आजकल म
चुरोटको धुवाँसँगै
जिन्दगी उडाइरहेछु
यी कोमल सुन्दर ओठहरुलाई
कालो धब्बाको बिम्ब बनाइरहेछु
न दुनियाँको परवाह छ न आफ्नो नै
म त केवल सडक, चिया पसल अनि
सहरका गल्ली-गल्लीमा धुवाँको सर्कोसँगै
एउटा असीम चाहका साथ
आफैलाई उडाइरहेछु।
एउटा त्यस्तो चाह
जुन मेरो छायालाई समेत चिन्ने
तिम्रो मनले आभास गर्न सकोस्
मैले उडाएका धुवाँका रागहरुलाई
मैले सल्काएका प्रत्येक खिल्ली
चुरोटका टुक्राहरुलाई
तिम्रो मनले महसुस गर्न सकोस्
अनि मेरो समीपमा
तिम्रो आवाज गुन्जियोस्
प्यारो मान्छे बिन्ती छ
मेरो लागि भए पनि यी चुरोटका धुवाँ
उडाउन छोडिदेऊ
यी गल्लीहरुमा भौतारिन छोडिदेऊ
अनि तिम्रा ती कमल ओठका बान्कीहरुलाई
फिक्कापनले धपक्क ढाक्नबाट रोकिदेऊ
हेर त
यही धुवाँले तिम्रो ओठ कलेजी परिसके
मुहारलाई फुस्रोपनले धपक्क ढाकिसके
कतै तिम्रो फोक्सो नै बिगारिसकेको त छैन
अनि कतै तिम्रो कलेजोमा
कालो धब्ब त बसिसकेको छैन!
हो, म यिनै आभास चाहन्छु
चुरोटको लत छुटाउनको लागि
कुनै दिन जब म यो कुराको आभास गरौँला
त्यस दिन म
पहिलेको कुनै गल्ती दोहोर्याउने थिइनँ
तिमीलाई रुवाउने पनि थिइनँ
अनि हावासँगै चुरोटका यी धुवाँ
उडाउने पनि थिइनँ
यी सबै कुरा छोडेर
थाल्थेँ त केवल तिमीसँगै सपनामा
उड्न अनि उडाउन
जीवन रुपि यात्राका मिठा प्रहरहरुसँगै।
तर विडम्बना
त्यो प्रहर मैले गुमाउन पुगेछु
मैले बोलाएँ, धेरै बोलाएँ
जति बोलाउँदा पनि तिमी आएनौ
सुन्ने कुनै कोसिस नै गरेनौं
किनकि तिमीमा एउटा लुकेको
क्षयिक पक्ष छ
जसलाई मैले अहमताको नाम दिएँ
घमण्डको उपनाम दिएँ
अनि यादलाई भुल्ने तिक्तताको नाम पनि दिएँ
जसको साथमा तिमी रम्दैछौ
जीवनको स्वप्निल सागरलाई धुमिल पार्दै।
यति हो प्रिय
तिम्रा याद त नबोलाउँदा पनि आइरहन्छ
अनि ती यादहरुले औधि सताइ पनि रहन्छ
र त चुरोटका खिल्ली सल्काउने गर्छु
तिनै स्वप्निल यादहरु बिर्साउन
हावामा चुरोटको धुवाँ उडाउने गर्छु
अनि आफैंलाई प्रश्न गर्छु
चुरोट सल्किरहँदा यसको धुवाँहरु हावासँगै हराइरहेछन् तर
म आफै सल्किरहँदा किन हराउँदैनन्
तिम्रा यादहरु हावाको झोकसँगै?