उध्रेलाकी भन्दै
लगाएको कपडा पनि कतिन्जेल टिकोस्
मलाई कुनै गुनासो छैन समयसँग
दलबहादुर दाइ, तपाईं राजनीति गर्नुस्।
हलो जोतेर ठेला उमारेको हातले
कुनै कुकाम गर्ने छैन
साहुलाई नढाँटी बटैया दिएको मनले
कालोबजारी र भ्रष्टचार पनि गर्ने छैन
सकी-नसकी अन्न उब्जाएको हातले
देशमा आमूल परिवर्तन जरूर ल्याउने छ।
मलाई थाहा छ
दुई वटा गोरु जुवामा नारेर
बाँझो जमिन फुटाउन
तीन/चार राँगा खलियानमा जुटाएर
गज्जब तरिकाले दाइ हाल्न तपाईं मात्र सक्नुहुन्छ
देशलाई पनि खाँचो छ
समृद्धिको बाझो फुटाउन
पार्टी र जनता मिलाएर रोजगारीका लागि दाइँ हाल्न
देश बिग्रेको हैन दाइ
बनाउन मात्र सकेका छैनौँ।
दलबहादुर दाइ
नागरिक हुनु भनेको
राष्ट्रबाट आश गर्नु मात्र होइन
राष्ट्रका लागि त्याग गर्नु पनि हो
आउनुस् दलबाहादुर दाइ तपाईं राजनीतिमा।
तपाईंको बुवाले
कहिल्यै सुनाएनन् हिटलरका कथा
न त सुनाएथे गुरूहरूले
उनीहरू त सुनाउन चाहान्थे
धेरै पोलिएर बिग्रिएको इँट्टा झैँ
बिग्रिएको आफ्नै भाग्य।
एकाएक विद्रोहमा उत्रिने
र भूमिगत हुने
उनको शरीरको पसिनाको कथा।
उनीहरू सुनाउन चाहन्थे
चुनावमा पार्टीले घोषणा पत्र छिरोले झैँ
किन छिरोल्छ
शरीरले पसिनाको गन्ध
उनी सुनाउन चाहान्थे
केटकेटीको गन्थन
जो जहिल्यै किताबको कथाभन्दा
देशको राजनीतिक समाचार सुनिरहे
र मलिन आनुहार पारिरहे।
दलबहादुर दाइ
अनुहार मलिन पार्नु भनेको
मनलाई अँध्यारो पार्नु हो नि
मन अँध्यारो पारेपछि
कसैलाई खुसी नदेखिँदो रहेछ
कोपिला नै औइलाएपछि फल कस्तो लाग्छ
त्यसैले आउनुस् दलबहादुर दाइ, तपाईं राजनीति गर्नुस्।