आदरणीय बुबा, हार्दिक श्रद्घाञ्जली!
के ठिक छ भनौं
यहाँ महामारी चलेकै छ
आमालाई अहिले बिसञ्चो छ
नयाँ नेपाल बनाउनेका 'अनुहार'
कस्ता हुँदा रैछन् भन्ने उत्सुकताले
आमा हिजो हाटबजार निस्कनु भाको रैछ
अनुहार नपरेका, तर धरोधर्म 'मै हुँ' भन्ने केही सज्जनहरुले
भुँडी अटेसमटेस हुञ्जेल
खुवाएर पठाएछन्
गुलिया घोषणापत्रहरू
कठै सोझी हाम्री आमाको
बेलुकी त बेस्मारी भुँडी हुँडलेर आएछ
वाक्क-वाक्क के गर्नु मात्रै
खोक्रा आश्वासनका
दुर्गन्धित छोक्रा-छोक्री
ह्वालह्वाली बमन भयो
फेरि हाम्री आमालाई एकैछिनमा चोपट्टै गर्मी भएछ
छद्मभेषी समाजवादका
गन्धे पसिना
जीउबाट तरर्र निष्काशन भयो
हाम्री आमाको त्यसपछि घाँटी सगसग भएछ
यसो ख्वाक-ख्वाक के पार्नु मात्रै
परिवारवाद र कृपावादका
घिनलाग्दो पाकेको ढिक्का खकार मुखबाट चुहियो
कठै हाम्री आमाको फेरि पेट कटक्क खाएछ
यसो पाइखाना के बस्नु मात्रै
भ्रष्टाचार र दण्डहीनता सडेर कट्कटिएको
डरलाग्दो दिसा भयो
हामीले आफ्नै आँखाले देख्यौं!
त्यसमा नेता, कार्यकर्ता, हनुमान
डन, गुण्डा, अत्याचारी, राष्ट्रघाती आदि आदि
सुलसुलेहरु निर्वाद सुलसुल गर्दै रैछन्।
नयाँ नेपालको
त्यही विकारहरूका रछानमा
आमा अहिले संघर्षरत हुनुहुन्छ सास फेर्न
बुवा, आमाको धड्कनहरूको
म उल्टो गिन्ती गर्दै छु
जसरी मैले तपाईंको धड्कनहरूको गरेथेँ
किनकि
सदाबहार महामारी
आज पनि उत्कर्षमा छ।