'आन्टी! ए आन्टी! निदाउनु पो भयो कि क्या हो ? ए गोमा आन्टी! उठ्नुहोस् न। कति दिनभर पनि सुतिराख्नु भाको तपाईंलाई भेट्न मान्छे आउनु भाछ।'
'भेट्न? कसलाई? मलाई? मलाई होइन होला मेरो को छ र? कोही भए पनि यस्तो ठाउँमा आएर बसेकालाई कस्ले भेट्न आँउछ र?'
'तपाईं यहाँ आएर बसेको यतिका वर्ष पछि मान्छे भेट्न आएको खबर दौडेर सुनाउन आएँ। कति खुसी हुनुहुन्छ होला भनेर तपाईं त झन् रिसाउने यो पागलखानाका मान्छेसँग राम्रो कुरो गर्यो भने त आफैंलाई पागल बनाउँछन्।'
'त्यसो नभन नानी मन दुख्छ नि। को भेट्न आउनु भएको हो? भित्रै पठाइदेऊ न अनि पो पत्याउँछु।'
मानसिक सन्तुलन ठिक नभएको मानिसहरूलाई राखिने केन्द्रका कर्मचारीबाहिर आएर गोमालाई भेट्न आएकी कमलालाई भित्र जाने आदेश दिइन्।
'नमस्कार गोमा आन्टी मलाई चिन्नु भो। हुनत विगत १२ वर्षमा कति मान्छे हजुरहरूको घरमा डेरा गरेर बस्न आए होलान्, कति गए होलान् सबैलाई सम्झेर पनि के साध्य।'
'किन नचिन्नु? तिमी कमला नानी होइनौ? बिए पढ्दा हाम्रो घरमा डेरा लिएर बसेकी तर यतिका वर्षसम्म कता हरायौ। १२ वर्षमा खोला फर्कन्छ भन्थे हो रैछ। भेट भो।'
'त्यही त आन्टी बिए पास गरेपछि गाँउकै स्कुलमा पढाउने जागिर पाएँ। उतै बिहे भयो। बच्चाबच्ची, घर व्यवहार, १२ वर्ष बितेको पत्तै भएन। अस्ति स्कुलकै कामले काठमाडौं आएको हजुरलाई भेट्न। हजुरको घरमा गएको थिएँ, छिमेकी दिदीले हजुर यहाँ हुनुहुन्छ भनेर भनिदिनु भयो अनि कुदेर भेट्न आएको। हजुर कसरी यो ठाउँमा आइपुग्नुभयो ? अंकल र नानीबाबु कता छन् नि?'
'हेर कमला! जिन्दगीमा दुःखपछि सुख, सुखपछि दुःख भन्छन्। तर मेरो जिन्दगीमा दुःख पछि अझै दुःख, अझै दुःख पछि झन् दुःख हुँदै आजको दिनसम्म आइपुगें। अब जीवनको उत्तरार्धमा सुखको आशा पनि छैन।
तिमी हाम्रो घरमा बस्दादेखि नै अंकलको जाँड रक्सीको कुलतको बारेमा थाहा थियो तर उहाँको चारित्रिक कुलतको बारेमा कसैलाई पनि थाहा भएन। दश वर्ष अगाडि उहाँ एड्सको कारणले बित्नुभयो।
तर पनि १२ वर्षको छोरा, १० वर्षको छोरीको मुख हेरेर उनीहरूलाई सम्हाल्दै अगाडि बढिरहेकी थिएँ।
एकदिन छोरीलाई स्कुल बस चढाउन चोकसम्म गएकी थिएँ। छिमेकी बहिनी अन्जना पनि आफ्नी छोरीलाई पुर्याउन आएकी रहिछन्।
'नानी सिटमा बस्दा सम्हालिएर बस्नू है, कसैसँग अनावश्यक नबोल्नू, आफ्नो लवाई, बसाईमा ध्यान दिनू। स्कुलमा पनि पढाइ, लेखाइमा मात्र ध्यान दिनू। गुड टच र ब्याड टचबारे मैले तिमीलाई सयौं पटक सिकाएको छु। बाथरूम जाँदा पनि साथी लिएरमात्र जानू।'
अन्जनाले छोरीलाई सम्झाइ बुझाइ गरेर बस चढाइन्।
'अरू त ठिकै हो बाथरूम जाँदा पनि साथी लिएर जानु रे यो त अति भएन र अन्जना' मैले भनें।
'होइन गोमा दिदी। आजभोलि स्कुलमा, कलेजमा, सभामा, सेमिनारमा, गाडीमा, मेलापातमा, सपिङमल जताततै यौन दुर्व्यवहारका समाचार आइरहेका हुन्छन्। जति समाचारमा आउँछन् ती भन्दा कयौं गुणा बढी समाजमा घटेका हुन्छन्। सबै प्रकारका यौन दुर्व्यवहारका घटनाले समाचारमा स्थान नै पाउँदैनन्। इज्जतको डरले यस्ता घटनालाई गुपचुप नै राखिन्छ। छोरीलाई दिनको सात घन्टा टाढा राख्दा पनि मन ढुक्क हुन सक्दैन। त्यसैले पनि नानीलाई प्रत्येक दिन नसम्झाइ चित्तै बुझ्दैन। मैले त नानीलाई आत्मरक्षाको तालिमको लागि पठाउने निर्णय गरेकी छु। हजुरको छोरीलाई पनि पठाउनुस् न। दुवै जना साथी हुन्छन्,' अन्जनाले भनिन्।
