्यो। उहाँले खोला बीचको ढुङ्गो देखाउँदै सोध्नुभयो।
'ऊ त्यो ढुङ्गा याद छ तिमीलाई?
मैले उहाँको प्रश्न बुझ्न सकिनँ।
'किन, के होर त्यो?' मैले प्रश्न गरेँ।
'तिमी कुनै दिन त्यहाँ बसेर रोएकी थियौ।'