त्यसदिन त्यो मतवाली युवती निक्कै राम्रो देखिएकी थिई। सधैंजसो पाइन्ट र टिसर्टमा देखिने त्यो मतवाली युवती अहिले भने सेतो कुर्ता सुरूवालमा थिई।
मैले दुई चार प्याक भोड्का तानिसकेको थिएँ। यसले ऊ सुन्दर देखिनुमा अझ बढी मद्दत पुर्यायो। ऊ मेरो छेउबाट हिँडी। मैले हात समाएँ। फरक्क घुमेर हेरी।
‘सुनन’ उसले सुनिन मतलब सुनेर पनि बोलिन।
'तिमी आज साँच्चै राम्री देखिएको छौ।'
'सारै भद्र केटी रहिछ' यस्तै सोच्दै थिएँ। अकस्मात मेरो गालामा केही पड्कियो। त्यसपछि तनावमा कति रक्सी खाइयो। के–के दुर्घटना भो थाहा भएन। बिहान उठ्दा त म जीवनेको घरमा पो रहेछु।
पेट खाली भएर आयो। रक्सी खाएको बेला जीवनेको स्वास्नीले खाना खान दिनु र डिभी पर्नु लगभग एउटै हो। म ब्युँझन पाउँदा नपाउँदै जीवनेकी स्वास्नीले मन्त्र भट्टाएकै गाली भट्टाउन थाली।
जीवनेलाई मैले सयौं चोटि भनेको थें ‘हेर बरू मलाई नालीमा फ्याँकिदिनु तर तेरो घरमा कहिल्यै नल्याउनू’। जीवनेको स्वास्नीको पुराणले हिजोको महङ्गो ह्याङ पनि छुट्यो। यताउति हेरें, जीवने त कतै पनि देखिन्न बा। लौ फसाद पर्यो। गोजीमा छाम्छु ‘मोबाइलै गायब’। कसले बितायो फेरि ? जीवनेको स्वास्नी तल झरेझैं लाग्यो।
जुत्ता खोज्न हिँडेको त मेरो मोबाइल खेलाउँदै जीवनेको छोरो ट्वाइलेट गर्दै रहेछ। बुचुरोको गाला खैजरी ठोकेझैं ठोक्न मन लाग्यो। चड्काउ भने जीवनेकी स्वास्नीले महाभारत मच्चाउली भन्ने पीर! गुइँठेको हातबाट मोबाइल खोसें। केटो रून लाग्यो। जीवनेकी स्वास्नी आगलागी नै भयो कि झैं गरी चिच्याउँदै आई।
ल भएन त फसाद! एकमनले लाग्यो ‘बरु मोबाइलै माया मारेर हिँड्नुपर्ने रै छ!’
‘के भो बाबा’
‘चाचा’
‘नरोऊ बाबा’ मैले मोबाइल खोसेको चाल पाइछ क्यारे। बम्किई गुइँठेकी आमा।
‘जड्याहाहरू यस्तै हुन बाबु।’
‘मेरा कन्सिरीका रौं ताते/रगत उम्लेर आयो। मभित्रका आक्रोश ज्वालामुखी बनेर बिस्फोट हुन चाहे। मभित्र हिटलर पैदा भयो। एक्कासि म रावण बनें। ओहो ! जीवनेको ढाडको रातो धर्का सम्झे। अचानक म गौतम बुद्ध हुन बाध्य भएँ।
यसो झ्यालको चेपबाट चोर आँखाले हेरेको त जुत्ता बाटोमा बेवारिसे अवस्थामा देखें।
‘धन्य प्रभु तिम्रो चमत्कार’ बिरालोको चालमा तल झरें। जुत्ता लगाएर कुलेलाम ठोकें। खाना नखाएको र ब्रस नगरेको पनि तीन दिन नाघिसकेछ। अफिस नगएको पनि हप्ता हुन आँटेछ। म्यानेजरको अनुहार झलक्क सम्झें। अण्डरटेकरले जोनसेनालाई पहारे झैं पछार्न मन लाग्यो। जागिर पनि त खानु छ। मनमनै नमस्कार पड्काएँ।
जीवने कता बेपत्ता भो कता। कतै अपहरणमा पर्यो कि भनौं भने त्यो पैसावाल होइन। घरमै अपहरणकारी जस्ती श्रीमती छे! कतै रक्सी काण्डमा जेल पर्यो कि भनौं भने समाचारमा कतै त्यस्को नाम निशान छैन। भूमिगत भो कि भनौं भने त्यसलाई राजनीति गर्न आउँदैन। यस्तै सुविचार मनमा उब्जिरहेको बेला कुच्चिएको अनुहारमा कालो चस्मा टल्काउँदै जीवने आइपुग्यो।
‘ल, हिँड, रक्सी खान जाऊँ।’ मलाई धाप मार्यो।
‘कता जाने’, मैले सोधें।
‘ठमेलतिर’ जीवने उकासियो।
‘क्या सही कुरा गर्यो यार’ म उचालिएँ।
