प्रिय छोरी,
मलाई थाहा छैन छोरी म कहाँनिर चुकें, कहाँ गल्ती भयो! मैले सिकाउने संस्कारमा कहाँनिर के पुर्याउन सकिनँ। साने जन्मेको एक वर्षपछि तिम्री आमालाई क्यान्सरले लग्यो। त्यहीँ दिन नै मलाई यो संसार अँध्यारो लागेको थियो। म त्यँही दिन बिदा लिन चाहन्थेँ संसारबाट।
९ वर्षको प्रेमपछि घर, बाआमाको मन्जुरी बिना गरेको बिहेले म घरबाट अलग्गिएँ। त्यहीँ प्रेमले तागत दियो। जसोतसो परिवार पाल्ने हैसियत बनाएँ। दोस्रो वर्षमा नै तिमी जन्मियौ। अनि त्यसको ४ वर्षपछि साने। अनि अर्को एक वर्षपछि दैवले खुसी खोस्यो मेरो पोल्टाबाट। तर खुसीका किरणजस्तै बनेर आएका तिमीहरुका अनुहारले मलाई बाँच्न साहरा दियो।
म हरेक रात तिमीहरुकै अनुहार हेरेर निदाउथेँ। बिहानको उज्यालो तिमीहरुकै अनुहार हुन्थ्यो मेरो लागि। म आमा त बन्न सक्दिन थिएँ तर कुनै प्रयास छोडिनँ बुवाको कर्तब्य निभाउन। मैले खुसी तिमीहरुका मुस्कानमा देख्न थालेँ। तिमीहरुका खेल मेरो भुल्ने बाटो हुन थाल्यो। तिमीहरुको स्कुल मेरो प्रतिक्षालय हुन थाल्यो। तिमीहरुका पढ्ने किताब मेरा विषय हुन थाल्यो।
तिमीहरु बच्चा हुँदा म तिमीहरुसँगै बच्चा भएँ। तिमीहरुसँगै म पनि हुर्किएँ। म सायद तिमीहरुसँगै दोस्रो जिन्दगी बाँचे। आफूलाई सर्वस्व सुम्पेर माया गर्ने मान्छे त थिइन मसँग, न थियो बाआमाको साथ। तर एउटा विषय भैदियो मसँग जसलाई हेरेर म यो जुनी कटाउन सक्ने हुँदै थिएँ।
कि आफूलाई माया गर्ने मान्छे भयो भने बाँच्न रहर लाग्दो रहेछ कि भने आफूले माया गर्ने मान्छे भयो भने। मैले मसँग भएको सबै माया तिमीहरुकै खुसीको लागि खन्याएँ। एउटा जागिरले जतिसम्म कमाउन सक्थें त्यतिले तिमीहरुकै खुसी किन्न बजार हिँड्न थालेँ। समाजले अनेक तर्कना गर्थेँ। मेरो दोस्रो विवाहका लागि अनेक प्रयास भयो, तर म मानिनँ। म तिमीहरुको खुसीको लागि कुनै सम्झौता गर्ने पक्षमा उभिन चाहिनँ।
ठुली, तिमीले १२ सम्म पढिसकेपछि तिमीलाई काठमाडौं पठाउने निर्णय गरें। टाढा पठाउने रहर थिएन कत्ति पनि। तिमीले नमान्दा नमान्दै पनि पढ्नै पर्छ, ठाउँ चिन्नु पर्छ, कुनै कुरामा पनि कहिले पछि पर्न नपरोस तिमीहरुलाई, म छु, म पुर्याउँछु तर तिमीहरु हिम्मत नहार मेरो चाहना यहीं थियो।
तिमी काठमाडौं गएको आज ७ महिनापछि, तिहारमा आउने बेला हुनै लाग्दा म बारीमा तरकारी लगाउँदै थिएँ। सम्माको श्यामले फोन गरेर 'साइला, ठुली त पोइला गैछे नि हेर त, फेसबुकमा फोटो रखिछे बिहे गरेको' भन्दा म अलमल्लमा परेँ। फोन राखें। झनक्क रिस उठ्यो। हात थरर्र काप्यो।
