फुटबल हेर्दाहेर्दै निदाउन पुगेको थिएँ। चेनल गेट कसैले हल्लाएको आवाजसँगै झल्यास्स भएँ। ब्युझिँदा टिभीमा खेल चलिरहेकै थियो। पहिलो हाफ सकिएर दोस्रो हाफ सुरू भैसकेको रहेछ। आवाज आएको हो, होइन थाहा पाउन टिभीको आवाज मधुरो गरेँ। टिभी शान्त हुनासाथै चेनल गेट र मान्छेको आवाज एकैसाथ आयो।
'दाइ... घरबेटी दाइ... सुतिसक्नु भको हो र?'
'को हो यति राति बिख?' बाहिरको बत्ती बाल्दै म निस्किएँ।
'दाइ, म हो' रत्ने रहेछ।
'के भो? किन हल्ला मच्चा'को यो मध्यरातमा? फेरि मातेर आइस् कि के हो?' रिसाएरै यति भनेँ।
'त्यस्तो होइन, दाइ! हेर्नुस् न काका अझसम्म घर आउनु भएको छैन। फोन पनि अफ छ! मलाई त डर लागिसक्यो,' उसले यति राति मकहाँ आउनुको कारण बतायो।
'कतै भट्टीतिर छिरे कि?' हरसाँझ काका भतिज पुरै मातेर आउँथे, त्यसैले लख काटेर मैले भनेको थिएँ।
'होइन, दाइ! काका त्यसरी एक्लै पिउँदैनन्। मसँग मात्र पिउँछन्। त्यसरी पिउन चिनेको मान्छे पनि हुनुपर्यो! काकाले चिनेजानेको र त्यसरी सँगै बसेर पिउने मान्छे यहाँ कोही छ जस्तो पनि लाग्दैन मलाई,' मेरो प्रतिक्रियाले निन्याउरो मुख बनाएर उसले भन्यो।
'किन आएनन् त उसो भए? धेरै नआत्ति, कतै भुले होलान्, आइहाल्छन् नि। जा गएर सुत्,' मैले केही नसोची भनेँ।
त्यसपछि ऊ केही बोलेन। बरु लुसुक्क फर्कियो र भर्याङ झर्यो।
म सुत्न गएँ। निदाइसकिन् होला भन्ठानेकी अस्मिता जागै रहिछिन्। म बिस्तारामा घुस्रिने बित्तिकै सोधिन्- 'को हो अघि हल्लाखल्ला गर्ने? निन्द्रै खल्बल्याइदियो!'
'ए, कोही होइन, त्यही रत्ने थियो। अहिलेसम्म काका आएनन् भनेर आत्तिएर आएको रहेछ, आइहाल्छन् नि, गएर सुत् भनेर पठाइदिएँ,' मैले हल्का रुपमा भनेँ।
'हत्तेरी! तपाईंको यही बानी मन पर्दैन के मलाई!' सुतिरहेकी मान्छे जुरूक्क उठ्दै भनिन्।
'किन? के भो फेरि?' मैले कुरो नबुझेर सोधेँ।
'विचरा, आत्तिएर सहयोग माग्न आएको थियो होला, हजुरले त्यसै पठाइदिनु भयो।'
'ह्या, त्यस्तो केही होइन! जाँड खाएर कतै अल्मलिएका हुन्, आइहाल्छन् नि।'
'तैपनि मध्यरातसम्म नआउँदा आत्तियो होला नि त। के हो कसो हो, केही नबुझी यसै बोल्ने बानी के हजुरको!'
'भैगो छोड्देऊ, सुतौं अब,' मैले विषयान्तर गर्न खोजेँ।
'कस्तो लबस्तरो मान्छे के तपाईं त! जानुस् बरू गएर एकछिन ऊसँग बसिदिनुस्। उसको काका आएपछि आउनुहोला! तपाईंले भन्नुभएको होइन, आइहाल्छन्! उनी आएपछि आउनुहोला, जानुस्' उन्ले घचेट्दै भनिन्।
मनैमनै रिस उठे पनि उनको कुरा मनासिब थियो, त्यसैले उठेर विन्ड चिटर लगाएँ र तल झरेँ।
ऊ आफ्नै कोठामा थियो। नोकियाको एकै खाले सानो फोन बोक्थे काका-भतिज दुवैजना। म कोठाको ढोकामा पुग्दा ऊ काकाको नम्बरमा फोन डायल गर्दै कानमा सुन्दै गरिरहेको थियो। घरीघरी पर्दा उघारेर काका आउन सक्ने बाटो पनि हेरिरहन्थ्यो।
उसको यो बेचैनी देखेर एक्कासी ऊप्रति दया पलाएर आयो। आफ्नो लापरबाह बानीप्रति रिस पनि उठ्यो।
ढोका खुल्लै थियो, तैपनि ढक्ढक्याएँ। मलाई एक्कासी ढोकामा देखेर उसको अनुहार आधा उज्यालियो।
'भित्रै आउनुस् न, दाइ!' सिरकलाई भित्तातिर सारेर मलाई बस्ने ठाउँ बनाइदिँदै भन्यो।
म गएर बसेँ, र सरर कोठा नियाल्न थालेँ। आफ्नै घर भए पनि भाडामा लगाएका कोठाहरू बिल्कुल फरक लाग्छन् मलाई। कसैलाई भाडामा लगाएका कोठाहरू फगत कोठा भए पनि कसैको घर नै हुने हुँदा मलाई त्यस्तो लाग्थ्यो सायद।
कोठाको एउटा कुनामा कसौँडी र कराईमा खाना थिए सायद। दुवै छोपेर राखिएका थिए। भुइँमा दुइटा स्टिलका थालहरू खान पस्किनलाई तयार पारेर राखिएका थिए।
'अझै आएनन्?' भुइँतिर हेरेर एकोहोरिएको उसलाई सोधेँ।
उसले मुन्टो नउठाई मुन्टो हल्लाएर जवाफ दियो।
'कहाँ गएका थिए?' मैले सोधेँ।
'मह बेच्न!' उसले जवाफमा यत्ति भन्यो।
'बिहान सँगै निस्केको देखेको थिएँ त मैले तिमीहरू दुवैजनालाई?'
