बुढा! कान्छी र माइली नातिनी
छुट्टीमा आएका छन्
कान्छी डाक्टर पढ्दै
माइली ईन्जिनियर गर्दै
मलाई बीचमा राखेर ओछ्यानमा
दुई तिर दुवै नातिनी सुतेका छन्
हजुरको बैँस र आचरणको कुरा सोध्छन्
मलाई गाउँखाने कथा पनि भन्नु भन्छन्
तिमी ध्रुवतारा मेरो जीवन यात्राको।
छत्रछायाँ थियौ तिमी
तीन वटी छोरीनै छोरी जन्मिँदा पनि
कहिले हेरेनौं छड्के नजरले मलाई
बरू मलाई पो छोराको आशा थियो
तिमीले सम्झाउने गर्थ्यौं मलाई
‘लक्ष्मी हुन् छोरी’ भन्थ्यौं
मेरो परिवार नियोजन गर्दा
निकै दिन रिसले बोलिनँ म हजुरसँग
पछि त छोराको आभास नै भएन
छोरा छोरी एउटा हुन् भन्नुहुन्थ्यो
तमाम् थियो हजुरको त्यो जीवन युद्व समाजमा!
मानौं छोरा त समाजलाई पो चाहिने!
तिमी ध्रुवतारा मेरो जीवन यात्राको।
गोदारनी आमै आएर
चुरा नलगाउन
लसुन प्याज नखान
सेतो वस्त्र लाउन
कपाल मुडुलो राख्न
कसैको शुभकार्यमा नजान
भनेर गइन्,विधवाको नियम रे!
नातिनीहरूले झाँको झारे आमैको
‘तिमीले म तलमाथि हुँदा केही बार्नु पर्दैन
जस्तो लाए पनि हुन्छ’ भनेको र
‘प्रेम श्रद्धाको न आभास हो, देखाउने हैन’
भनेको कुरा मनन् गरेकी छु मैले
तिमी ध्रुवतारा मेरो जीवन यात्राको !
तिमीले अन्तिम समयमा
तिनै छोरी ज्वाइँलाई
भनेर गएथ्यौं
आमाको ख्याल राख्नु भनि
दागबत्ती छोरीले पनि दिँदा हुन्छ भनेको शब्द!
त्यही गरौं हामीले, केहि भित्रि विरोध भए पनि।
केही दुःख छैन मलाई
हाम्रो पुर्खा र तिम्रै संस्कारको फल होला सायद
राम्रो सेवा चाकरमा छु म
खान लाउनमा केही प्रतिबन्ध छैन
तिमीले भने जस्तै जीवन यात्रा छ मेरो
रमाएकी छु म, छोरी,ज्वाइँ र नानीहरू सँगै
तिमी ध्रुवतारा मेरो जीवन यात्राको !
कपासको बाती बनाउन थालेकी छु
लाखबत्ती जलाउने इच्छा छ
हजुरको आठौं वार्षिकमा।
लगभग पचास हजार बाती
बटार्ने काम सँके मैले
रहेको छोरी, नातिनी,सम्धिनीले र
छिमेकी हरुले बाती बटार्ने रे!
असारको मैना पञ्चमी तिथिको दिन
पूजा र लाखबत्ती बाल्ने।
म आकाशको ध्रुवतारा हेर्छु त्यो दिन
तिम्रो यादमा
तिमी धरतीतिर हेर्नु ल!
सबै भेला हुन्छन्
तिम्रो यादमा
तिमी ध्रुवतारा मेरो जीवन यात्राको !
दाँत सबै झरे है, मेरो त बुढा!
मिठो गिलोभात पकाउने कुकर ल्याएको छन्
दाँत लगाई दिए हालै ज्वाइँछोरीले
मलाई च्यास्स अलिक बिसन्चो हुँनुहुँदैन
तिनै छोरी ज्वाइँ र नातिनीहरू तैनात हुन्छन्
नातिनीले आँखा पनि जँचाई दी
अहिले अलि अलि देख्छु
कान अलि अलि सुन्छु
यस्तै हुन्छ वृद्ध उमेरमा भने डाक्टरहरूले
आनन्द छ मलाई
तिमी ध्रुवतारा मेरो जीवन यात्राको !