एउटा भट्टिमा काम गर्ने केटीको अनुहार हेर्दाहेर्दै एकफूल एन्टी क्युटीको बोतल रित्तिएको थाहा नै भएन। जीवनेले डान्सबार जाने प्रस्ताव अगाडि सार्यो। टाउको हल्लाएर मैले त्यसलाई अनुमोदन गरें। ज्याठाको डान्सबार छिरियो। राम्री केटीले जीवनेलाई अँगाली। घरकी श्रीमती नै हो कि झैं गरेर जीवने टाँसियो। झ्यापको सूरमा पाँच सय गोटाका नोटहरू स्टेजमा उडेछन्।
बिल तिर्ने बेलामा दुई हजार कम भएछ। मोबाइल नासो राखेर हामी बारबाट निक्ल्यौं। राति ठमेलको बाटो हल्लिँदै आउँदा तेश्रो लिंगी जिस्काएको आरोपमा पुलिसको भ्यानले उठाएर लगेको पत्तै भएन। भ्यानभित्र ‘म डिआइजीको भान्जा हुँ, तेरो जागिर खाइदिन्छु’ के–के भनिएछ, थाहै भएन। रक्सीले कत्रो पावर दिँदोरहेछ।
‘यो रक्सी भन्ने चिज पनि खत्तम रैछ यार। चौकी पनि परियो।’ जीवनेको यति कुरा सुन्दा त्यसको शरीरको पाटपुर्जा टुक्रा पारिदिऊँ कि जस्तो लाग्यो। परिणाम सम्झेर चुप लागें।
घरबेटीलाई भाडा नतिरेको तीन महिना पुगिसकेछ। आधा नेपाली, आधा नेवारी भाषामा आधा गाली आधा भाडा के–के वर्वराइरहेथ्यो। हिजोको महँगो ह्याङ पूरा उत्रियो। बाटोमा के निक्लेको थिएँ, किराना पसलको साहु पटका पट्केझैं पड्किन थाल्यो। यत्तिकैमा जीवने आइपुग्यो। तास खेल्न जाने योजनासहित।
‘बिदाको दिन छ, त्यसमाथि घाम पनि लाछैन आज चाहिँ तास खेल्नैपर्छ। तास नसमातेको पनि महिना दिन पुगिसक्यो’, तास हाम्रो संस्कृति नै हो कि झैं गरेर संस्कृति बचाउन आह्वान गर्यो जीवनेले।
‘हेर, मेरो गोजीमा पैसा पनि छैन। अनि अर्को कुरा घरबेटी र किराना पसलमा पैसा दिन पनि पाछैन। बरू पैसा भए दे न, तिरनतारन गर्न पाए हुन्थ्यो।’
‘तिरनतारन भन्ने कुरा त पछि गरे पनि हुन्छ। टन्न जितेर आउने। तिरनतारन गर्ने अनि बाँकी रहेको पैसा मोज गर्ने। तास खेल्न भनेर झन् स्वास्नीको पैसा चोरेर ल्याको। तैंले झन् उल्टो कुरा गर्नहुन्छ ?’
एकछिन मनमनै गमे यसको यत्रो त्यागको अगाडि मेरो जिद्दी सही छैन। जीवनेको कुरा अबौद्धिक भए पनि सही लाग्यो।
‘हामी दुई जना इशारा गरेर खेल्नुपर्छ है’ जीवनेले प्रस्ताव अगाडि सार्यो।
मैले टाउको हल्लाएर अनुमोदन गरें।
‘टन्न जितेर पार्टी गर्नुपर्छ’ जीवने उचालियो।
‘क्या सही कुरा गर्यो यार’ भोको पेटमा म अझ जोस्सिएँ।
‘सुतक नलाउन, अस्ति पनि यस्तै भनेथ्यौ।’
त्यसपछि हामी असनको गल्लीतिर हानियौं। भूकम्पलाई माथ दिएर बसेको, हिँड्दा पनि हल्लिने घरमा छिर्यौं।। त्यहाँ जुवाडेको टिम थियो। सबैको अगाडि पैसाको थुप्रो। मनमनै सोचें ‘यो सबै पैसा एकगठ्ठा गर्दा त राष्ट्र बैकसँग भएको पैसा पनि कम हुन्छ।
चुस्की तान्दै तास खेलियो।
फ्रीको रक्सीमा जीवनेले हजार गोटाका नोटलाई कागजकै हिसाबमा हुत्यायो। म पनि हौसिएँ। रात कसरी कहाँ गयो, अत्तोपत्तो भएन। बिहानै जीवनेलाई दुइटा कुकुरले मजाले गाला चाटिरहेका रहेछन्। म मरीमरी हाँसें। उल्टो जीवने पो मलाई हेर्दै मरीमरी हाँस्न थाल्यो। यसो आफैंलाई हेरेको त शरीरबाट पाइन्ट, सर्ट, जुत्ता गायब। ल फसाद पर्यो।
त्यसदिन पछि हामीले रक्सी नखाने निर्णय पारित गर्यौं।
त्यस निर्णयको सम्मानार्थ अन्तिम पटक रक्सी पिउने सहकर्मी जीवनेको प्रस्ताव नकार्न नसकी पुनः हामी एक भट्टी पसलमा छौं।