बल्ल उसले मुन्टो उठायो। भन्यो- 'हो, दाइ! हामी दुवैजना सधैँ सँगै निस्कन्छौँ। सँगै निस्किए पनि बीचमा गएर छुट्टिन्छौँ। सधैँ झैँ आज पनि बिहान घरबाट सँगै निस्किएर बिरौटाबाट छुट्टिएका थियौँ। म छोरेपाटनतिर गएको थिएँ। काका नयाँ गाउँतिर जान्छु भनेर त्यतैतिर लागेका थिए। बेलुका जहाँ छुट्यौँ, त्यहीँ भेट्ने कुरा थियो। छुट्टिएको ठाउँमा आएर कति कुरेँ। कति फोन गरेँ। फोन नै लागेन। फोन नलागेपछि म घर फर्केको थिएँ। घरमा आए होलान् भन्ठानेर म घर आएको थिएँ। घर पनि आएका रहेनछन्। कुर्दा कुर्दा यसबेला भो हेर्नु न!'
'किन आएनछन् त यतिबेलासम्म?'
'त्यही त! यति अबेर त कहिल्यै गर्दैन्थे, गरे पनि फोन गर्थे। आज त त्यो पनि गरेनन्, न त मैले गर्दा नै लाग्छ, त्यही भएर पनि डर लागिरहेको छ।'
'नआत्ती केही हुँदैन! लु भन्, अब के गर्ने त? खोज्न जाने?' मैले सोधेँ।
'एकछिन पर्खौँ, आई पो हाल्छन् कि त! आएनन् भने खोज्न निस्किनुपर्छ। अहिले हजुर सुत्न जानुभए हुन्छ। आएनन् भने म हजुरलाई फेरि दु:ख दिन आउँछु,' निन्याउरो भएर उसले भन्यो।
'हैन, निन्द्रा त खासै लागेको छैन। अघि यस्सो झकाउन मात्रै लागेको थिएँ, तेरो आवाजले ब्युँझिहालेँ। एकछिन यतै बस्छु,' गएर निन्द्रा लाग्नेवाला पनि त थिएन, त्यसैले सुत्न जानुभन्दा त्यहीँ बस्नु नै जायज लागेर त्यसो भनेको थिएँ।
कुर्दा-कुर्दा रातको एक बजिसकेको थियो। म मनमनै काकासँगको अन्तिम पटकको संवाद सम्झिने कोसिस गरिरहेको थिएँ।
त्यो रात पनि काका-भतिज मातेर आएका थिए। जाडोको समय थियो। हामी आँगनमा आगो तापिरहेका थियौँ। रत्ने अलि मातेको थियो सायद, सिधैँ कोठामा गयो। काका हामी आगो तापिरहेको ठाउँमा आएर बसे। आगोको नजिकै टुक्रुक्क बसेर उनले सोधेका थिए, 'खाना खानु भयो, साहुजी?'
मलाई मभन्दा पाको उमेरका उनले साहुजी भनेर सम्बोधन गरेको मन नपरेर मैले भनेको थिएँ, 'मलाई साहुजी नभन्नुस्, बरु भाइ भन्नु भए हुन्छ। राम्रो पनि सुनिन्छ। मलाई साहुजी भनेको पटक्कै मन पर्दैन!'
'हे हे.. भाइ नै भन्न त अलि अप्ठ्यारो लाग्छ मलाई!' उनले चोरी र माझीँ औँलाको कापमा चुरोट राखेर बुढी औँला र चोरी औँलाले बनेको प्वालबाट चुरोट सल्काउँदै भनेका थिए।
'कस्तो अप्ठ्यारो? तँपाईं मभन्दा पाको हुनुहुन्छ, भाइ नै भन्नुस्, त्यही नै राम्रो सुनिन्छ।'
त्यही दिन थाहा पाएको थिएँ, उनी पनि पिएपछि भावुक हुँदा रहेछन्। गफैगफमा आफू सहर झर्नुपरेको दुखेसो सुनाउन थालेका थिए। उनीमार्फत नै मैले थाहा पाएको थिएँ, उनीलाई सहरसँग उस्तो प्रेम छैन। त्यसमाथि सहरमा काम गर्न सुरू गरेको ६ महिना नपुग्दै उनीहरूले काम गर्दै आइरहेको ठेकेदार पैसा लिएर सुइँकुच्चा ठोकेछ।
त्यस लगत्तै उनीहरू बस्ने गरेको घरबेटीले तीन महिनाको भाडाको सट्टा उनीहरूको ग्यास-सिलिण्डर र सबै भाडाकुँडा राखिदिएछन्। त्यसैले मेरोमा घर सरेर आउँदा उनीहरूसँग एउटा थोत्रो स्टोभ र केही स्टिलका थाल र एउटा कोरियन ब्ल्याङकेट मात्र थियो। यसरी सहर झरेको केही महिनामै उनले सहरको असली रंग देखिसकेका थिए। त्यसैले उनको सहरप्रतिको वितृष्णा बढ्दो थियो। तर भतिज गाउँ फर्कन मान्दैन्थ्यो।
उनका अनुसार रत्ने भन्ने गर्थ्यो, 'खाली हात गाउँ फर्क्यो भने त जोरीपारीले हेप्छन्, त्यसैले केही समय यतै बसेर अलिअलि भए पनि पैसा लिएर जानुपर्छ।' भतिजको कुरा सही लागेरै उनी आजसम्म मन नलागी-नलागी पनि टिकिरहेका रहेछन्।
यसरी गफिँदै जाने क्रममा मैले उनीहरुले गर्ने कामको बारेमा सोधेको थिएँ। उनले सबै कुरा नलुकाई भनेका थिए।
ठेकेदारले पैसा नदिई भागेपछि उनीहरू बुट्टीटाँट भएछन्। घरबेटीले भाडा मागेर दिनहुँ कचकच गर्दा रहेछन्। हुन पनि भाडा नदिएको तीन महिना भैसकेको रहेछ। निकै तनाबको स्थितिमा पुगेका दुवैजना एकदिन भट्टीमा रक्सी पिइरहेको बेला जाडोमा मौरीलाई कसरी चास्नी बनाएर दिइन्छ भन्ने वृत्तचित्र आएको रहेछ। त्यहीबेला नै उनको दिमागमा मान्छेले मौरीलाई दिने गरेको चास्नी मान्छेलाई नै बेच्ने तरिका फुरेको रहेछ।
यसै सिलसिलामा उनले पूरा आत्मविश्वासका साथ भनेका थिए, 'हामी गाउँमा गएर चाका मिसिएको खाँटी मह पनि ल्याउँछौँ। चिनी-पानी धेरैबेर पकाएपछि बाक्लो मह जस्तै देखिन्छ। त्यसमा फिट्किरी मिसाएपछि त झन् महजस्तै बन्छ। त्यसलाई चिस्याएर हर्लिक्सको बट्टामा हालेर माथिबाट चाका मिसिएको खाँटी मह हालेपछि कसैले पनि त्यो चिनीको चास्नी हो भनेर भेउ पाउँदैनन्।'
उनले उनीहरूको व्यापारको बारेमा भनेपछि मैले सोधेको थिएँ- 'यो त सरासर ठगी भएन र?'
