ढकढक गर्दै थियो मेरो ढोकामा त्यो दसैँ
म त दुःखको पलङबाट उठेकै थिइनँ
खुसी हर्ष उमंग बोकेर आएको छु भन्थ्यो मुखले
साँचो बोल्यो या झुठो बोल्यो थाहा पाउनै सकिनँ
उडेछ निलो आकाशमा चङ्गा छिट्फुट
देख्थेँ त्यो कस्तो स्वतन्त्र
तर धागोको कसकमा बाँधिएको कसैले देखेन
म जस्तै रहेछ विचरा त्यो चङ्गा उडेझैँ देखे पनि
धागो चुँडिँदा, मन चुँडिँदा,
हामी दुवै 'चेट' त्यो कसैले देखेन
पिङ हेर्छु घरी वारि घर्किन्छ
घरी पारी घर्किन्छ
जिन्दगीको सुखदुःखको सुई जस्तै
कहिले दुख तर्किन्छ सुख फर्किन्छ
फेरि अर्को दिन सुख लर्किन्छ दुःख फर्किन्छ
बलीमा चढ्दै गर्दाको खसीलाई हेर्छु
खुकुरीको नोबमा जिन्दगीलाई देख्छु
तर पूजामा चढाएको चिउरामा मग्न छ
चपाउँदा चपाउँदै एउटा जीवन, परास्त भै ढल्छु
कस्तो मान्छे र पशु उस्तै लोभको किनारामा
जिन्दगी हरेक दिन अनिश्चितताको कुइनेटोमा
तर तीन अक्षरको कागजमा लेखिएको दुई अक्षरको पैसा
खेद्दाखेद्दै शरीर आत्माबाट अलग, अनि सेलाइन्छु किनारामा
हेर्न त म मगमग भइ फुलेका फूललाई पनि हेर्छु
वर्षा हटेर निलो भै खुलेको आकाशलाई हेर्छु
पहेँलो भै झपक्क टुसा हालेको जमरालाई नि हेर्छु
थालीमा मुछिएका रातो टीकालाई पनि हेर्छु
कालरात्रीको तिलकलाई पनि हेर्छु
वर्षभरि जुटाएर, भकारी फुटाएर
मनग्गे रमाउनेलाई पनि हेर्छु
आशीर्वचनलाई हेर्छु
अनि सोच्छु
दैत्य चिर्ने दुर्गाले
चिर्नेछिन् निराशा रुपि दानवत्वलाई
सत्यका लागि लड्ने दुर्गाले
कायम गर्नेछिन् खुसीहरु
जोड्नेछिन् अलौकिक सम्बन्धका आयामहरुलाई।