होइन ऊ मेरो भन्दा भन्दै
अर्को दिन थियो ऊ मेरो अगाडि सर्वाङ्ग नाङ्गै
यस्तो फुच्चे कुरुप मेरो कहाँ हुन सक्छ!
थाहा पाइन कहिले उसले मेरो सिन्दुर भरेछ
आजकाल जीवनको गोरेटोमा हामी हिँड्छौ सँगसँगै।
बोलीको जादुमा लठ्ठ पार्न सक्ने
मेरो मनको बीचमा घोचेर प्वाट्ट लड्डु फुटाउन सक्ने
ऊ कालो थियो अनि अनुहारमा माकुराको जालो
तर उसको प्रेममा पागल हुने
अनि उसको अङ्गालोका फस्ने मेरो पालो।
मानिस भन्थे कोइलामा हिरा परेछ
केकमा चेरीको साटो जिरा परेछ
मासुको मिठो झोलमा किरा परेछ
कोहि ईर्ष्या गरेर भन्थे गनाउने धनको खाडलमा ऊ परिछ
तर ऊ बिना म बाँच्न सकिनँ
उसको छोराछोरीको मेरो बनाउदिन भन्न सकिनँ।
सुन्दरताले सुन्दरता तान्न सक्छ भन्ने के छ?
चुम्बकले फलाम पनि त तान्न सक्छ
राम्रोलाई राम्री पर्छ भन्ने कहाँ छ?
राम्रीलाई कुरुप पनि लेखेको हुन्छ।
पटक्कै नमिलेको जोडी पनि छ
मिलेको जोडीको घर टुटेको पनि देखिन्छ
एकअर्कालाई पूर्णता दिएर होला
उसको कालो र गोरो मिलेर
छोरो मझौला जन्मेको छ।
बोली र गोली उस्तै रहेछ
ठाउँमा लागे निसाना ढल्न सक्छ
उसको मनमा प्रेमको आगो बाल्न सक्छ
मित्रताको मिठो सम्बन्ध कसिन सक्छ।
गोलीको रातो रङ्ग
बोलीले पार्न सक्छ अनेकन भ्रम
तिमी आफू मात्र
म दुई बनाउन सक्ने एक तन
संसारको नियम चलाउन सक्ने एक आमा।
तिमी रहे पो म छु
तिमी साथ भयौ भने रंग भरिन सक्छ
स्वर्ग मात्र होइन स्वर्गभन्दा पर मोक्ष भेटिन सक्छ
तिमी बाहु फिजाएर
म पछ्यौरीमा तिमी लुकाएर
तिम्रो अङ्गालोमा म सजिन चाहन्छु
सधैँ तिमी र म एक हुने रहर छ।
होइन ऊ मेरो भन्दा भन्दै
अर्को दिन थियो ऊ मेरो अगाडि सर्वाङ्ग नाङ्गै
यस्तो फुच्चे कुरुप मेरो कहाँ हुन सक्छ
थाहा पाइन कहिले उसले मेरो सिन्दुर भरेछ।