मलाई पनि अन्जानको कुरा राम्रो लाग्यो। समचारमा सुनिने घटनाका पात्र कुनै बेला आफू पनि हुन सकिन्छ भन्ने मलाई ख्यालै नभएको। मैले पनि छोरीलाई आत्मरक्षाको तालिमको लागि पठाउने निर्णय गरें।
भोलि पल्टबाट दुवै जना दैनिकरूपमा तालिमको लागि जान थाले। त्यहाँ सैद्धान्तिक र प्राक्टिकल दुवै कुरा सिकाउँथे। म पनि ढुक्क थिएँ तर एक दिन ऽऽऽऽ
'कमला! घाँटी सुकेजस्तो भो पानी लेऊ त। ऊ त्यो फिल्टरमा छ।'
'गोमा दिदी मैले हजुरको खाटा बसेको घाउ कोट्याएको जस्तो लाग्यो। मैले कसरी हजुर यो ठाउँमा आइपुग्नु भयो भनेर जान्न मात्र खोजेको।'
मैले नजिकै रहेको फिल्टरबाट फिल्टर छेउमै रहेको गिलासमा पानी सारेर गोमा दिदीलाई दिएँ।
गोमा दिदीले एकै सासमा एक गिलास पानी रित्ताउनु भयो।
'होइन कमला कहिलेकाहीँ मनको कुरा सुनिदिने मान्छे पाउँदा पनि मन हल्का हुन्छ।'
'अनि के भो त गोमा दिदी'
'दिनहरू बित्दै थिए। छोरी नौ कक्षामा पढ्थी। एक दिन छोरीलाई स्कुलबाट आउन ढिलो गरी। आत्मरक्षाको तालिम लिएकी छोरी म त ढुक्क थिएँ। भोलिपल्ट पनि नआएपछि पुलिसलाई खबर गरियो। छोरी हराएको तीन दिनमा छोरी त भेटिई तर सासबिनाको। मैले टेकेको धर्ती भासियो।पोष्टमार्टमको रिपोर्ट थाहा पाएपछि त आकाशले पनि थिच्यो सामूहिक बलात्कारपछि हत्या। आत्मरक्षाको तालिमले पनि उसलाई बचाउन सकेन। एक दुई जना भए पो। अपराधीलाई जति सजाए पनि थोरै नै हुन्छ मेरी छोरीको न्यायको लागि।'
गोमा दिदी भक्कानिनु भयो। मलाई भने बेकार भेट्न आएछुजस्तो लाग्यो। दिदी रोइरहँदा म त झन् आफूलाई सम्हाल्न सकिनँ।
एक छिनपछि लामो सास फेरेर दिदी फेरि बोल्नु सुरू गर्नुभयो।
'श्रीमानको निधनपछि आफूलाई जसोतसो सम्हालेर उठेकी थिएँ। नानीको त्यस्तो घटनापछि मैले डिप्रेसनको औषधिको सहारा लिनुपर्ने भयो। छोरोको लागि भए पनि मर्न सकिएन। घरव्यवहार सारा लथालिंग भयो। जेनतेन जिन्दगी चलेकै थियो। एक दिन छोरो कलेजबाट आउन ढिलो गर्यो। छोरो मान्छे हो केको टेन्सन। साथीभाइसँग कतै घुम्न गयो होला भनेर बसिरहेकी थिएँ। पुलिस चौकीबाट फोन आयो। तपाईंको छोरा लागुऔषध कारोबारोमा रंगेहात समातिएको छ। मैले समातेको फोन भुइँमा खस्यो।
छोरीको घटनाबाट म यति विक्षिप्त भएछु कि छोरो कुलतमा फसेको पनि चाल पाउन सकिनछु। भोलिपल्ट बिहानै म हतार हतार प्रहरी चौकीमा गएँ। मभन्दा पहिला अरू मान्छेहरू पनि प्रहरी चौकी गइसकेका रहेछन्।
मलाई भेट्न नपाउँदै प्रहरीले तपाईंको छोराविरूद्ध लागुऔषध कारोबार मुद्दामात्र होइन, बलात्कारको किटानी जाहेरी पनि परेको छ भने। त्यो कुरा राम्रोसँग सुन्न नपाउँदै मलाई एक्कासि रिंगटा लागेजस्तो भयो। आफ्नो अनुहार आफैंले चिथर्न मन लाग्यो। आफैंले लगाएको लुगा च्यात्न मन लाग्यो। त्यसपछि के भो मलाई थाहा छैन। जान्नँ पनि चाहन्नँ। होस सम्हाल्दा यहाँ थिएँ। यहाँ आएर बसेकै चार वर्ष भयो। अब यहाँबाट निस्केर बाहिर जान मन पनि छैन।
हामी सबै आमाहरूले छोरीको सुरक्षाको लागि जति ध्यान दिन्छौं, त्यति नै छोरालाई असल संस्कार दिनसकेको भए न त मेरी छोरीले त्यस्तो मरण भोग्नपर्थ्यो न त मेरो छोरा जेलमा हुन्थ्यो। छोरीलाई आत्मरक्षाको तालिमभन्दा छोरालाई असल संस्कारको धेरै ठूलो महत्व रहिछ।'
गोमा दिदीको कुरा सकिन नपाउँदै मलाई समय सकिएको जानकारी आयो। दिदीसँग फेरि भेट्ने वाचा गर्दै दुःखद अन्त्य भएको फिल्म हेरेर बाहिरिएजस्तो आँसु पुछ्दै बाहिरिएँ।
त्यतिन्जेलसम्म गोमा दिदीको आखाँबाट अघि खाएको एक गिलास पानी सबै निस्किइसकेको थियो!