त्यतिखेर बिहानै काठमाडौँमा तुवाँलो लागेको थियो। हिउँदको महिना। जाडो हुने नै भयो। आधा सहर सुतिरहेको थियो। आधा सहर उठेर सल्याङ-बल्याङ आफ्नो कामधन्धाको सुरसार गर्न लागेको जस्तो देखिन्थ्यो। खिच्चा छाडा कुकुरहरू यताउति कुदेको, कुनै भुकिरहेको देखिन्थे।
पेटीका छेउ छेउमा फाटेका मैला बोरा ओडेर सुतेका मानिसहरू यत्रतत्र देखिन्थे। नारायणहिटी दरबारको दक्षिण ठूलो द्वारको बाहिरको सडकको पेटीमा एकजना मान्छे काँधमा सानो विस्तरा र हातमा एउटा अटैची झुन्डाएर लुरु-लुरु हिँडिरहेको थियो। घरीघरी नजर नारायणहिटी दरबारतिर पनि दौडाउँदै ऊ जय नेपाल चित्रघरतिर लम्किरहेको थियो।
उसको मनमा अनेक कुरा खेल्न थाल्यो 'पहिलेको राजदरबार त्यत्रो चहलपहल थियो। अहिले यसको महत्व नै हराएको। राजारानी र राजपरिवारको लगभग सम्पूर्ण सदस्यको हत्या हुँदा पनि कसैले सत्यतथ्य पत्ता लगाउन नसक्नु एउटा देशको निम्ति कति लज्जाजनक कुरा। देशमा सरकारै नभएको जस्तो।'
उसको मनमा नेपाललाई एउटा बलियो र सम्पन्न राष्ट्र बनाउने राष्ट्र सेवकको आवश्यक भएको महसुस भयो। शक्तिशाली र सक्षम सरकार भएको भए राजपरिवार पनि पक्कै सुरक्षित हुन्थेहोला जस्तो लाग्यो। सरकार बलियो भए पो देश र जनता पनि सुरक्षित हुन्छन्। आदि इत्यादि कुरा सोच्दासोच्दै उसको पाइला अघि बढिरह्यो। कमलपोखरी पुगेर त्यो मान्छे एउटा माथिल्लो तला बन्दै गरेको घरको भुइँतल्लामा प्रवेश गरेर कुनोको ढोका घच्घचायो।
'ए लोकल टुरिस्ट, तिमी पो यति बिहानै' डम्बरले ढोका खोल्दै त्यो मान्छेसँग हात मिलायो।
'डम्बर यार, अब अलि दिन तिमीहरुसँगै बस्न पर्यो' यतिभन्दै आफ्नो झिटिगुन्टा एउटा कोठाको कुनातिर राख्यो।
'आजकल कतिजना बस्छौ तिमीहरु?' कतातिर ओछ्यान लगाउन ठिक होला भनि आँखा र टाउको घुमाउँदै लोकल टुरिस्टले सोध्यो।
कोठाको भित्तामा जोडाएर दुईतिर दुईवटा ओछ्यान लगाइएको थियो। काठमाडौँको जाडोमा भुइँको सिमेन्टीको चिसो नलागोस् भनेर सबभन्दा तल बोराको खोलभित्र पराल खाँदेको मोटो डस्ना थियो। त्यसमाथि कपास भरेको पातलो डस्ना, तन्ना र सिरक थियो। एउटा कुनोमा खाना पकाउन मट्टितेलको दम दिने मैलो स्टोभ थियो।
छेउमै अलिकति आलु, प्याज चोयाको डालोमा राखेको थियो। सानो सिसीमा भुटुन हाल्ने तेल र सानो सानो बट्टामा नुन, जिरा, धनिया र मेथी राखिएको थियो। सानो सानो बोरामा चामल र दाल राखिएको थियो। उता छेउमै कति दिन नपखालेको सिलौटो र लोहोरो थियो। अलि पर आधी बाँकी मट्टितेलको सिसी थियो।
