आज म एउटा छुट्टै रौनकतामा छु
एउटा छुट्टै आभासमा छु अनि
एउटा फरक अनुभूति संगालिरहेको छु
मनमा हल्का लज्जाबोध र केही बेचैन पनि
हो, आज मेरो आत्मियताको विशेष दिन
लामो पर्खाइलाई सार्थकता दिने दिन
र मेरो प्रेमको प्रत्यक्ष सुवास फैलने दिन
हो प्रिय, म आज तिमीलाई प्रेम प्रस्ताव गर्दै छु
दुई धड्कनलाई जोड्ने प्रयास गर्दैछु
जसले तय गर्नेछ मन र मुटुको स्वर्णताहरु
सुन्दर प्रेमको आँकुराहरु
आत्माको स्वघुलित बिम्बहरु
अनि जसले तय गर्नेछ हरेक यात्राका
एउटै संगमहरु
र त ममा आज उमंगले चुर्लुम्म
डुबुल्की मारिरहेको छ
मात्र तिम्रो आगमनको पर्खाइमा.
दायाँ-बायाँ दुई कुर्सी
बीचमा सजावट सहितको एक टेबल
माथिबाट मुसुक्क हाँसिरहेका
रंगिन बेलुनको फैलावटसँगै
गुलाफका ती सुन्दर चमकहरु
चारै तिर मैनबत्तीका
धिप्प-धिप्प जलिरजेका ज्योतिहरु
अनि पृष्ठभूमिमा
अतुलनीय प्रेमको आभास दिलाउने सुमधुर
संगीतका ध्वनिहरु
सबै तिम्रो प्रतिक्षामा
तीव्र उत्साह देखाउँदै छन्
हेर त मौसमले पनि हामीलाई
कस्तो साथ दिइरहेछ
सुमधुर साँझ,
न घाम न पानी न हावाको तीव्र झोक
लाग्छ मात्र सिरसिरे शीतल हावा
छुट्टै उमंग सहित हाम्रो प्रेमको सन्देश
चारैतिर फैलाउन आतुर बनिरहेछ!
लामो प्रतीक्षापछिको यो
सुन्दर पलको आगमन
मनमा केही लज्जा महसुस
अनि
अलिकति डरले पनि डेरा जमाइरहेछ
साँच्चै अलिकति डरले डेरा जमाइरहेको छ
किनकि
म जसको पर्खाइमा छु
म जसको कल्पनामा डुबिरहेछु
जसको लागि केही प्रेमिल
शब्दहरु बटुलिरहेको छु
कतै उनको आगमन नहुने त होइन?
कतै मेरो प्रेम अस्वीकृत हुने त होइन?
कतै मेरा मनका हरेक स्वप्नील
प्रेम बिम्बित शब्दहरु अधुरो त हुने होइन?
विविध प्रश्नले ठाउँ लिन खोज्दै गर्दा
मनमा आँट, तीव्र अठोट र
पूर्ण विश्वास सहित केवल आगमनको
प्रतीक्षामा बाटो कुरिरहेछु, कुरिरहेछु।
तर प्रिय
मध्य रातले चिसो हावाको
कर्णीय रुप तय गर्दासम्म
तिमीले आगमनको कुनै संकेत दिइनौ
तिमीलाई कुर्दै गर्दा
समय धेरै अघि बढिसकेछ
तर पर्खाइले बिदा दिनै मानेन
प्रतीक्षाको घडी अनवरत अघि बढिरहे
तर तिमी आइनौ
बटो र घडीको आलोपालो
हेराइले मेरा आँखा टोलाए
मुहार मलिन बने
मनमा खिन्नताको घण्टी बज्न थाले
तर तिम्रो आगमनको कुनै संकेत भेटिनँ
तिम्रो स्वागतमा
हातमा सजिएका
कोमल गुलाफका सुन्दर कोपिलाहरु
सुकेको पतिङ्गर भए
मैनका धिप-धिप चम्कहरु धुमिल बन्दै गए
प्रेमिल संगीतमय वातावरण
सन्नटामा परिणत भए
मनमा सजिएका सापनाहरु
कर्णीय पत्थर बने
तर अझै मनले थकान महसुस गर्न मानेन
निदाउनै लाग्दा मेरा यी नयनहरुले
तिम्रो मुहार बिम्बित स्पर्श मात्र दिइरहे
तर निदाउने कोसिस गर्दै गरेन
हो प्रिय
म त पर्खिरहेँ
केवल तिम्रो बाटो हेर्दै
केवल तिम्रो यदमा तड्पिँडै अनि
मलिन हारको स्वीकार्यतालाई
आत्मसाथ गर्दै.
