यसै सुनाउँ
सुनाएपछि सुक्दैन मेरो खेत
आँखाको आँसु भएको भए
सुकिजाने थिए
गालाको माथिल्लो भागसम्म पुग्दा।
खेतमात्र भिजाएको भए
मेरा केटाकेटी हातै मात्रै बजाएर पनि नाच्थे गाउँथे
यतिबेला मन भिजाएर म आफै
चिच्याइरहेको छु
केटाकेटी गलाभरि पानी भरेर
कतै छट्पटाइरहेका छन्
मेरा गलाहरू यो झरीले यसै अठ्याइरहेका छ।
खेतमा मेरा सपनाहरू
रमाइरहेथे पहेलपुर शीर हल्लाउँदै
सपनाको शीरमा साना चराहरू उडिरहेथे फिरफिर
उफ्रिरहेथे फट्याङ्ग्राहरू
एकाएक पानीका छिटाहरू
मात्तिएर बहुलाएका ठिटाहरूझैँ
आइलाग्न थाले मेरा सपनाका निहीनहरूमा
मेरा सपनाको खुट्टाहरू एकाएक लुला हुँदै पल्टदै गरे
सुतिरहेका धानका निहीन जमिन छाड्न थाले
र
बग्न थाले खोला तिर
घरको भकारी भरिएला कि भनेर
चर्को घाममा पसिनाको धार छुटाउँदै
सुकाएथेँ नानी सुताएझैँ गराभरि
पानीले अहिले गलाभरि बनाएको छ
एक दिनको मात्र भए बिर्सिजान्थेँ सबै कुरा
छ महिनाको दुःखले वर्षदिन आनन्दले
सोचेथेँ
भरिन्छ कि मेरो कसौडी
भरिन्छ कि बाल बच्चाको पेट
भरिन्छ कि केटाकेटिको किताब-कापीले झोला
भरिन्छ कि सोचेथेँ केटाकेटीको शरीर स्कुल ड्रेसले
सोचेथेँ केही बोरी धान बेचेर केही चक्की दबाई खुवाएपछि
आमाले फेर्न सक्नुहुन्छ कि सजिलोसँग श्वास
सोचेथेँ केही बोरी धान बेचेर केही चक्की दबाई खुवाएपछि
दुख्न छाड्छ कि बुवाको घाउ
र
सोच्नु हुन्थ्यो कि बाच्ने सपना बाले पनि!
यतिबेला धान बगाएन यो पानीले
मन बगाएछ।
मलाई बगाएको भए
यति रूखो हुँदैनथ्यो यो वर्षाको स्वाद
सपना! वर्षौं दिनको सपना बगाएपछि
म बहुलाइरहेको छु यो खोलाजस्तै
जो घर खेत नभनि एकोहोरो दैडिरहेको छ
म बहुलाइरहेको छु यो पानीजस्तै
जो निरन्तर वर्षिएर
ठटाइरहेछ
मेरो सपनाको शीरमाथि
मेरो एकमुठी श्वासमाथि बजारिरहेको छ
छिटाहरूको मुक्का
र
लछारीरहेको छ घर-खेत
लछारिरहेको छ सपनाहरू
लछारिरहेको छ वर्षदिन भरिको योजनाहरु।