अरु दिन झैँ कलावती आज पनि बिहानै उठिन्। तर, आज उनी रातभरि निदाउन सकेकी थिइनन्। आफूले गरेको निर्णय ठिक भयो कि गलत उनको मनमा कुरा खेलिरह्यो।
छोरा-बुहारीको नमिठो व्यवहार, बोलीवचन सम्झँदा आफ्नो निर्णय ठिकै जस्तो लागे पनि आफूले जुग बिताएको ठाँउ, माया मेहनतले भिजेको घरबारी, इष्टमित्र आफन्त सम्झँदा आफ्नो निर्णय गलत जस्तो लाग्थ्यो। तर एक पटक निर्णय गरिसकेपछि आफ्नो निर्णय बदल्न चाहिनन्।
रातभर दशौँ पटक घडी हेर्दा बल्ल बिहानको चार बज्यो। विस्तारै उठिन्। हिजो राति नै ठिक्क पारेर राखेको झोला भिरिन्। कसैले आवाज नसुन्ने गरेर सुस्त ढोका खोलिन् अनि आँगनको बत्तीको स्विच विस्तारै थिचिन्। रातभरिको शीतले भिजेका सयपत्री फूल बत्तीको उज्यालोमा टल्किए तर कलावतीलाई कुनै रमाइलो लागेन। मनमा खुसी भए पो फूलै राम्रो जूनै राम्रो, मन बेखुसी भएपछि सबै नराम्रो सबै नरमाइलो।
कात्तिकको महिना, आउँदै गरेको तिहार, आँगनभरि फुलेका सयपत्री केहीले पनि उनको कदमलाई रोक्न सकेन। आगँनमा रोपेको तुलसीलाई दाहिने पार्दै कलावतीले तगारो खोलिन्। घरबाट निस्केको पन्ध्र मिनेट जति उनका पाइला गह्रुंगा भए। तर एकछिनपछि पाइला फटाफट अगाडि बढे। झिसमिसे उज्यालो हुँदा कलावतीले गाउँ काटेसकेकी थिइन्। बस-स्टेशन पुग्दा झलमल उज्यालो भैसकेको थियो।
'मलाई देवटघाटसम्म पुग्न थियो। यो गाडी कहाँसम्म जान्छ बाबु?' कलावतीले नजिकै रहेको ड्राइभरलाई सोधिन्।
'जान त चितवन नै हो तर देवघाटसम्म त जान्न तर ठिकै छ बस्नुहोस्। हजुरलाई देवघाटसम्म पुर्याएर फर्कौँला। चाडबाडको बेला गाउँ भित्रिने प्यासेन्सजर त जति पनि पाइन्छन् तर गाउँबाट बाहिर जाने प्यासेन्जर पाउन असाध्यै गाह्रो।'
'म बुढी मान्छे पछाडि सिटमा गाह्रो हुन्छ, मलाई अगाडि सिट मिलाइदिनुस् न है,' कलावतीले काखीमा च्यापेको झोला झ्यालबाटै ड्राइभरलाई दिँदै आफू बढो मुस्किलले ढोकाबाट उक्लिएर ड्राइभर नजिकैको सिटमा बसिन्।
कलावतीको उमेरले चार बिस काट्न अझै एक बिस बाँकी थियो तर रोग र शोकले शरीरलाई यति जीर्ण बनाएको थियो कि उनी आफ्नो वास्तविक उमेरभन्दा एक दशक बढी उमेरकी देखिन्थिन्। सुगर, प्रेशर, थाइराइड जस्ता स्थायी रोगले गाँजेको एक दशक बढी भैसकेको थियो। त्यहीमाथि बेलाबेला बल्झिरहने अन्य रोगहरु।
'आमा भोक लाग्यो होला, केही खानुहुन्छ?' झ्याप्पै ब्रेक लागेसँगै ड्राइभरले सोधेको प्रश्नले कलावती झस्किइन्।
'भोक त लागेको छैन, पेट मचमची मात्र हुन्छ। यो पहाडको घुमाउरो बाटो कतिबेला सकिन्छ बाबु?"
'अब त तराईको सिधा बाटो मात्र। पहाडी बाटो त सकियो। हजुरले के खानु हुन्छ म ल्याइदिन्छु। देवघाट पुग्दासम्म त साँझ पनि पर्न सक्छ।'
'मैले गाडीमा यात्रा गर्दा खानेकुरा खानै सक्दिनँ तर पनि औषधि खानैकै लागि दुई पिस बिस्कुट भए पनि खान्छु।'
ड्राइभरले एक पुरिया विस्कुट एक बोतल पानी कलावतीको हातमा राखिदिए। कलावतीले औषधि खाने बित्तिकै गाडी स्टार्ट भयो।
'तिहारको बेलामा देवघाट किन जान लाग्नुभयो? दाजुभाइ उतै हुनुहुन्छ र?
