मेरो बुढो छिमेकी
मेरै जस्तो रंग, आकार र कद
गुडिया र ऊ दुई जना मात्र बस्छन्
त्यो घरमा
र
ऊ सधैं गुडियासँग कुरा गरिरहन्छ
कहिले मुस्काएर
कहिले सुस्काएर
कहिले चिच्याएर
कहिले फकाएर
कहिले प्रेमाभावमा
कहिले आवेगमा
कहिले मुसारेर
कहिले थचारेर
एक रत्ति अल्छी नमानिकन
साँझ बिहान
रातविरात
बोलिरहन्छ
बोलाइरहन्छ
र सुनाइरहन्छ
दन्त्यकथा जस्तो लाग्ने सत्यकथाहरु
त्यो कपडाको रंगिन गुडियालाई।
ऊ गुडियालाई देशको कथा भन्छ-
देश गुमाउनुको पीडा
देश गुमाउनेको पीडा
देशले गुमाउनेको पीडा
देशलाई गुमाउनेको पीडा
अहो,
कति कहाली लाग्दो कथा!
भोग्नेले मात्र बुझ्छन् अरे
सायद, उसलाई पनि त्यही लाग्दो हो
गुडिया बाहेक अरु कसैले सुन्दैन
'माटो र मान्छेको सुषुप्त सम्बन्ध
माटो र नाकको अमूर्त गन्ध
माटो र जिब्रोको अदृश्य स्वाद'।
ऊ गुडियालाई परिवारको कथा भन्छ
पखेटा लागेर गुँड छोडेका
छोराछोरीसँगको निर्जीव सम्बन्धको कथा
अन्तिम साससम्म पनि प्रेममै डुबेकी पत्नीको कथा
पर क्षितिजमा छुटेका परिवारको कथा
पहिले टुटेका परिवारको कथा
माया गर्ने परिवारको कथा
घृणा गर्ने परिवारको कथा
सबैको कथा
अनि फिस्स हाँस्छ
कठै! कसले बुझ्छ यहाँ
परिवार, माया,मोह, सम्बन्ध, बिछोडका
अमूर्त कथाहरु
तब त उसलाई लाग्दो हो
गुडियाले मात्र सुन्न सक्छ
परिवारको कथा
र भनिरहन्छ।
उसको आफ्नै पात्रो छ
चाडबाड, तिथिमिति, घडिपला आफ्नै
हो,
चाडबाडको दिन ऊ झर्किन्छ गुडियासँग
मरेर बाँच्नेहरुको चिहान हो यो अरे
नातागोता, फूलमाला, धुप, मन्दिर, पूजाका
कथा सुनाउँछ गुडियालाई
सायद, उसलाई लाग्दो हो
सिर्फ गुडियाले मात्र सुन्न सक्छ
उस्का धर्म, संस्कार, रीतिरिवाजका कथा
गुडियाले मात्र।
आज बिहानै म मुस्काएँ,
उस्ले गुडियालाई भन्दै थियो-
'जेसुकै होस्, म आत्मा मार्ने हत्यारा चाहिँ बन्दिनँ।'