'तीन वटा कोठा छ। छ जना बस्छौँ एडजष्ट गरौँला नि धन्धा नमान यार। मेरो कोठा अलि ठूलो छ, तिमी यसैमा बसे हुन्न र? भान्सा पनि यसैमा छ' डम्बरको जवाफले लोकल टुरिस्ट ऊतिर फर्कियो। अनि 'ल धन्यवाद, डम्बर' भनेर मुसुक्क मुस्कायो।
लोकल टुरिस्ट र डम्बरको संवाद सुनेर अर्को छेउमा सुतिरहेको मान्छेले पनि अलिकति सिरक अनुहारबाट हटाएर चियाएर हेर्यो।
'हेलो विकास, सुत सुत' लोकल टुरिस्टले त्यो मान्छेतिर हेरेर भन्यो।
'ओहो! लोकल टुरिस्ट, के छ यार? अब हामी सँगै बस्नुपर्छ' भन्दै खुसी हुँदै उठेर उसले लोकल टुरिस्टसँग हात मिलायो।
लोकल टुरिस्टको खास नाम नरेन्द्र हो। काठमाडौँमा ऊ क्याम्पस पढ्न आएको चार वर्ष भइसक्यो। उसले कहिले पनि आफैले कोठा भाडा लिएर बसेको छैन। मानिस ऊ गफ गर्न सिपालु र साथीहरुसँग नरिसाइकन सधैँ मिल्ने स्वभावको। जो कोही साथी पनि ऊसँग बस्न, डुल्न र घुम्न पाउँदा आनन्द मान्छन्। जो जसलाई जुनसुकै काम आइपरे पनि ऊ लागिमेली गरिहाल्थ्यो।
पकाउन तुल्याउन र भाडा माझ्न पनि अगि सरी साथ-सहयोग गरिहाल्थ्यो। यही उसको असल मिजासले उसलाई काठमाडौँ छिरेपछि अहिलेसम्म निश्चित बस्ने डेरा भाडा आफैले लिएर बस्नु परेको छैन। ऊ लोकप्रिय भएकोले उसलाई आफ्नो डेरामा बस्न स्वागत गर्ने उसका जिल्लाबासी साथीहरू त छँदै थिए फेरि क्याम्पसका साथीहरु पनि थपिए।
त्यसैले मनपरून्जेल एकथरि साथीहरुको डेरामा ऊ बस्थ्यो। उसको अनुकूल नहुनासाथ झिटीगुन्टा र सानो अटैँची बोकेर चलिदिन्थ्यो अर्को अनुकूल मिल्ने साथीहरुकहाँ। घुमन्ते टुरिस्ट जस्तो बस्ने ठाउँको टुङ्गो नभएको र विदेशी नभई ऊ स्वदेशी भएकोले उसलाई सबैजना 'लोकल टुरिस्ट' भनि सम्बोधन गर्दथे। उसलाई 'लोकल टुरिस्ट' भन्दा ऊ गर्व नै गर्दथ्यो र ओठको जुँगा नै फैलिने गरी मुसुक्क हाँस्दथ्यो।
लोकल टुरिस्ट साँच्चै नै टुरिस्ट जस्तै देखिन्थ्यो। उसको गोरो वर्ण, लगभग छ फिटको उचाइ, खेलाडीको जस्तो हेर्दै दह्रोखरो कस्सिएको जीउ, प्रसन्न मुद्रामा हाँसिरहने अनुहार, मधुरो बोली र अति नै मिलनसार। ऊ फुटबल असाध्यै राम्रो खेल्थ्यो र जुनसुकै प्रकारको खेल खेल्नु परे पनि साथ दिइहाल्थ्यो।
फेरि गीत गाउन मिठो स्वर र नाच्न पनि सिपालु भएकोले लोकल टुरिस्ट साथीहरू माझ सधैँ लोकप्रिय भइरहन्थ्यो। ऊ जुन जमघटमा पुग्दथ्यो त्यहीँ छाइरहन्थ्यो। जुनसुकै जमातमा पुगे पनि साथीहरुलाई हात लिने कलाले भिडको नेतृत्व लिइहाल्थ्यो। यिनै विविध विशेषताले नरेन्द्रले साथीहरूबाट मायाले पाएको नाम हो 'लोकल टुरिस्ट'।