'हो, हुन त तर के गर्नु! यो सब गर्न हामीलाई सहरले नै बाध्य पारेको त हो। नत्र कसरी टिक्नु यहाँ?'
'यसरी सहरलाई दोष दिँदै ठगी गर्नु जायज हो र?'
'यो सहरमा कुनै काम गर्दा पैसा आउँछ र त्यसले कसैलाई हानी गर्दैन भने त्यो सब जायज हुन्छ!' उनले निकै गम्भीर भएर भनेका थिए।
'म सोचमग्न भैरहेकै बेला रत्नेले मुखबाट पहिले 'च्च' आवाज निकाल्यो र भन्यो- 'दाइ, काका त अझै आएनन्। अब भने खोज्न जानु पर्छ कि?'
'जान त जाने, तर कहाँ जाने?' अन्यौल भएरै मैले त्यसो भनेको थिएँ।
ऊ केही पनि बोलेन। बरू मैले नै भनेँ- 'पसलहरू पनि यतिबेलासम्म त सबै बन्द भैसके। बाटोमा खोज्ने हो?'
'मनको शान्तिको लागि भए पनि काका हिँडेको बाटोतिर जाऔँ न है, दाइ, एकपटक!' यसोभन्दा उसको अनुहार साह्रै अँध्यारो भएको थियो।
'ल हुन्छ हिँड् त उसो भे! चिसो-चिसो छ, बाइकमा हावाले हान्छ, बरु ज्याकेट उन।'
त्यसपछि हामी उसको काका आवतजावत गर्ने सबै बाटाहरू पुगिहेर्यौँ, तर केही हात लागेन। ऊ पछाडि बसेर बारम्बार फोन लगाउने प्रयास गरिरहन्थ्यो। भौतारिएर हिँड्दा-हिँड्दै रात ढलेर बिहानको चार बजिसकेको थियो। निन्द्रा हराए पनि निन्द्रा बिग्रेपछि हुने आलस्यताले शरीरमा कत्ति जाँगर बाँकी थिएन।
'हेर केटा, यसरी गल्ली-गल्ली चहारेर साध्य हुँदैन। घर जाँऊ। मेरो एकजना साथी पुलिसमा छन्, उनलाई फोन गरी हेर्छु। उनले केही सहयोग गर्न सक्छन् कि बुझिहेर्छु।'
घर पुगेपछि ऊ आफ्नो कोठामा गयो। म माथि उक्लिएँ। बिहानै भएकाले सुतिरहेको होला भनेर साथीलाई म्यासेज गरेँ। ऊ जागै रहेछ, फोन गर्यो। उसलाई सबैकुरा विस्तारमा बताइदिएँ। उसले कतै त्यस्तो खाले केही घट्ना घटेको वा कोही फेला परेको रहेछ भने बुझ्छु र खबर गर्छु भनेर फोन राख्यो। मैले भतिजको नम्बर पनि उसलाई दिएँ र ऊ निकै आत्तिएकाले उसैलाई पहिले खबर गरिदिन भनेँ।
त्यसपछि केहीबेर सुत्नुपर्यो भनेर बिस्तारामा पल्टेको के थिएँ, भुसुक्कै निदाएछु।
अस्मिताले घच्घच्याएपछि म ब्युँझिएँ। रत्ने आएको उनीमार्फत थाहा पाएँ। आङ तान्दै बाहिर निस्किँदा रत्ने निकै अत्तालिएको अवस्थामा यताउता गरिरहेको थियो। असिनपसिन पनि भएको थियो। त्यति जाबो सिँढी चढेर त्यस्तो पसिना आउने मान्छे ऊ पक्कै थिएन। केही समाचार पक्कै लिएर आएको थियो भन्ने मलाई लाग्यो। म ऊनेर गएँ र सोधेँ- 'केही खबर पाइस् र?'