'होइन बाबु, म त वृद्धाश्रम जान लागेको घरव्यवाहार सबै त्यागेर, साह्रै दिक्क लाग्यो बाबु।'
'किन आमा घरै छोडेर हिँड्ने गरी यति दिक्क मान्नुभयो? हजुरको छोराछोरी, ज्वाइँ, बुहारी, नाति-नातिनी, इष्टमित्र आफन्त कोही छैनन् र? नभएको भए बरु छैनन् भन्नु हुन्थ्यो, भएर पनि नभए जस्तो हुँदा त साह्रै पिर पो पर्दो रैछ।'
'आफ्नो पालामा कति दुःख गरेर श्रीसम्पत्ति जोडियो। आफू भोकै बसेर यिनीहरुको पेट भरियो। यिनै लालाबाला भनेर आफ्नो सुख, खुसी त्यागेर यिनीहरुकै लागि मरीमेटी गरियो। तर बुढेसकालमा सबैको बोझ भइयो।
हाम्रो पालामा सासूलाई कति माया र सम्मान गर्यौं। सासूले लाए अह्राएको काम खुरुखुरु गर्यौं। कहिल्यै नमिठो बोली व्यवहार गरेनौँ। सासूलाई काम लगाउने त परै जावोस्, प्रत्येक दिन सासूको खुट्टामा चिल्लो नगाएर मात्र म सुत्न जान्थेँ चाहे दिनभरि जतिसुकै कामले थाकेको ज्यान किन नहोस्।
हे भगवान! आजकालका बुहारी सासूको सम्मान त परै जावस् उल्टै शासन गर्न खोज्छन्। म बिरामी भएर एक गिलास पानी तताउन पर्यो भने पनि बुढी कति बिरामी हुनसकेकी भनेर उल्टै झर्कोफर्को। म मेरा रहरले बिरामी परेकी हुम् र? त्यसलाई पनि त बुढेसकाल आउला, पालाको पैँचो त हुन्छ हुन्छ। मेरै सम्पत्ति, मेरै घर त्यसले शासन गरेको के मलाई चित्त बुझ्छ? लौ भन्नुस् त ड्राइभर बाबु' पहाडी बाटोमा चुपचाप बसेकी कलावती तराईको बाटो जोशिएर गफ गरिरहेकी थिइन्।
'बुहारीको व्यवहार सम्झिने हो भने त बाबु शरीरको एक-एक रौ जुरमुराएर उठ्छन्। म आफ्नै घरमा नोकर्नीभन्दा पनि तल्लो भएर बस्नु पर्ने। बुहारीले हेला गरेपछि सबै इष्टमित्र आफन्तले पनि हेला गर्ने रैछन्, बुहारीको श्रीमान् र छोराछोरीले समेत।
घरमा दुःख छ भनेर इष्टमित्रकहाँ गएर बसम् भने पनि घरमा छोरा-बुहारी छैनन् र भन्छन्। घरमा त मन बसे पो? शरीर मात्र बस्ने घर के घर? मन बस्ने घर पो घर। दिनरात वचन सहेर अपमानित भएर कति बस्नु, साह्रै पिर परेर घर छोडेर वृद्धाश्रम गएर बस्ने निर्णय गरेँ।'
'आमा वृद्धआश्रम आइपुग्यो। ऊ त्यो पहेँलो घर। मैले पुर्याइदिनु पर्छ?' ड्राइभरले गाडी रोकेर पचास मिटर जति परको घरलाई औल्याउँदै देखाए।
'पुर्यादिनु पर्दैन बाबु उज्यालै छ, म जान सकिहाल्छु। बरु भाडा कति भयो?'
'भाडा चाँहिदैन आमा, हजुरको दुःखका कुरा सुन्दा त मेरै घरमा लगेर राखम् जस्तो लाग्यो तर के गर्ने सबैका आ-आफ्ना व्यवहार। मैले हजुरलाई केही सहयोग गर्न नसके पनि यही भाडा छुट मेरो सानो सहयोग भयो।'
'धेरै-धेरै आशीर्वाद बाबु। बुढेसकालमा वृद्धआश्रममा आउन नपरोस्।'
कलावतीले झोला काखी च्यापेर बसबाट विस्तारै ओर्लिन्। साँझको सिरेटोलाई नारायणी नदीको पानीले झनै चिसो बनाएको थियो। कलावतीले झोलाबाट पछ्यौरा झिकेर टाउको देखिनै ग्वाम्लांग ओढिन्। उनी वृद्धाश्रमतिर लागिन्, बस गन्तव्यतिर।
नयाँ मान्छे आएको देखेर आश्रमका अरु वृद्धवृद्धा पनि बाहिर आए।
'तपाईंको नाम-ठेगाना के हो?'
'कति कारणले यहाँसम्म आइपुग्नु भयो?'
आश्रमका कर्मचारीले कलावतीको परिचय र आश्रममा आउनुको कारण सोधे।
'मेरो नाम कलावती दाहाल। दाङ जिल्ला मालिका गाविस वडा नं १० हो। बुहारी साह्रै नराम्रो व्यवहारको कारणले यहाँ आउनु परेको हो' उनले सविस्तार बताइन्।
'ओहो! दाङ मालिका गाविसको एक जना ८४ वर्षको आमा पनि यहाँ हुनुहुन्छ। नाम सीतादेवी दाहाल। बुहारी लगायत घरपरिवारले हेला गरेर आजभन्दा १४ वर्ष अगाडि आउनु भएको हो। आजसम्म उहाँलाई खोज्न भेट्न कोही पनि आउनु भएन। घर परिवारलाई निकै सम्झनुहुन्छ। ८४ पूजा लगाउने बेलामा त मलाई घरकाले सम्झेलान् कि भन्नुहुनथ्यो तर आजसम्म कोही पनि सम्पर्क आउनु भएन। हामीले नै उहाँकै इच्छाअनुसार एक हप्ता अगाडि चौरासी पूजा लागायौँ। ऊ त्यो बुढीआमा कतै तपाईंले चिन्नहुन्छ कि? एउटै ठाँउको हुनुहँदो रैछ,' कोठाको कुनातिर बस्नु भएकी बुढीआमालाई देखाउदैँ आश्रमका कर्मचारीले भने।
कलावतीले सीतादेवीको अनुहारमा हेरिरहिन्। १४ वर्ष पहिलाको कुराहरु, एउटै आँगन, एउटै छानो उनको आँखा अगाडि झलझली आए। उनले केही बोल्नै सकिनन्।