हामी तीर्थ जाँदा किनिल्याएको
सेतो चन्दनको गिँडो
घोटिएर स्यानो भएको छ
त्यहीँ घोटेर लगाउने गर्छु सँधै
चनौटो पनि खिएर खाडल परेको छ
हजुरको यादको चिनो भएको छ
ठूलो नातिले ‘ह्वेल चेयर’ ल्याईदिएको छ
बिहान घाम ताप्न तुलसाको मोठसम्म
लगीदिन्छे नातिनीले
तुलसीमा पानी चढाउँदा एकपटक
आकाशतिर नजर लाउँछु
तिम्रो याद साह्रै आउँछ
तिमी ध्रुवतारा मेरो जीवन यात्राको !
मेरो तेस्रो गर्भधान हुँदा
सबैले भित्री आग्रह गरेका थिएँ
छोरा कि छोरी लिङ्ग निर्णय गरी लिनु भनेर!
तिमी नमानेको झल्झली याद आउँछ
कानूनी अपराध र प्रकृती विरोध भन्नु भयो
भ्रूण हत्याको पाप लिएनौं हामीले, हजुरले नै गर्दा!
समाजले किरिया गर्ने मान्छे हुँदैन भने
दोस्रो विहे गर्ने सल्लाह पनि दिए निकैले
तर तिमी मानेनौं। हे मेरा प्यारा बुढा! मेरो ध्रुवतारा!
अहिले कान्छी छोरीको घरैमा छु
सोचेर जिउ जिरिङ्ग हुन्छ।
अरू छोरीहरूले पनि मलाई लाँन्छन्
सबै छोरी ज्वाइँ तत्पर छन्
रत्तिभर गुनासो छैन अब मेरो
छोरा भएनन् भनेर
तिमी ध्रुवतारा मेरो जीवन यात्राको !
हाम्रो घर घडेरी
म जीवित छँदैं
बेचबिखन गरेर ,तिनै छोरी ज्वाइँलाई
तीनभाग गरिदिनै आग्रह गरेँ
झन्डै मारेनन् मलाई
अनाथलयलाई दान पो गरि दिए
हाल निकै अनाथ नानी, बालवृद्धाहरू छन्
हजुरको यादमा अस्ति सबैलाई
भोजन र लुगा दिए सबै मिलेर
छोरीहरू ‘रत्न’ ज्वाइँहरु ‘हीरा’
नाति नातिना हरू ‘सुवर्ण’ हुन गए
सबै गाउँलेहरू हिजो आज त्यसो पो भन्छन्
तिमी ध्रुवतारा मेरो जीवन यात्राको !
बुढा! हाम्रो लामो जीवन यात्रामा
तिमीलाई कहिले रिस उठेको देखिनँ
बुढी कुटेर ‘मर्द हुँ’ भन्ने जमानामा
कहिले पनि मलाई हात छोडेनौं
मेरो पनि अन्तिम अन्तिम अवस्था छ
विवाहमा गुरूले हामीलाई आजबाट पति पत्नी
‘तिम्रो हृदय मेरो, मेरो हृदय तिम्रो’ संस्कृतमा
सुनाएको श्लोक याद छ!
तिमी ध्रुवतारा मेरो जीवन यात्राको !
लाखबत्ती बालेको दिन
तिमी कुलको वायु भएर आउनू
म कोइलाटोमा घिऊको धूप हाल्छु
रमिन्छन् नानीहरू
सुनाउनेछन् हजुरको, मेरो साथै
छोरी हुनेहरूको अमूल्य गौरव गाथा
‘अमर कथा’ अनन्त हुनेछ
‘अमरनाथ’ जस्तै शिव पार्वतीको कथा!
केही दुःख छैन मलाई बुढा!
छोरा या छोरी दुवैनै रत्न रहेछन्
मात्र संस्कार भए भयो
प्रतक्ष भयो मलाई
तिमीले जित्यौ म सँगको बाजी
तिमी लौह पुरूष!
हाम्रो फूलबारीका बिरुवा
रङगीचङगी भएर फस्टाएका छन्
वासना स्वर्ग मर्त्य सबैमा फैलिएको छ
हाम्रो प्रारब्ध,सृष्टिको सुवास
अनन्त ,अपार,अविरल र अमर
तिमी ध्रुवतारा मेरो जीवन यात्राको।।
यो पनि हेर्नुहोस्
तँ त गइहालिस्
एक मुठी तातो पानी दिने कोही छैनन्
ठिकै भयो जस्तो पो लाग्न थाल्यो
दुःखै लुक्यो तेरो!
छोरो अफलाइनमा
छोरी अनलाइनमा
बुहारी चुनावमा व्यस्त
नातिनातिना भिडिओ गेममा
म ओच्छ्यानमा!
एक मुठी तातो पानी दिने कोही छैनन् बुढी। विस्तृतमा