लोकल टुरिस्टले पहिलेको साथीहरुको कोठाबाट किन सरेर आयो, के चित्त बुझेन आदि इत्यादि के थियो, केही पनि नयाँ ठाउँका साथीहरुलाई बताउँदैन थियो। उसले छोडेर आएका साथीहरु पनि लोकल टुरिस्ट किन अचानक उनीहरुलाई छोडेर गयो भनेर भेउ पाउँदैन थिए। छोडेर जाँदा त्याहाँका उसका साथीहरुले उसलाई त्यहीँ बस्न अनेक आग्रह गर्दथे।
तर ऊ नयाँ साथीको नाम लिएर 'तिमीहरुसँग बस्दा म धेरै खुसी थिएँ। मलाई फलानो साथीसँग पनि एकदम बस्न मन छ। त्यसैले फिक्री नमान म जान्छु' भनेर हिँडिहाल्थ्यो। लोकल टुरिस्ट हिँडेको कति दिनसम्म त्यो डेरामा बस्ने साथीहरुलाई शून्य-शून्य लाग्दथ्यो। आफ्नो एउटा अभिन्न मित्रसँग बिछोड भए झैँ। अनि उनीहरू कतिदिनसम्म न्यास्रो पनि मान्दथे। शून्य-शून्य भए झैँ।
लोकल टुरिस्ट टियूमा मास्टर्स गर्दै थियो। यसपालिको देशको चुनावमा उसका साथीहरु उसलाई उठाउन खुबै जोड गर्दै थिए।
'यार, यो चुनाव सुनाव, राजनीति साजनीतिको चक्करमा कहाँ पढिरहने, छोडिदेऊ यार' लोकल टुरिस्ट सजिलै भन्दथ्यो।
'हैन लोकल टुरिस्ट, तिमीले त्यसो भन्न हुँदैन। हेर आज देशको स्थिति। तिमी हामीले पनि नसोचे के होला? देश र जनताको लागि हामी पढेलेखेको मानिसले सोच्नै पर्छ र केही राम्रो गर्नै पर्छ।' सबैजना टियूका विद्यार्थी उसलाई हौसला दिन्थे। जिल्ला, क्षेत्र र क्याम्पसका सबै शुभचिन्तकहरुले पनि जोड गर्न थाले। सबैको जोडको अगाडि आखिरमा लोकल टुरिस्टको केही लागेन। ऊ चुनावमा उठन तयार भयो।
साथीहरुको सुझाव बमोजिक चुनावमा उसलाई सुरूमै उठिहाल्न मन लागेन। त्यसैले लोकल टुरिस्टले सुझाव दियो 'सुरुमा नयाँ पार्टीलाई हाइलाइटमा आउन त्यति सजिलो हुँदैन। त्यसैले पहिले हामी आफ्नै प्रदेशबाट चुनावमा लड्न आरम्भ गरौँ। अनि सफल भयौँ भने अर्को चुनावदेखि अरु-अरु प्रदेशमा थालौँला।'
'हो हो ,अति उत्तम आइडिया' सबै उसका साथीहरु, फलोअर्स र शुभचिन्तकहरूले होमा हो थपे।
ऊ र उसका समर्थक साथीहरुको प्यानल बन्यो। पार्टीको नामाकरण भयो 'नेपाल सेवक'। चुनाव चिन्ह भयो लोकल टुरिस्टले एउटा डेराबाट अर्को डेरामा जाँदा बोकेको जस्तो झलक दिने 'बिस्तरा र अटैची'।
प्रदेशको चुनावमा ५ वर्ष भित्र पूरा गर्ने लक्षसहित 'नेपाल सेवक' पार्टीका एजेन्डा बने:
१. प्रदेशका विद्यार्थीलाई १२ कक्षासम्म निःशुल्क शिक्षा
२. प्रदेशका बासिन्दालाई निःशुल्क स्वास्थ्य उपचार
३. प्रदेशका जनतालाई प्रदेशमै रोजगारी। प्रदेशको जनताले रोजगारीको निम्ति अन्यत्र जान नपरोस्।
