सुनसान त्यो समय
तिम्रो निर्दयी पाखुरी
तिनै पाखुरीको बलमा
उम्लिएको तिम्रो पुरुषत्व
आखिर नसुनेको एउटा चित्कार न हो।
च्यातिएको मेरो चोली
लुछिएका मेरा अंगप्रत्याङ्ग
मलाई निर्लज्ज बनाएर, चलेको तिम्रो मनोमानी
रम्नै नपाई खोसिएको मेरो खुसी
आखिर निमोठिएको एउटा कोपिला न हो।
तिम्रो तृप्तिसँगै
मेरो शरीरभरि बगेका रगत
तिनै रगतका टाटाहरुसँग
तर्सिएको तिम्रो मन अनि
दबाइएको मेरो घाँटी
आखिर नचलेको एउटा श्वास न हो।
खोजिएको मेरो शरीर
भेटिएको सडेको लास
लास माथिको तिम्रो सशक्त खबरदारी
तिनै नारा र जुलुसमा बालिएको टायर
आखिर नपुगेको एउटा प्रमाण न हो।
निस्फिक्री तिम्रो जीवन
खोजिरहेको नयाँ दाउपेच
बढिरहेको तिम्रो दुत्साहस
समाजमा तिम्रो अस्वभाविक रवाफ
आखिर भड्किएको त एउटा आत्मा न हो।
घन्किरहेको स्वतन्त्रताको नारा
लेखिएका नारी अधिकारका कुरा
कल्पना गरिएको समृद्धि देश, सुखी नेपालीसँगै
सभ्य अनि शिक्षित यो समाज
आखिर नपाएको एउटा न्याय न हो।
आखिर रोएको एउटा आमाको मन न हो।