दियो भरी हालेको तेलको सहाराले बल्ने दियोलाई हेर्छु
आँगनमा रोपेको मखमली अनि फक्रेको सयपत्रीलाई हेर्छु
खोइ कति जनाको निमित्त लिएर आउँछ थाहा छैन
आउन त खुसीको प्रतीक
सौम्यताको प्रतीक
सौन्दर्यताको प्रतीक
अनि उज्यालोको प्रतीक बनी आउँछ अरे
हरेक वर्ष माहोल बोकी आउने यही तिहारलाई हेर्छु
कागको चेष्टालाई हेर्छु, यसले ल्याएको सन्देशलाई बुझ्छु
कुकुरको त्यो अनिन्द्रा हेर्छु, यसको बफादारीलाई सम्झिन्छु
मैले पुज्ने गाई गोरूको, म प्रतिको लगाव सम्झिन्छु
अनि फेरि गम्छु
मानिसबाटै मानिस प्रतिको कुचेष्टा सम्झन्छु
इमान्दारितालाई लिलाम गर्न तयार मानव जगत सम्झन्छु
क्षण भरमा माया भुलाउने कठोर मन सम्झन्छु
अनि प्रार्थना गर्छु
हर मैलो हटाएर दियो झैं कञ्चन बलोस्
हरेक मानव भित्रको आत्मा जडित दियोहरू
सेलजस्तै गोलो छैन र दुनियाँ अनि जगत
मालाजस्तै गोलो छैन र दुनियाँ अनि जगत
जहाँ सुरू छ आखिर त्यहीँ अन्त्य हुने होइन र जगत
घमण्ड पनि आखिर एउटा शिखर चडी त्यहिँ झर्ने न हो
हरेक चिज शून्यमा सुरू भो...आखिरीमा नि शून्यमै मिल्ने न हो
चाहे घरबरी नै ढकमक्क झिलिमिलीले ढाक
नसके मैनबत्ती बालेर, साँझको प्रहरमा रोशनी डाक
चाहे घरभरि नयाँ रंग नै फेर तिमी
नसके नि माकुराको जालो हट्ने कसिंगर भए नि बढार तिमी
सच्चा उपासना घनिभूत होस्...मनमा उज्यालो फिजाऊ तिमी
मनैदेखि पुकारेर माता लक्ष्मीलाई सम्झे है तिमी
नमाग्नू धन यसै मैलिएर जान्छ कठै
यो पटक तिहारमा...मनको उज्यालो मागे है तिमी
यो पटक तिहारमा...मनको उज्यालो मागे है तिमी