परदेशिएका लाहुरेहरु
ग्वार-ग्वार्ती झर्दै होलान्
रोटे पिङको फन्फनीमा
युवाहरु रम्दै होलान्
रात्माटोले लिपिएका चारकुने आँगनीमा
यताउता चारैतिर घोर्ले खसी ढल्दै होलान्
मेरो आगमनको एक/एक पललाई
आफ्नै मनको आगनीमा
मिलनका सपनाहरु सजाएर बसेकी तिमी
खुसीका सुगन्धित फूलहरु
मनभरि फुलाएर पर्खीरहेकी तिमी
मायाका उन्मादमा वसन्ती भएर
मेरै प्रतिक्षामा बसिरहेकी तिमी
यता मेरो छुट्टी नमिल्ने खबरले
कहिल्लै सुक्क-सुक्क नभक्कानिनू
काली तिमीले यो दसैँ राम्रोसँग मनाउनू।
दसैँ सुरु हुदै गर्दा, जर्साबको घरमा
अर्दली रुपी यो जीवनले
जर्साबनीको माइतीलाई पनि
रिझाउन सक्नुपर्ने मेरो विडम्बना
उनीहरुले स्याम्पियन फोडी रमाउँदा
देशभक्त कहलिएको होनहार सिपाही म,
भान्छे अनि वेटर बनी मासु र सलाद ओसारी
बोलीमा लोली मिलाउँदै हाँसिदिनु पर्ने मेरो कर्म
अघिल्लो दसैँदेखि योजना बनाए पनि
जर्साबको सालो परदेशबाट आउने भएकाले
यसपालि छुट्टी मिलाउनै सकिएन
बुबाआमा अनि छोरोको अघिल्तिर कहिल्लै नरुनू
काली तिमीले दसैँ राम्रोसँग मनाउनू।
धेरै याद आए, हाम्रो छोराको अनुहारमा हेर्नू
अनि मलाई सम्झेर छातीमा टाँस्नु
देशभित्रै परदेशी भएपछि के गर्नु बाबै
गाडा-दोयक दसैँ-तिहार बित्यो यसैगरी
अर्दलीमा कैद भएको सिपाही न परे म
अहिले आफ्नै ऐठनको कैदमा परेको छु
म आउन नसक्ने खबरले
कहिल्लै विक्षिप्त नहुनू
काली तिमीले यो दसैँ राम्रोसँग मनाउनू।
मलाई थाह छ बाबै उता खरको छानो
तारामण्डल देखिने गरी चुहिने भएको
जागिर खाई मायाको सिमन्टीले टाल्छु भनेको थिएँ
आफू र आफ्ना लागि बाच्छु भनेको थिएँ
थाहै नपाई अरुका लागि मात्रै बाँच्ने बानी परिसकेछ
यता बिछोड, वेदना र अभावले मन भारी भएको छ
समय नै त्यस्तै नै पर्योन काली
चाहेर पनि यसपालि आउनै सकिनँ
म नआउने खबरले हिक्कहिक्क हुनेगरी
गालामा हात राखेर बलेसीमा बसी
भक्कानिएर कदापी नरुनू
काली तिमीले दसैँ राम्रोसँग मनाउनू।
लोकतन्त्र ल्यायौँ, गणतन्त्र ल्यायौँ
जे ‘तन्त्र’ र ‘वाद’ आए पनि
जे आए सबै ठूलाबडा र माथिकालाई आए
हामी सिपाहीहरुलाई चाँहि कहिल्यै आएन
मुटु थर्कने गरी चुश्ता-जुत्ता भुइँमा बजार्दै
'हस् साब र जय नेपाल साब' मै सिमित रहेको यो जीवन
स्वाधिन भएर पनि अरुको अधिनमा परिरहेँ
ब्यारेगको सेन्ट्री पोष्टमा इयरफोन कानमा ठोसी
विछोडका ‘दसैँ गित' सानो स्वरले बजाउँदै
बाटाभरिका जोडी हेरी भित्री मन रुवाउँदै
डिउटी पोष्टबाट यो मार्मिक कबिता कोर्दैछु
आमाबुबा र छोरोको राम्रो ख्याल राख्नू
काली यसपालिको दसैँ राम्रोसँग मनाउनू
तिमीले दसैँ राम्रोसँग मनाउनू
तिमीले दसैँ राम्रोसँग मनाउनू …।