मेरो प्रश्नको उत्तर उसले एकै सासमा दिन खोज्यो तर सकेन, अड्कियो। उसको मुखबाट मात्र 'काका' निस्कियो।
'काका? के भयो काकालाई? किन यसरी आत्तिएको?' उसको त्यस्तो स्थिति देखेर मेरो मनमा पनि कता-कता चिसो पसिसकेको थियो।
'उसले दुवै हात घुँडामा राखेर निहुँरिएर भन्यो, 'भर्खर चौकीबाट फोन आएको थियो। हिजो साँझ एकजना बेवारिसे घाइतेलाई गण्डकी हस्पिटलमा राखेको छ रे! कसैले कुटपिट गरेको आशंका पुलिसले गरेको छ। काका हुन् कि होइनन् भनी बुझ्न भनेर मलाई फोन गरेका थिए। उनीहरुले बताएअनुसार हुलिया काकाको जस्तै छ। जाउँ न, दाइ। अवस्था निकै गम्भीर छ रे।'
'ल ल नआत्ती! तेरो काका नै हुन् भन्ने पक्का पनि त भएको छैन नि! तँ तल गएर बस्दै गर्। म दुई मिनेटमा झरिहाल्छु' यति भनेर म कपडा बदल्न र मोटरसाइकलको चाबी लिन भित्र छिरेँ। ऊ तल झर्यो।
म तल झर्दा ऊ निकै आत्तिएर गेटमा ओहोर-दोहोर गरिरहेको थियो। मैले बाइक स्टार्ट गर्दा ऊ झस्कियो। उसले हतारहतार गेट खोल्यो। मैले गेट बाहिर निकाल्न नपाउँदै ऊ बाइकमा चढिसकेको थियो।
अस्पताल पुगेर पार्किङ खोज्नुपर्ने थियो, त्यसैले उसलाई सोधपुछ कक्षनेर लगेर ओरालिदिएँ। बाइक राम्रोसँग रोकिनुअघि नै ऊ ओर्लेर अस्पताल भित्रतिर दौड्यो । म पार्किङ खोज्न हिँडेँ। बाइक पार्क गरेर सोधपुछ काउन्टरमा पुग्दा ऊ कतै देखिएन। ऊ काकाको नाम सोधेर उनलाई राखेको ठाउँमा गइसकेको रहेछ। मैले सोधपुछमा उनको नाम सोधेपछि मोटो पावरदार चश्मा लगाएका व्यक्तिले कोठा देखाइदिए। उनलाई आकस्मिक कक्षमै राखिएको रहेछ। त्यतैतिर लागेँ।
आकस्मिक कक्ष बाहिर पुग्दा देखेँ, भित्र ढोकै छेउको शय्यामा उसको काकालाई राखिएको रहेछ। सडक दुर्घटनामा परेका घाइतेहरू भर्खरै त्यहाँ ल्याइएको रहेछ, त्यसैले त्यहाँ निकै भिडभाड थियो। ऊ अस्पतालले कुरूवाका लागि राखिदिएको कुर्सीमा बसेर एकतमास घाइते काकालाई हेरिरहेको थियो। काका सकिनसकी केही बोलिरहे जस्ता देखिन्थे। हो-हल्ला र घाइतेहरूको आर्तनादले त्यहाँको वातावरण अत्यासलाग्दो थियो। काकाको कुरा नसुनेर या नबुझेर होला, ऊ कान काकाको मुख नजिकै लगेर ध्यानपूर्वक सुनिरहेको थियो।
सोचेँ, उनीहरूको गफ सकिएपछि भित्र छिर्नुपर्ला। नर्सहरू धेरै कुरुवा भएको रुचाउँदैनन् भन्ने थाहा थियो। त्यसमाथि पनि आकस्मिक कक्षमा भिडभाड नगरिदिएकै राम्रो भन्ने पनि लाग्यो। त्यसैले म बाहिर राखिएको कुर्सीमा बसेँ।
भर्खर भुइँ पुछेको भएर होला सायद फिनेलको कडा गन्ध हावामा व्याप्त थियो। त्यो गन्धले नाकका पोराहरू ढक्क फुलाइदिएको थियो। बाहिरबाट पनि पीडामा छट्पटाइरहेका बिरामीहरूको आर्तनाद सुन्न सकिन्थ्यो। ह्विलचेयरमा मान्छेहरू सकिनसकी यताउती डुलिरहेका थिए। कोही बेडमा पल्टिँदा पल्टिँदा पट्यार लागेर यताउता टहलिन निस्केका थिए। कोही थर्मस र टिफिन बक्स बोकेर आफन्तलाई खाना पुर्याउन आइरहेका थिए। यो सब देख्दा लागिरहेको थियो, संसारको निकै व्यस्त ठाउँहरू मध्येको एक अस्पताल पनि हो। र यहाँको व्यस्तता निकै अत्यासलाग्दो हुन्छ।
अस्पताल हातामा रहेका रूखमा बसेर कागहरू एकतमास कराइरहेका थिए। मेरो नजिकै उभिएका एक वृद्ध कराइरहेको कागतिर हेरेर भनिरहेका थिए, 'सुभ बोल... सुभ बोल! किन कराइरहेछ यो यसरी?'
अस्पतालको माहोल हेरेर सोचमग्न भएर बसिरहेकै बेला कसैले आएर मेरो काँधमा हात राख्यो। फर्किएर हेर्दा देखेँ, आँखा राता-राता बनाएर रत्ने उभ्भिएको थियो। उसलाई देखेपछि म उठेँ। म उठ्नासाथै मलाई गम्लङ्ग अँगालो हालेर ऊ भक्कानियो।
'के भयो? किन रोएको? म त झन् तिमीहरूको कुराकानी सकिएसी गएर काकालाई भेटौँला भनेको, यो त एक्कासी भक्कानिन्छ त?' म अक्क न बक्क भएँ।
'काका बोल्दा बोल्दै बित्नुभयो दाइ! म फेरि टुहुरो भएँ' यस खबरले मलाई पनि भित्रैदेखि हल्लाइदियो। भन्न त पुलिसले अवस्था चिन्ताजनक छ भनेकै थिए, तर पनि यति छिट्टै बित्लान भन्ने त मैले सोचेको पनि थिइनँ। कस्तो अकल्पनीय घट्ना!
ऊ घरी भक्कानिन्थ्यो। घरी के-के बर्बराउँथ्यो।
केहीबेर अक्क न बक्क भएपछि उसलाई सान्त्वना दिँदै भनेँ- 'ओहो! कस्तो अपत्यारिलो कुरा सुनाइस्। अघि बोलाउन जाऊँला भनेको, तिमीहरू गफ गरिरहेको देखेर जान मन लागेन। अब त चाहेर नि बोलाउन सक्दिनँ। छ्या कस्तो नरमाइलो भयो! हिजो मात्रै त घरबाट तिमीहरू दुवैजना हाँस्दै निस्केको देखेको थिएँ।'
मेरो कुरा सुनेर ऊ झन् भक्कानियो। मैले उसलाई अँगालोमा बेरेर सम्झाउँदै भनेँ- 'जे हुनु थियो, त्यो त भैगयो। अब तैँले आँफूलाई सम्हाल्नुपर्छ। यसरी रोएर हुँदैन। सम्हाल् आफूलाई!'