४. प्रदेशको जलश्रोतको पूरा उपयोग गरी पिउने पानीको घर-घरमा प्रबन्ध, बिजुलीमा आत्मनिर्भर भई अरू प्रदेशमा निर्यात
५. प्रदेशमा आवश्यकता बमोजिम सडक र ढल निर्माण, फोहोरमैलाको उचित व्यवस्थापन
६. कृषकलाई मेहनत बमोजिम आम्दानी हुने गरी कृषी क्षेत्रमा सबै सुबिधा र कृषिको द्रुत विकासमा सबै प्रकारको सरकारी सहयोग
७. उद्योगधन्दामा लगानी र विकास
८. आर्थिक र व्यापारिक सही व्यवस्थापन गरी प्रदेशको आम्दानीमा जोड
९. नयाँ टेक्नोलोजीको विकासमा लगानी र विकास
१०. घुस, भ्रष्टाचार, नातावाद, कृपावादको निर्मूल गर्न कडा कानुनको व्यवस्था
११. असहाय, अपांग र असक्षम जनलाई पढाइ, स्वास्थ्य उपचार, यात्रासाधान, मनोरञ्जन र रोजगारीमा विशेष कोटाको व्यवस्था र हर प्रकारको सुविधा
१२. भोकानाङ्गा, दैवीप्रकोपमा परेका, दु:ख झेलेकालाई उनीहरुको बेसिक आवश्यकता अनुरूप उचित सरसुबिधा, सहयोग, प्रोत्साहन र मौका जसले गर्दा उनीहरुलाई जीवनयापनमा असजिलो नहोस्।
आज खुसीयालीको दिन। नेपाल सेवक पार्टीले साँच्चीकै लगभग सबै सिटहरुमा चुनाव जितेर सरकार बनाउने भयो। जताततै मानिसहरू रमाइरहेका थिए। के विद्यार्थी, के रोगी, के व्यापारी, के अपाङ्ग, प्रदेशभरी सबै नै विजय उत्सव मनाइरहेका थिए।
लोकल टुरिस्ट प्रदेशको मुख्यमन्त्री भएर आफ्नो मन्त्रीमन्डलाई सपथ खुवाउँदै थियो। अनि उनीहरु लगायत सम्पूर्ण अरु पदमा नियुक्ति भएका र सारा 'नेपाल सेवक' पार्टीका कार्यकर्ताले 'नेपाल आमा' भन्दै धरतीलाई ढोकेर प्रदेश र यसका जनताको निम्ति सदैव सत्यकर्म गर्ने, जनतालाई सुख दिने र प्रदेशको विकासको सुकार्य आफ्ना एजेन्डा अनुरूप नै पूरा गर्ने कसम खाए।
लोकल टुरिस्टले प्रसन्न मुद्रामा माइकमा भाषण गर्दै भने 'अब ढुक्क हुनुहोस्, नेपाल सेवक पार्टी नेपाल आमाको काखमा हुर्किँदै जाने हुनाले सधैँ नै यो प्रदेशको उन्नति प्रगति गर्दै जानेछ। सबै प्रशासक, कर्मचारी र सरकारको कडापरिश्रमले सही, साँचो काम गरेर यो प्रदेशको विकास गर्नेछ। नेपाल सेवकको एजेन्डा र परिआउने सबै थप विकासका कार्यहरु क्रमश: गर्दै गएर यो प्रदेशलाई नमुना प्रदेश बनाउनेछ। हामी तन-मन दिएर सफलताको लक्ष्यमा अघि बढौँ, ताकि अरु प्रदेशलाई पनि प्रदेश विकासको असल कार्य सिकाउन सकौँ।'
कार्यक्रमको अन्त्यमा हजारौँ हजारको भिडले ताली बजाउँदा पूरै प्रदेश हर्षले गुञ्जाएममान भएको थियो।
