सनातन पितृसत्ताको शुक्रकीटले
आमा! तिम्रो सुन्दर गर्भमा टुँसाएकी म
'विल्हेम' तिम्रो आविष्कारले मलाई चिन्दा
बाबाको पाश्विक तानाशाही समराज्यमा
मृत्युमा पथ्थररूपी पिण्डका डल्ला फुटाउँदै
स्वर्गको बाटो नचिन्ने मिथ्या फैजाउँदा
मात्रै डस्टबिन र खोल्साकी
छोरी बनेकी छु।
आँगन सर्लक्क ओछ्याएर
डोको बुनिरहेको मानिस
डोकाको सेयर ह्वात्तै उक्लिँदा
आँसुका रारा डोकाभरि सजाएर
नर-पिचासले अस्मिता चुस्दा
देह त्यागेकी छोरी र
दुर्गममा प्रसव पीडामा
मृत्युसँग युद्ध लडिरहेकी बुहारी बोक्न
निर्दोष डोकाहरु व्यस्त छन्।
साइरनविहीन मेरा चक्का
सडकमा जामले टाँसिँदा
उन्मुक्ती चुम्न
सगरमाथामा पाउ गुडाउँदा
हिमालको डेथ जोनमा
संसार आश्चर्यमा ढाल्दै
पाउले जाम भोगिरहेछन्।
न्यायमूर्ति तिम्रो इन्साफले
कलमका नीव नभाच्दा
डस्टबिन र खोल्सामा
धैर्य गरिरहेकी म छोरी
न्यायको 'चिरहरण' गरिरहेछु।