उसले रूँदै भन्यो- 'कसरी सम्हाल्नु, दाइ? बुवाको मृत्युपछि काकाले मलाई आफ्नै छोरा सरह मानेर हुर्काएका थिए। मेरो संसार थिए काका। अब म काकीलाई र भाइबहिनीहरूलाई के जवाफ दिऊँ? आमालाई के भनूँ? म त बर्बाद भएँ दाइ! म गाउँ पनि कसरी फर्कनुँ?'
उसको प्रश्नहरूको कुनै जवाफ मसँग थिएन। जति सजिलो सहानुभूति दिनुमा हुन्छ, त्यति सजिलो कुनै परिस्थितिमा आफूलाई सम्हाल्न हुँदैन। त्यहीमाथि सहानुभूति दिन नजान्ने मान्छे थिएँ म।
हामी त्यहाँ उभिएर विलाप गरिरहँदा केही प्रहरी र अस्पतालका कर्मचारीहरू आएर काकाको लासलाई स्ट्रेचरमा हालेर कतै लगे। लास लगिसकेपछि एकजना प्रहरी आएर लास पोस्टमोर्टमको लागि लगेको कुरा जानकारी दिए। त्यसपछि मात्र लासको दाहसंस्कार गर्न मिल्ने कुरा पनि उनले बताए।
पछि साथीमार्फत थाहा हुन आयो, उनलाई लुटपाटको क्रममा कुटपिट गरिएको रहेछ। टाउकोमा गम्भीर चोट लागेका कारण नै तिनको ज्यान गएको रहेछ।
पोस्टमार्टमपछि पुलिसले उनको लास रत्नेलाई जिम्मा लगायो। तेह्र दिनको काजक्रिया पनि उसले कोठामै बसेर पूरा गर्यो। काजक्रिया सकेको भोलिपल्ट एकाबिहानै ऊ मकहाँ आइपुग्यो। अनुहार मलिन थियो। उसको पीडाको कहानी सुने-देखेकाले होला, आजकल म उसलाई देख्नासाथै झसंग हुन थालेको थिएँ।
'दाइ, यसपालिको भाडा दिन नसक्ने भएँ, के गर्ने होला? काममा जान नि पाइएन। म त अब गाउँ नै फर्किनु पर्ला, दाइ!' उसले भन्यो।
'भाडाको कुरा छोडिदे, भाइ। आजसम्म बेलैमा तिरेका थियौ। म कुरा बुझ्छु। कमाएपछि तिर्नु। यो महिनाको भाडा पर्दैन। त्यही पनि कुन हातले लिनु। पाप लाग्छ।'
'धेरै धन्यवाद, दाइ! हजुरको यो गुन म कहिल्यै बिर्सिने छैन। तर मलाई अब यो सहरमा बस्न मनै भएन। गाउँ नै जान्छु, उतै खनिखोर्सी गर्छु। काकाले पनि अन्तिममा यही भन्नु भएको थियो। काकाले भन्नुभएको कुरा सपनामा आइरहन्छ, दाइ। उहाँले भन्नुभएको थियो, 'यो सहर सिलौटो हो। हामी त्यसमा राखिएको गोलभेडा, जसलाई जो-कोहीले पनि लोहोरोले पिसेर चटनी बनाइदिन सक्छ। त्यसैले यो सिलौटोबाट छिट्टो उम्किएर घर फर्की!'
'तेरो काकालाई सहर कहिल्यै मन परेन। अन्त्यमा यही सहरले नै उनको ज्यान लिइदियो। गाउँ फर्कन्छस् भने पनि ठिक छ। भन्, मैले के सहयोग गर्नुपर्यो?'
'दाइ, मसँग फुटेको कौडी छैन, केही पैसा सापटी दिनु भए आभारी हुने थिएँ। धेरै पर्दैन, घर जाने टिकट किन्ने पैसा भए पुग्छ।'
मसँग गोजीमा हजारको नोट थियो। त्यो दिँदै मैले भनेको थिएँ 'यतिले पुग्छ?'
'पुग्छ, दाइ!- उसले पैसा हातमा लिँदै गर्दा उसको आँखामा हेर्न पुगेको थिएँ। उसको आँखामा कत्ति पनि गाउँ जाने कुरालाई लिएर कुनै उत्साह थिएन। हुने कुरा पनि थिएन। मलाई थाहा थियो, उसको मनमा घरमा गएर काकाको मृत्युको खबर कसरी सुनाउने भन्ने ठूलो चिन्ताको विषय गडेर बसेको थियो।
ऊ त्यही साँझ निस्कियो। दु:खी मान्छे आफूसँगै दु:खको कम्बल पनि सँगै बोकेर हिँड्छ। जसलाई उसको दु:ख बारे थाहा हुन्छ, त्यो दु:खको कम्बलले उसलाई पनि छोपिहाल्छ। दु:खीको दु:ख देख्ने मान्छे पनि दु:खी हुन्छ। मेरो स्थिति पनि त्यस्तै भएको थियो। जब-जब म उसलाई मेरो अगाडि पाउँथेँ, म उसको दुख सम्झिन्थेँ र झस्किन्थेँ। ऊ गएपछि उसले आफ्नो पीडा पनि सँगै लिएर गएको थियो।
विस्तारै ऊसँगै उसको पिरमर्का पनि मेरो मस्तिष्कबाट एकाएक विस्थापित भएर गए। ऊ गएको हप्ता दिनमै टाउकोबाट निकै ठूलो बोझ उत्रिए जस्तैगरी म हल्का भएँ। त्यो पनि एककिसिमको मसान बैराग्य जस्तै अनुभूति थियो, सायद, जुन हराउन कत्ति पनि समय लागेन।
एक वर्षपछि रत्नेले एक्कासी फोन गर्यो। भन्यो- 'दाइ, म पोखरा आउँदै छु। हजुर कता हुनुहुन्छ? हजुरलाई फेरि एउटा दु:ख दिनुपर्ने भयो। बाँकी कुरा भेटेरै भन्छु है?'