त्यसले जे भन्यो त्यो मैले सुनेकै हो। त्यसले मलाई नै फोन गरेको हो। मेरै ठुली छोरीको नै कुरा गरेको हो मैले सुनेअनुसार। तर विश्वास गरौँ र म त्यो कुरालाई? मलाई यति विश्वास त छ कि, मेरा छोरीहरुले जिन्दगीको गोरेटोमा चाल्ने हरेक पाइला अगाडि सार्दा मेरो मुख हेर्नेछन्। विश्वास नलागे पनि मैले केही त सुनेँ। केही त भयो।
काम गर्न मन लागेन लागेन भन्दा पनि हात चलेनन् मेरा। भुइँमा थचक्क बसेँ। म भन्न सक्दिनँ कि म श्यामसँगको रिसले गलेँ कि मेरो विश्वासको डरले। मोबाइल निकालेँ, तिम्रो नम्बरमा फोन गरेँ, फोन अफ भन्यो। मैले त्यहीं बुझेँ जुन श्यामले भन्यो मलाई।
मैले त्यहीँ दिन सम्झिएँ जुन दिन म तिमीहरुलाई किताब किन्न बजार गएर ढिला आउँदा दुई बहिनी आगनमा अँगालो हालेर 'मोबाइल किन अफ गर्नु भएको बुवा?' भनेर झम्टिएर रोएका थियौ। मैले त्यहीं दिन सम्झिएँ ठुली। मैले सानेलाई फोन गरेँ, सानेले रूँदै 'बाबा घर आउनु न छिट्टो' भन्दा म फेरि भुइँमा लडेँ।
मलाई अब थाहा भयो यो मेरो विश्वासको डर हो भनेर। म कुनै चर्के पिङको टुप्पाबाट खसेजस्तै लाग्यो। घुम्यो दिमाग एक पृथ्वी। बाउँडिए हात खुट्टा। उठ्न मानेनन्। म सकिनँ कसै गरे पनि उठ्न सकिनँ। सकिनँ ठुली तिम्रा बाबा भन्दै बोलाएका आवाजहरु कानमा आउनबाट हटाउन। सकिनँ मैले मेरा हातका अँलाहरुमा तिमीलाई हिँड्न सिकाउँदाका डामहरु हटाउन।
मलाई मेरै शरीर उठाउन पहाड उचाले सरह हुन थाल्यो। बल्लबल्ल घरसम्म गएँ। गाउँका मान्छे थोर बहुत हाम्रो घर हेर्दै हाम्रै बिलौनाका गफ गर्दै थिए सायद। साने मलाई देखेर धेरैबेर रोई। के सोची त्यसले थाहा छैन। के बुझी त्यसले थाहा छैन। म केही बोलिनँ। हावा पक्कै चल्यो कतै, त्यसैले त हल्लियो पात पुरै मेरो सोच र सपना हल्लिने गरी।
उमेरकै कुरा गर्ने हो भने भर्खर १९ पुगेकी हौ। बिहे गर्ने उमेर भएको हो या होइन तिमी आफै जान छोरी। तर अचानक यो निर्णय केका लागि थियो छोरी? होला हुन त तिम्रै आफ्नै बाध्यता होलान् प्रेमका। तर त्यस्तो पनि के बाध्यता छोरी जुन मलाई भन्न सकिनौ? म त्यहीं बाउ हो ठुली, जसले तिमीहरुको खुसीको लागि आफू बिर्सिएँ। आफ्ना बिर्सिएँ। सपना देखेँ तिमीहरुकै आँखाबाट, तर आज यो दिन।