आखिर मसँग विकल्प पनि त केही थिएन
खै! म सोच्न अनि महसुस गर्न सकिरहेको छैन
किन आइनौ?
किन ढिलो गर्यौ?
किन प्रेमको अनुभूत पलहरुलाई धुमिल पार्यौ?
कतै जाममा पर्यौ कि?
कतै कुनै ठूलो समस्यामा पो फस्यौ कि?
कतै शत्रुको आँखा पो लाग्यो कि
निश्चल हाम्रो प्रेममा
कित आउँछु भनी गरेका
वाचा कसम नै भुल्यौ?
होइन मलाई त्यस्तो लाग्दैन
तिमीले मलाई भुल्न सक्दैनौ
विगतका ती सुन्दर पलहरुलाई
मार्न सक्दैनौ
मेरा प्रेमिल कणहरुलाई
अन्त कतै सार्न पनि सक्दैनौ
हो मेरी मनकी रानी
यस्तै-यस्तै भाव अनि
तिम्रो र मेरो प्रेम कहानीले
डायरीका पानाहरु भरिसके
कति कलमका मसी सकिसके
कति अनिदो रातहरु बितिसके
अनि कति सिरानीका खोलहरु भिजिसके
र पनि
तिमी आइनौ
तिमी अझै आइनौ!
महिले प्रतिक्षालाई तोड्न सकिनँ
म कुरिरहेछु
तिम्रो बाटो हेर्दै
हावाको झोकसँगै
तीव्र चाहको सास फेर्दै
अझै पर्खिरहेको छु
तिम्रो आगमनको प्रतीक्षामा
नपत्याए हेर त त्यो
सुकेको गुलाफका अस्थिपन्जरहरु
अझै फ्याँकेको छैन
मैनका ती दागहरु अझै मेटिएको छैन
अनि सजावटका ती यावत सजीवन पात्रहरुको
गला अझै रेटिएको छैन
त्यसो त प्रिय मनका ज्वारहरु कति
चिच्चाइरहेको होला मेरा
अब त मनले पनि भनिरहेछ
सबै फिक्का बनिसकेको
सुनसान वातावरणमा
कहीँ तिमी अचानक आयौ भने
तिमीलाई म के दिऊँ
तिमीलाई कसरी स्वागत गरूँ
अब त मनले विगत मात्र सम्झिरहेछ
खै कसरी अन्त गरौं
मनका यी गह्रौ आत्मीय स्पर्शहरु
कसरी भुलौँ तनका यी अमिट तप्काहरु
सैँयन कक्षाले तिरस्कार गरिरहेछ
लोलाएका नयनहरुले
तप्प तप्प आसुका ढिक्का झारिरहेछ
यति मात्र छ मसँग विकल्प
विगतमा तिमीसँगको सामीप्यताले
स्वर्णिम बन्दै गएका ती सुन्दर पलहरु
कास जिन्दगीको अन्तिम साससम्म
महसुस गर्ने मेरो चाह पूरा हुन्थ्यो भने
संसारकै खुसी व्यक्तिमा
आफूलाई दर्ज गर्थेँ होला
तर
ती पुलकित मुद्राको क्षणिक आभास त
मात्र सपनाको एक पाटो बनिदियो
तिम्रा गुलाबी ओठ, ओझिलो स्पर्श,
नशालु नयनको तिर अनि
आत्माको एउटा स्वर्गीय आभासमा लिप्त
ती साथ अनि शान्त रातहरुमा
आकाशको ताराहरुसँगै आपसमा चम्किएका पलहरु
एउटा अतीतको बोझिलो पल बनेर बसिरहँदा कता-कता
साँचो प्रेमलाई मृत्यु शय्याको सारथी बन्न बाध्य पारिएको आभास भैरहेछ
र पनि म कुरी बस्न बाध्य छु
मनको तरङ्ग सुन्दै
तिमी आउने मुल बाटोको मौन स्वीकृतिमा
तिमी आऊ वा नआऊ
प्रेम दर्शाऊ वा नदर्शाऊ
मेरो आत्मिकता आभास गर या नगर
म अझै कुरिरहेछु, कुरिरहेछु
अनि कुरिरहनेछु
मेरो सासको अन्तिम बिन्दुसम्म
भौतिकताले संसार नत्यागेसम्म
कुरिरहनेछु, कुरिरहनेछु प्रिय, कुरिनै रहनेछु।