'म घरमै छु। कहाँ छस् र?'
'म नजिकै आइपुगेको छु। अहिलेलाई राखेँ' यति भनेर फोन काटिदियो।
फोन काटेको पन्ध्र मिनेटमा ऊ घरमै आइपुग्यो। म रेडियोमा समाचार सुन्दै थिएँ। ऊ आएर नमस्ते गर्यो। मैले नमस्ते फर्काएर मोडामा बस्न भनेँ। ऊ बस्यो तर केही बोलेन। मैले रेडियो बन्द गर्दै सोधेँ- 'भन् के कति कामले आइस्? घरमा सब ठिक छ नि?'
'म गाउँ गएकै छैन, दाइ।'
उसको कुराले झनक्क रिस उठेको थियो, तर कारण जान्न मन थियो त्यसैले सोधेँ,' किन? अनि कहाँ थिस् त यत्तिका दिनसम्म?'
त्यसपछि ऊ सुरु भयो।
'दाइ, जीवन पनि राजमार्गमा चल्ने ट्रकहरू जस्तै रहेछन्। गन्तब्य ताकेर हिँडे पनि बाटोमा कतिबेला कहाँनेर जाम पर्छ थाहै हुँदैन। जसरी गाडीहरू जाममा परेर समयमै आफ्नो गन्तब्यमा पुग्न पाउँदैनन्, त्यसरी नै मान्छेको जीवनमा पनि जाम परिरहन्छ, जसकारण उसले पनि बेलामै कहीँ पुग्न पाउँदैन। आजकल जाममा अल्झिएर धुलैधुलो भएको गाडीजस्तै बैरागी भएको छु म पनि, दाइ।
त्यो दिन गाउँ जान भनेर बस त समातेँ, तर मनमा ज्वारभाट झैं कुराहरू खेलिरहेका थिए। गाउँमा गएर के भन्ने, परिवारलाई कसरी सामना गर्ने भन्ने ठूलो चिन्ता परेको थियो मनमा। साथमा पैसा पनि थिएन। काकाबिना त्यसमाथि रित्तो गोजी लिएर के जानु भन्ने लाग्न थालेपछि मुग्लिनमा उत्रिएको थिएँ। तपाईंले दिनुभएको पैसाबाट केही बाँकी नै थियो। सोचेँ, काठमाडौँ जान्छु। केही समयपछि आँट आउला, केही पैसा पनि जम्मा होला अनि बल्ल गाउँ जानुपर्ला। यसरी काठमाडौँ जाने निर्णयमा पुग्न मलाई निकै सकस परेको थियो।
मुग्लिनबाट काठमाडौँ जाने बस समातेँ। बसमा भाडा पुगेन। सहचालकलाई अनेक अनुनयविनय गरेपछि उसले छोडिदियो। काठमाडौँ त पुगेँ, तर कहाँ जाने भन्ने ठेगान थिएन। चिनेजानेको कोही थिएन। थिन त थिए, तर सम्पर्कमा कोही थिएनन्। बसले मलाई कलंकीमा झारिदियो। म बसबाट उत्रिँदा मरूभूमिमा हराएको यात्रीजस्तै भएको थिएँ। मेरो आँखा अगाडि मान्छे नै मान्छे थिए, तर चिनेको कोही थिएन। अपरिचित सयौँ अनुहारहरू वरपर हुनु र परिचित एउटा मात्रै अनुहार वरपर हुनुको फरक मैले सोही दिन महसुस गरेको थिएँ।
कलंकीकै केही होटलहरूमा, पसलहरूमा कामको लागि कुरा पनि गरिहेरेँ। सबैको प्रश्न हुन्थ्यो- 'के गर्न आउँछ?'
म जे पनि गर्छु भन्थेँ, तर उनीहरू पत्याउँदैन्थे। जानेको ज्यामी काम थियो, अरू त गर्दै गएपछि जानि हालिन्छ नि भन्ने थियो, तर कसैले मौका दिन चाहेनन्। भौतारिँदै कंलकीबाट कीर्तिपुर जाने भित्री बाटोमा पुगेको थिएँ। बाटोको छेउमा एउटा घर बन्दै रहेछ। केही ज्यामी-मिस्त्रीहरू आ-आफ्नो काममा तल्लिन थिए। झिनो आशा पलायो। त्यो त जानेको काम थियो। लाग्यो, सोध्दैमा के बिग्रिन्छ र!
एकजना पलास्टर टाँस्दै गरेका मिस्त्री भएनेर गएँ। अपरिचित अनुहार भएर होला उनले खासै चासो देखाएनन्। काम मलाई चाहिएको थियो, त्यसैले सोधेँ-' दाइ, यता कतै काम पाइएला?'
उनले प्लास्टरको मसला भित्तामा छ्याप्दै भने- 'खै भाइ! म त मिस्त्री हो। ठेकेदार साबलाई सोध्नुपर्छ त्यो त!'
'ठेकेदार साब कहाँ हुनुहुन्छ नि?'
'खाजा खान गएका छन्। एकछिनमा आउँछन् होला!'