सायद, म अझै तिमीलाई बच्चै सम्झेर गल्ती पो गरेँ कि? म भन्दिनँ तिमीले लिएको निर्णय गलत हो भनेर तर एकचोटि गहिरिएर सोच्दा समय गलत थियो कि? म कदापि चाहन्नँ तिम्रो निजी जिन्दगीमा मेरै कुरा मान्नुपर्छ भनेर अडान लिन। मलाई थाहा छ ठुली, तिमीलाई पनि महसुस त छ, तिमीले चालेको कदम कति उपयुक्त छ या छैन भन्ने। त्यसैले त मलाई जानकारी भएन केही।
तिमीलाई लाग्यो होला बाबाले दिनुहुन्न, स्वीकार्नु हुन्न। ए छोरी, म कसरी स्वीकार्न सक्छु मेरा सपनाहरु विलीन हुँदै गएको हेर्न? कसरी हेर्न सक्छु मेरा बगैँचाका फूल कोपिलाबाट नै ओइलाउँदै गएको हेर्न, तिम्रो उज्यालो भविष्यलाई वर्तमानले धमिल्याउन खोजेको? तिमीले सोधेको भए पनि म राजी हुने थिइनँ। तर सोधेको भए म तिमीलाई मनाउन सक्थेँ, बुझाउन सक्थेँ।
यो सब कुराहरु भनिरहँदा म अलिकति स्वार्थी बाउ कहलिन सक्छु। मेरो सपनाहरु पूरा नभएको कुरालाई लिएर मैले तिमीले चालेको कदम गलत थियो कि भन्ने कोसिस गरिरहेको हुन सक्छु। तर हरेक बाबु-आमाको मुख्य चाहना छोराछोरीकै खुसी हुन्छ ठुली। तिमी यहीँ कदमबाट खुसी हुन्छ्यौ जिन्दगीमा भने म यसमै खुसी हुन्छु। जहाँ लाग्छ जिन्दगीले बग्दै जानू, पढ्न नछोड्नू, सके आफ्नै खुट्टामा उभिने हुनू, सही-गलत चुन्ने क्षमता राख्नु।
मसँग अझै एउटा फूल छ, जसलाई हुर्काउन छ सकुशल। उसलाई बुझाउनु छ के हो जिन्दगी। उसलाई पुर्याउनु छ त्यो कुराहरु जुन तिमीलाई पुर्याउन सकिनँ। उसलाई सिकाउनु छ ती कुराहरु जुन तिमी गैसकेपछि मैले सिकेको छु। दुःख चाहिँ लाग्दो रहेछ छोरी, आफूले सर्वस्व सुम्पेर हुर्काएका छोराछोरीलाई छोराछोरीको एउटा निर्णयको भरमा 'आमा नभएसी, बाउले मात्र हुर्काएका यस्तै त हुन् नि' भनेर समाजले भनिदिँदा। आशा छ तिमी खुसी छ्यौ। आशा छ तिमी खुसी हुनेछ्यौ। आशा छ सानेले केही सिक्ने छे यहीं कुराबाट।
यति लेखिसकेपछि थोरै शब्द ज्वाइँलाई लेख्न मन लाग्यो। ज्वाइँ साहेब! यो मेरी ठुली छोरी अलिक नबोल्ने स्वभाव कि छे। मनमा लागेको कुरा मनमै राख्छे। कसैसँग सुनाउने बानी छैन। आशा छ हजुरको प्रेमले त्यो कुरा बुझ्ने छ। यसलाई चिसोसँग टाढै राख्नु होला, यसको शरीरले चिसो सहन सक्दैन। यसले दुःख बुझेकी छे, दुःखका दिन झेलेकी छे। त्यसले जस्तै परिस्थितिमा पनि यो हिम्मत हार्ने छैने। यसलाई पढ्न मन छ, आशा छ यसको पढाइ पूरा गर्न हजुरले साथ दिनुहुनेछ। जहाँ हुनुहुन्छ खुसी रहनुस्। मेरो आशीर्वाद सदैव रहनेछ। यी शब्दहरुलाई एउटा बाउको नजरले हेरेर माफ गर्दिनुहोला।