मन्त्रालय बाँडेर लिएजस्तो
आँसु पनि मन्त्रीज्यूहरुले
बाँडेर लिन मन्जुर भए
हर दु:खीहरूको दु:खको
आँसु क्रमैसँग पुछिनेछ
त्यसैले प्रत्येक मन्त्रालयको
भागबण्डामा पुगून्
गरिब र दु:खीका आँसुका थोपाहरु
भागबण्डामा आ-आफ्नो भाग
पाएर खुसी हुने मन्त्रीज्यूहरु
त्यो हाँसो उदार दिलले
जनताहरूलाई पनि बाँडिदिए
देशमै सुरू हुन्छ
विकासका योजनाहरू
निर्माण कार्यहरू
प्रारम्भ हुन्छ देशमै रोजगारी
हर नेपालीको हुनेछ
आफ्नै प्यारो देशमा बसोबास
सन्तोषी सुखी परिवार
रूनु पर्दैन कसैले पनि
विदेशको भूमिमा
जेसुकै जुनसुकै भागबण्डा गरे पनि
पवित्र हुन चलाउने हातहरु
शुद्ध र सही हुन बोल्ने बोलीहरु
बालकदेखि बुढाबुढीसम्मले नथाकिकन
हरेक मन्त्री र मन्त्रालयको
निष्ठापूर्ण सुकार्यको
सदैव वर्णन गरिरहून्
अनि स्वर्गजस्तै बनोस्
हाम्रो प्यारो देश नेपाल।