'ए, धन्यवाद! म कुर्छु!' मैले भनेँ र बाटोमा आएर डिभिसी माथि बसेँ।
एकैछिनमा ठेकेदार आइपुगे। अघि मैले सोधेको मिस्त्री खटबाट झरेर मलाई ठेकेदार चिनाइदिए र आफू चुरोट सल्काएर कुनातिर गए।
मैले ठेकेदारलाई सबै बताएँ। काम गरेको अनुभवको बारेमा बताएपछि उनले अर्को साइटमा मान्छे चाहिएको कुरा बताए। अनि उनले नै मलाई बाइकमा राखेर अर्को साइटमा पनि लगे।
काम गर्न थालेको छोटो समयमै ठेकेदारले मेरो काम मन पराए। त्यसपछि म उनको प्रिय भएँ। काम नियमित चल्दै गयो। मैले काम गर्ने ठेकेदारसँग काम गर्ने अरू मिस्त्रीहरू र ज्यामीहरूसँग पनि मेरो घनिष्ठता बढ्दै गयो। जीवनले फेरि लय समात्यो।
एकदिन हामीसँगै काम गर्ने गाह्रो लगाउने मिस्त्रीले दैनिक बचत गर्न फाइनान्समा खाता खोल्ने प्रस्ताव लिएर आए। हामी सबैलाई उनको कुरा मनासिव लाग्यो। उनले आफूसँग भएको पासबुक र आफूले जम्मा गरेको स-सानो रकमको विवरण देखाएपछि त्यहाँ भेला भएका सबै उत्साहित भए। उनले एकदिन फाइनान्सको लागि घरघर डुलरे पैसा उठाउने एकजना कर्मचारीलाई साइटमै लिएर आए। सित्तैमा खाता खोलिदिने भएपछि सबै खुसी थिए। सबैलाई लाग्थ्यो, खाता खोल्न निकै पैसा लाग्छ, त्यसैले सबैले जे-जति बचत गर्थे, कि त खाटको पत्रामा, या फेरि पोकोमा या फेरि चिनी या अरू नै केही भाँडामा राख्थे।
विस्तारै सबैले दिनहुँजसो सय-पचास गर्दै पैसा जम्मा हुन थाल्यो। जोडेर हेर्दा केही जम्मा भएजस्तो लाग्न थाल्यो। सबैको आ-आफ्ना सपना थिए, जो चेकबुकमा जम्मा भएको पैसाबाट सुरू हुन्थ्यो। मिस्त्री जो त्यहाँ काम गर्ने सबैलाई खाता खोल्न सिकाएको थियो, ऊ पनि मक्ख थियो। पहिलो त उसको खातामा अरूको भन्दा बढी पैसा जम्मा भएको थियो। अर्को उसले अरूलाई पनि पैसा बचत गर्न सिकाएको थियो।
तर अचानक त्यो कर्मचारी पैसा उठाउन आउनै छोड्यो। केही दिन कुर्यौं। आएन। पासबुकमा भएको नम्बरमा फोन गर्दा फोन नै जाँदैनथ्यो। त्यसपछि भने सबैको मनमा ढ्यांग्रो ठोक्न थालिहाल्यो। मेहनत गरेर कमाएको कमाई कसैले ठगेर लग्यो भन्ने कुरा सुन्दा जति अत्यासलाग्दो हुन्छ, भोग्दा त्यति नै पीडादायी हुँदो रहेछ, दाइ। हामीले पछि बल्ल थाहा पायौं, हामीजस्ता हजारौंको पैसा लुटेर त्यो फाइनान्सको संचालक फरार भएछ। पुलिसकोमा उजुरी त परेको थियो, तर पुलिसले जहिल्यै खोजी भैरहेको छ मात्र भन्थे। विस्तारै सबैले बचतको पैसा फिर्ता पाउने आश मारिदिए।
यता गारो लगाउने मिस्त्री दोहोरो पीडामा थिए। उनले आफ्नो पैसा त गुमाएका थिए-थिए, उनको कारणले अरूले पनि मेहनतको कमाई गुमाउनुपर्यो भन्ने कुराले पनि उनलाई थप चोट दिएको थियो। यो सब भएपछि पनि हामी काममा नियमित गैरहेका थियौं। उनी पनि आइरहेका थिए, तर उनी हामीदेखि तर्किन थालेका थिए। हामी बोल्न खोज्थ्यौँ, उनी फिस्स हाँसेर तर्किएर हिँड्थे।
अचानक उनी काममा आउन छाडे। हामी सबै छक्क पर्यौं। मैले ठेकेदारसँग सोधी हेरेँ। ठेकेदारले ऊ बिरामी परेर थला परेको बताएपछि हामी भेट्न गयौं। ऊ गलेर निकै दुब्लो भएको थियो। यस्तो अवस्थामा पनि हामीलाई देखेर ऊ कत्ति खुसी हुन सकेन। बरू झन् अत्तालियो। उसको मनोदशा बुझेपछि हामी त्यहाँबाट छिट्टो निस्कन बाध्य भयौं। गल्ती उसको थिएन, तर पनि उसले सबै गल्ती आफ्नै थाप्लोमा लिएको थियो। डुब्न त उसको पैसा हामीहरूको भन्दा ज्यादा डुबेको थियो।
विस्तारै त्यहाँ काम गर्नेहरू काम छोड्दै गए। मेरो पनि काममा मन जान छोड्यो। एकदिन काम छोड्ने निर्णयमा पुगेर ठेकेदारसँग एक वचन सोध्न भनी उसको घर जाँदै गर्दा बसमा पाकेटमारले पाकेट मारिदियो। अलि-अलि पैसा त्यही पर्समा थियो, त्यो पनि चोरियो। त्यतिबेला मैले काकाको अन्तिम वाक्य झलझली सम्झिरहेको थिएँ। गाउँ फर्कन फेरि पनि साथमा पैसा भएन। त्यसैले निरूपाय भएर फेरि तपाईंकै शरणमा आएको छु। मलाई केही पैसा सापटी दिनु भए म हजुरको ऋणी हुने थिएँ।'
आफ्नो व्यथा सुनाइसकेपछि आफू बसिरहेको मुढाको उध्रिएको डोरो औंलामा बेरेर खेलाउन थाल्यो।
'पहिलेजस्तै अहिले पनि गाउँ जान्छु भनेर फेरि गाउँ फर्केनस् भने?' पहिलेको कुरा स्मरण गराउँदै मैले सोधेँ।
'सत्ते-सत्ते धरोधर्म, दाइ! योपालि जसरी भए पनि गाउँ जान्छु। म यो सहरदेखि थाकिसकेँ। काकाले त उहिल्यै भनेका थिए, गाउँ जा। यो सहर सिलौटो हो। सहरमा बस्ने हरेकको हातहातमा लोहोरो छ। जसले आफू वरपर गोलभेडा जस्तै सोझो-सिधा मान्छे देख्छ, थिचिहाल्छ। चटनी बनाइहाल्छ। त्यसैले कान्छा, तँ मजस्तै चटनी हुनुअघि नै यो सिलौटोबाट उम्केर आफ्नै बोट फर्की। मेरोजस्तो पीडा तँलाई कहिल्यै नपरोस्।'
उसले हात जोडेर यो सब भनिरहेको थियो। मलाई उसमा विश्वास के थियो भने, ऊ अरू कुरामा झुट बोले पनि काकालाई बीचमा राखेर झुट बोल्दैन।
'कति जति चाहिन्छ? कहिले फर्काउँछस्?' मैले अलि रूखो भएर सोधेँ।
'धेरै पर्दैन दाइ। पहिले पनि लिएको छु हजुरबाट। घर पुग्ने पैसा भए हुन्छ, दाइ। जति सक्दो छिटो फर्काउनेछु' अघिसम्म भुइँतिर हेरेर घोरिरहेको टाउको उठाएर भन्यो।
'कसरी कमाएर फर्काउँछस्?' सोधिसकेपछि भने पछुतो लाग्यो। कसैको विवशताको मजाक बनाउनु हुँदैन भन्ने मान्छे म त्यो दिन आफ्नै आदर्शबाट चुकेको थिएँ।
ऊ नाजवाफ भएपछि मैले पर्सबाट पैसा झिकेर दिँदै भनेँ- 'लु ला, यहाँ पाँच हजार छ। यत्तिका वर्षपछि घर जाँदैछस्, खाली हात गएको राम्रो हुँदैन। घरकालाई केही लिएर जा। यो पटक पनि गाउँ गएनस् भने मकहाँ नआएस्। बारम्बार झुट बोलेको मलाई मन पर्दैन। बुझिस्?'