लोकल टुरिस्ट मुख्यमन्त्री भएको प्रदेशको चौतर्फी विकास हुन थाल्यो। गाँस, बास र कपासको त प्रदेशका कोही पनि जनतालाई समस्यै नहोस भनेर प्रबन्ध मिलाउँदै जान थालियो। जनताहरुमा अनुशासन, मेहनत गर्ने बानी, एकआपसमा सदभावना र सहयोगको भावना आपसे आप उत्पन्न हुनथाल्यो। लोकल टुरिस्टको प्रदेश सुख, शान्ति र चौतर्फी विकासको एउटा नमुना प्रदेश हुँदै गयो। त्यसको असर छिमेकी प्रदेशमा पनि पर्न थाल्यो।
केही महिनापछि फेरि एउटा बिहान काठमाडौँमा हुस्सुले ढाकेको थियो। जाडोको महिना। चिसो हुने नै भयो। आधा सहर सुतिरहेको थियो। आधा सहर उठेर सल्याङ-बल्याङ आफ्नो कामधन्धाको सुरसार गर्न लागेको जस्तो देखिन्थ्यो। खिच्चा छाडा कुकुरहरू यताउति कुदेको, कुनै भुकिरहेको देखिन्थे। पेटीका छेउछेउमा फाटेका मैला बोरा ओडेर सुतेका मानिसहरू यत्रतत्र देखिन्थे।
नारायणहिटी दरबारको पश्चिम द्वारको बाहिरको सडकको पेटीमा एकजना मान्छे काँधमा सानो बिस्तरा र हातमा एउटा अटैची झुन्डाएर लुरु लुरु हिँडिरहेको थियो। घरीघरी नजर नारायणहिटी दरबारतिर पनि दौडाउँदै ऊ लैनचोरतिर लम्किरहेको थियो। पश्चिमद्वार अगाडि दुर्गन्ध फैलिरहेको फोहर थियो। त्यसैले फोहर कुल्चेला भनेर जोगिएर ऊ हिँडदै थियो।
एकजना जगर सडकको अर्कोपट्टि जगिङ गर्दै थियो। जगरले लोकल टुरिस्टको सारा कहानी र उसको प्रदेशको सफलता अनि दिन प्रतिदिन भइरहेको उन्नति प्रगति बारे धेरैजनाबाट सुसमाचार सुनेको थियो। मिडियाहरुबाट लोकल टुरिस्टको प्रदेशको राम्रो खबर पूरै देशमा एककान, दुईकान मैदान हुँदै फैलिरहेको थियो। फेरि लोकल टुरिस्ट जस्तै अर्को मान्छे हिँडिरहेको देखेर जगरलाई लाग्यो अब यो मान्छेले पनि लोकल टुरिस्टले जस्तै अर्को प्रदेशको निम्ति राम्रो काम गर्नेछ।
यस्तो सोच्दासोच्दै जगर सडकको अर्कोपट्टि त्यो मानिसको नजिकै समानान्तरमा पुग्यो। उसले बिस्तरा काँध फेर्दा एकचोटि पुलुक्क जगरतिर हेर्यो। जगरलाई ऊ दुरूस्त अर्को लोकल टुरिस्ट जस्तो लाग्यो। जगरलाई यस्तो लाग्यो यो मानिसले पक्कै पनि अर्को प्रदेशको नेतृत्व गरेर लोकल टुरिस्टको प्रदेश जस्तै विकास गर्नेछ। प्रदेश सरकारले सफासुग्घर गरेदेखि कमसेकम यसरी सडकको पेटी र पर्खालको भित्तामा फोहोर र दुर्गन्ध त हुने थिएन। रोजगारीको व्यवस्था भए घरविहीन भएर पेटीको छेउ छेउमा बोरा ओडेर मानिसले सुत्नु त पर्दैन थियो।
जगर खुसी हुँदै दुवै हात हल्लाउँदै उसले सुन्ने गरी ठूलो स्वरले करायो 'सफलताको धेरै-धेरै शुभकामना'।
प्रतिउत्तरमा ऊ मुसुक्क हाँस्यो। अनि प्रसन्न मुद्रामा जगरतिर फर्केर ठूलै स्वरमा 'धन्यवाद महाशय' भन्दै अघि बढ्यो।