'हस् दाइ। गाउँ नै जान्छु। नभए आमाको नम्बर राख्नुस्। भोलि त म घर पुगिहाल्छु, मसँग कुरा गर्छु भन्नुस्। म त्यहीँ हुनेछु।'
'पर्दैन पर्दैन, त्यो सब पर्दैन! घर जान ढिला होला बरू हिँड तँलाई बसपार्कसम्म छोडिदिन्छु। मेरो पनि पृथ्वीचोकसम्म पुग्ने काम छ।'
उसलाई पृथ्वीचोक बसपार्कमा छोडेर म आफ्नो कामतिर लागेँ।
बेलुका नयाँ नम्बरबाट फोन आयो। फोन उसैको थियो। आमाको फोनबाट फोन गरेको भन्यो। आफू घर पुगेको जानकारी दियो। मैले राम्रोसँग बस्नु भनेर शुभकामना दिएँ। त्यहाँभन्दा बढ्ता कुरा भएन। ऊ घर पुगेकोमा एक किसिमको सन्तुष्टि भने मिलेको थियो।
त्यसरी गाउँको घर फर्केको मान्छे ६ महिनापछि फेरि देखा पर्यो। यतिबेला ऊ हृष्ठपुष्ठ भएको थियो। दाह्रीकपाल छोटो पारेर छाँटेको थियो। अघिल्लो पल्ट देखेको भन्दा निकै फरक देखिन्थ्यो।
ऊ आउँदा म फूलबारीमा गुलाबको बोटमा लाइको विषादी छर्कँदै थिएँ।
'दाइ, नमस्कार!' मलाई फूलबारीमा देख्नासाथै उसले भन्यो।
'ए, यो पो आएछ! नमस्ते... नमस्ते! सन्चै छस्? गाउँतिर सब ठिक छ नि?' छक्क पर्दै मैले सोधेँ।
'सन्चै छु, दाइ। गाउँतिर पनि सब ठिक छ। हजुर आरामै हुनुहुन्छ?'
'ठिकै छु भन्नुपर्यो!'
'अनि भाउजू नि?'
'भाउजू नि सन्चै छिन्।'
'ए, अनि खाना खानु भयो त?'
'अँ, भर्खरै खाएर यसो फूल गोड्न लागेको। यो गुलाबको बोटमा लाइ लागेको रहेछ, विषादी हाल्न लागेको। अनि के-कति कामले आइस् त?'
'के हुनु, दाइ! हजुरलाई नि भेटौँ, अनि यो पैसा पनि फर्काउँ भनेर आएको,' उसले गोजीबाट पैसा निकालेर मतिर बढाउँदै भन्यो।
'ओहो! के हो गाउँ फाप्यो क्या हो तँलाई? पैसा फर्काउन आएछस् त?'
'हो, दाइ। मेहनत गर्यो भने सुन फल्छ गाउँमा। यी भाउजूलाई घ्यू र हजुरलाई मह मनपर्छ भनेर ल्याइदेको छु,' आफ्नो साथमा भएको झोला मलाई थमाउँदै भन्यो।
'यो घ्यू र मह त असली हो नि? कुनै फट्याँइ त गरेछैनस् नि यसमा?' मैले जिस्काएर सोधेँ।
उसले बसिरहेको मुढाबाट उठ्दै भन्यो 'दाइ, फटाहा त यो सहरले मलाई भिराइदिएको उपमा हो, गाउँमा त मेरो अर्कै नाम छ। सहरले बिगारेको मान्छे गाउँले सुधार्छ, दाइ। विश्वास गर्नुस्, यो मह र घ्यू दुवै खाँटी हुन्।
उसले यसो भनिरहँदा मैले केही दिन अघि फेसबुकमा पढेको श्रवण मुकारूङको 'जंगली फूल' कविता सम्झिरहेको थिएँ। म मनमनै कविताका हरफ कल्पिरहेको थिएँ, ऊ बसिरहेको ठाउँबाट कतिबेला उठेर हिँडिसकेछ मैले मेसै पाइनँ।
उसले हिँड्नुअघि केही त पक्कै पनि भनेको थियो, तर मैले केही पनि सुनिनछु। धेरै कुरा गर्नु थियो ऊसँग, तर ऊ हिँडिसकेको थियो। त्यसै केही नभनी हिँड्ने मान्छे त थिएन ऊ। लाग्यो, मेरो प्रश्नले मन दुखाएछ क्यारे!